डाक्टरहरूद्वारा हिजो बिहान सबेरै प्रकाशित प्रतिवेदनअनुसार मौसुफको मुटुको धड्कन बिस्तारै कम हुँदै गएर हिजो बिहान २ः३० बजे मौसुफको मुटुले काम गर्न छोडेको देखियो। मुटुको चाल फेरि चालू राख्न तुरुन्तै सबै सम्भव उपाय गरिए, मुटुबाहिर मालिस गर्ने र ट्युबद्वारा श्वास चालू गराउने कार्य गरियो। यो प्रक्रिया हिजो बिहान ३ः४५ बजेसम्म नै कायम रह्यो।
५१ वर्षअघि २०२८ माघ १७ गते चितवनको दियालो बंगलामा बिहान ३ः४५ बजे मुटुको व्यथा लागेर तत्कालीन राजा महेन्द्रको निधन भएको थियो। १९७७ साल असार ३० गते नारायणहिटी राजदरबारमा जन्मिएका राजा महेन्द्रको निधन ५१ वर्षको उमेरमा भएको थियो।
२०११ साल फागुन ३० गते स्विट्जरल्यान्डको जुरिचमा उपचाररत तत्कालीन राजा त्रिभुवनको निधन भएपछि महेन्द्र राजा भएका थिए। त्यसो त राजा त्रिभुवन जुरिचमा रहेका बेला युवराज महेन्द्रलाई उतै बोलाएर श्री ५ महाराजाधिराजको अनुपस्थितिमा काम गर्ने गरी शासनसत्ताको अख्तियारनामा दिइएको थियो।
राजा महेन्द्रका पालामा नेपालमा सामाजिक सुधार, संरचनागत विकास, विदेश नीतिमा सन्तुलन र विस्तार भए पनि उनले प्रजातान्त्रिक व्यवस्था मासेर पञ्चायती व्यवस्था लादेकाले प्रजातन्त्रप्रेमीले उनलाई खलनायकका रूपमा चित्रण गर्दछन्। राजा महेन्द्रले आफ्नी जेठी पत्नीको निधन भएपछि युवराज छँदा साली रत्नसँग बिहे गरेका थिए। जुन कुरा उनका पिता तत्कालीन राजा त्रिभुवनलाई मन परेको थिएन।
तत्कालीन युवराज महेन्द्रले तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरकी नातिनी बिहे गरेका कारण नारायणहिटी राजदरबारको कुरा सिंहदरबार पुग्ने गरेको बताइन्छ। त्यही प्रकरणमा महेन्द्रलाई लाग्ने गरेको एउटा आरोप हो, राणाहरूले तत्कालीन राजा त्रिभुवनलाई गोरखा धपाएर युवराज महेन्द्रलाई राजा बनाउन चाहेका थिए। त्यसमा युवराज महेन्द्रसमेत तयार थिए। आफू राजा हुने महेन्द्रको षड्यन्त्र थियो भनेर त्यही घटनालाई जोडेर अनेक टिप्पणी गर्ने गरिन्छ।
तर राणाहरूको त्यस्तो प्रस्तावलाई युवराज महेन्द्रले ठाडै अस्वीकार गरेर आफू राजा नहुने र आफ्ना पिता राजा त्रिभुवन जता जान्छन् आफू उनीसँग त्यतै जाने भनेर जवाफ दिए। यो विषयलाई नेपालस्थित तत्कालीन ब्रिटिस राजदूत बेथमले आफ्नो सरकारलाई पठाएको गोप्य प्रतिवेदनमा उल्लेख गरेका छन्। युवराज महेन्द्रले साथ नदिएकाले राणाहरूले त्यस्तो कुनै अप्रिय कदम चालेनन्। २००७ सालमा राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिएर भारत निर्वासनमा जाँदा समेत तत्कालीन युवराज महेन्द्र आफ्ना पितासँगै भारततर्फ लागेका थिए।
राज महेन्द्रले नेपालको संसदीय प्रजातान्त्रिक व्यवस्थालाई मासेर दलविहीन पञ्चायती व्यवस्थाको सूत्रपात गरेपछि नेपालको प्रजातान्त्रिक विकास दशकौँ पछाडि धकेलियो। प्रजातान्त्रिक विकास अवरुद्ध भएसँगै अन्य धेरै क्षेत्रमा त्यसको नकारात्मक प्रभाव परेको थियो।
राजा महेन्द्रले आफ्नो शासनको १८ वर्ष अवधिमा धेरै उपलब्धिमूलक काम गरेका थिए। राजा त्रिभुवनको कार्यकालभर करिब करिब भारत निर्भर र उसको मातहतमा जस्तो रहेको नेपालको वैदेशिक सम्बन्धलाई राजा महेन्द्रले नयाँ उचाइ दिए।
महेन्द्र राजा हुनासाथ चीनसँग नेपालको दौत्यसम्बन्ध स्थापना भयो। टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाएर उनले सोभियत रुस, जापान, स्विट्जरल्यान्ड, श्रीलंका र इजिप्टसँग दौत्य सम्बन्ध कायम गरेका थिए। बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारले पनि वैदेशिक सम्बन्धलाई झन् तीव्र गतिका साथ विस्तार गरे। मुलुकमा प्रथम आमनिर्वाचन, भूमिसुधार, नयाँ मुलुकी ऎन, पूर्व पश्चिम राजमार्ग, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य राष्ट्रमा निर्वाचित हुने लगायतका केही काम भएका थिए।
राजा महेन्द्रलाई हृदयाघात र निधन
राजा महेन्द्रलाई पहिलोपटक २०२४ साल चैत २ गते सिकार खेल्न पश्चिम नेपालको कञ्चनपुर पुगेका बेला हृदयाघात भएको थियो। उनलाई चिकित्सकले कुनै प्राकृतिक क्षेत्रमा केही महिना आराम गर्न सुझाएका थिए। त्यसैअनरुप उनी कर्णाली नदीको तटमा रहेको टीकापुरमा केही समयसम्म आराम गरेका थिए।
हृदयाघात भएका राजालाई कर्णाली चिसापानीबाट काठमाडौँसम्म आउन नेपालस्थित अमेरिकी दूतावासमा रहेको हेलिकप्टर प्रयोग गरिएको थियो। अमेरिकी दूतावासको हेलिकप्टर प्रयोग गर्न राष्ट्रपति जोन्सनले नै स्वीकृति दिएका थिए। राजा महेन्द्रलाई हृदयाघात भएपछि उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति जोन्सनले अमेरिकी विशेषज्ञ चिकित्सकहरूसमेत पठाएका थिए। महेन्द्र मुटुरोगबाट पनि पीडित थिए।
निधन हुनु दुई महिनाअघि राजा महेन्द्र लन्डनमा उपचार फर्किएका थिए। चिकित्सकको सुझावमै उनी दुई सातापहिले आराम गर्न चितवनको भरतपुरस्थित दियालो बंगलामा पुगेका थिए। उनको निधन हुँदा उनकी रानी रत्न उनको शय्याको छेउमै थिइन्। केही दिनअघिसम्म राजा महेन्द्रका दुईजना मुमाबडामरानी कान्तिराज्यलक्ष्मी र ईश्वरीराज्यलक्ष्मी पनि सँगै थिए।
राजदरबारको प्रमुख संवाद सचिवालयद्वारा उनको उपचारमा संलग्न डाक्टरहरुको प्रतिवेदनसहित १८ माघमा जारी सूचनामा यस्तो उल्लेख गरिएको थियो-
‘स्वर्गीय श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाह देवको उपचार गरिरहेका डाक्टरहरूद्वारा हिजो बिहान सबेरै प्रकाशित प्रतिवेदनअनुसार मौसुफको मुटुको धड्कन बिस्तारै कम हुँदै गएर हिजो बिहान २ः३० बजे मौसुफको मुटुले काम गर्न छोडेको देखियो।
मुटुको चाल फेरि चालू राख्न तुरुन्तै सबै सम्भव उपाय गरिए, मुटुबाहिर मालिस गर्ने र ट्युबद्वारा श्वास चालू गराउने कार्य गरियो। यो प्रक्रिया हिजो बिहान ३ः४५ बजेसम्म नै कायम रह्यो।
त्यस बेला आँखाको नानी खोलेर हेर्दा र श्वासको प्रक्रिया नभएको देखिँदा एवं कार्डियोस्कोपबाट पनि कुनै आवश्यक प्रक्रिया नदेखाउँदा मौसुफको उपचार गर्ने सबै डाक्टरहरूको रायअनुसार श्री ५ महेन्द्र स्वर्गारोहण होइबक्सेको ठहर भयो।’ (गोरखापत्र, १९ माघ २०२८)
राजा महेन्द्रको शवयात्रा
भरतपुरबाट राजा महेन्द्रको पार्थिव शरीरलाई लिएर विशेष हेलिकप्टर माघ १७ गते अपराह्न ४ बजेर ४५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो। राजा महेन्द्रका माइँला छोरा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र सोही हेलिकप्टरमा र अर्का छोरा अधिराजकुमार धीरेन्द्र अर्को हेलिकप्टरमा चितवनबाट आएका थिए। जेठा छोरा वीरेन्द्र काजकिरियामा नलागी सोझै राजा घोषित भएर राजगद्दी सम्हाल्न लागे।
महेन्द्रको पार्थिव शरीरको निधारमा सिम्रिकको टीका थियो। मुहारसम्म रामनाम लेखिएको पीताम्बर र सेतो कपडा त्यसमाथि फूलमालाले ढाकिएको थियो। त्रिभुवन विमानस्थलमा अवतरण भएपछि शवमा सर्वप्रथम राजदरबारबाट पठाइएको फूलमालाको श्रद्धाञ्जली चढाइएको थियो। त्यसपछि अधिराजकुमारहरूले दर्शन गरेका थिए।
प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय पञ्चायतका अध्यक्ष, मन्त्रीगण, राजसभा स्थायी समितिका सभापति, राजसभाका सदस्यहरू, संवैधानिक अंगका प्रमुख र सदस्यहरू, राष्ट्रिय पञ्चायतका सदस्यहरू, विदेशी कूटनीतिक पदाधिकारीहरू, सरकारका जंगी तथा निजामती अधिकारीहरूले श्रद्धाञ्जली चढाएका थिए। राजा महेन्द्रलाई श्रद्धाञ्जली दिन विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो।
महेन्द्रको शवलाई शाही सम्मानका साथ विमानस्थलबाट बाँसको खटमा बोकेर आर्यघाटसम्म लगिएको थियो। शवयात्रामा शाही रिसल्ला, शाही सैनिक र शाही रक्षक टुकुडी तथा बैन्डबाजा थिए। खट बोकेका ब्राह्मणका पछाडि अधिराजकुमार ज्ञानेन्द्र र धीरेन्द्र, भाइहरू अधिराजकुमार हिमालय र बसुन्धरा थिए।
शवयात्रामा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय पञ्चायतका अध्यक्ष, मन्त्रीगण, राजसभा स्थायी समितिका सभापति, राजसभाका सदस्यहरु, संवैधानिक अंगका प्रमुख र सदस्यहरू तथा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित थिए। राजा महेन्द्रको अन्त्येष्टिमा सहभागी हुन भारतका तत्कालीन उपराष्ट्रपति जीएस पाठक एवं मन्त्री राजबहादुर आएका थिए।
पशुपति आर्यघाटमा श्रीखण्डको चिता तयार पारिएको थियो। महेन्द्रको शवलाई चिताको वरिपरि तीन पटक परिक्रमा गराएपछि चितामा सुताउँदा गारतले शाही सलामी अर्पण गरेको थियो। शाही सलामी सकिनासाथ तीनपटक फायर गरिएको थियो। त्यसपछि बिगुल बजाउनुका साथै एकएक मिनेटको फरकमा तोपको सलामी दिइएको थियो।
अधिराजकुमार ज्ञानेन्द्रले महेन्द्रको पार्थिव शरीरमा दागबत्ती दिएका थिए। यसरी वैदिक विधिपूर्वक राजकीय सम्मानका साथ आर्यघाटमा उनको दाहसंस्कार सम्पन्न भएको थियो।
अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त शोक सन्देश
नेपालका राष्ट्राध्यक्ष राजा महेन्द्रको निधनमा विभिन्न मुलुकका राष्ट्राध्यक्षले शोक सन्देश पठाएका थिए। ती शोक सन्देश पठाउनेमध्येमा जापानका हिरोहितो, बेलायतकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका राजा भूमिबल, डेनमार्ककी महारानी मार्गरेट, स्विडेनका राजा गुस्ताफ, नेदरल्यान्डसकी महारानी जुलियाना, इरानका राजा मोहम्मद रजा पहलवी, अफगानिस्तानका राजा महम्मद जहिर, भारतका राष्ट्रपति भीभी गिरी, ग्रिसका राजा कन्सटान्टाइन, अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन, रुसका राष्ट्रपति एन पोडगर्नी, जोर्डनका राजा हुसेन, इजरायलका राष्ट्रपति साहजर र लाओसका राजा साभांग थिए।
जनगणतन्त्र चीनका उपाध्यक्ष तथा प्रधानमन्त्रीले समेत शोक सन्देश पठाएका थिए। राजा महेन्द्रको निधनमा छिमेकी भारतको दुवै सदनमा एक मिनेट मौन धारण गरी शोक व्यक्त गरिएको थियो। भारतको सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भीभी गिरीले राजा महेन्द्रको आकस्मिक निधनबाट भारतीयहरुलाई ठूलो दुःख लागेको कुरा बताएका थिए। त्यस्तै प्रधानमन्त्री इन्दिरा गान्धीले लोकसभा बैठकलाई सम्बोधन गर्दै राजा महेन्द्र दूरदर्शी र कुशल राजनीतिज्ञ भएको उल्लेख गरेकी थिइन्। फ्रान्स, पश्चिम जर्मनीसहित संसारभरका विभिन्न मुलुकले शोक सन्देश पठाएका थिए।
इजरायलका राष्ट्रपति साहजरले रेडियो सम्बोधनमार्फत राजा महेन्द्रको निधनबाट इजरायलले एक सच्चा मित्र गुमाएको बताएका थिए। साथै उनले राजा महेन्द्रसँगको आफ्नो व्यक्तिगत सम्बन्ध उल्लेख गर्दै आफूले राजा महेन्द्रका केही कविता हिब्रु भाषामा अनुवाद गरेको समेत स्मरण गरेका थिए।
उनको निधनबारे समाचार प्रकाशित गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी दी एसोसियटेड प्रेसले राजा महेन्द्रले नेपालमा भूमिसुधार लागू गरेको, नयाँ मुलुकी ऎन जारी गर्दै त्यसमा रहेको छुवाछुतको अन्त्य र बहुविवाहलाई दण्डनीय गरेको उल्लेख गरेको थियो। त्यस्तै मुलुकमा वैदेशिक सहायता भित्र्याएर विमानस्थल, राजमार्ग, अस्पताल, विद्यालयसहित हज्जारौं पर्यटकहरुलाई बस्न पर्यटकीय आवासको व्यवस्था गरेको समाचारमा उल्लेख थियो।
*यसअघि प्रयोग गरिएको तस्बिर भुलबस अन्यथा पर्न गएकाले सच्याइएको छ। यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौँ। –सम्पादक
सम्बन्धित सामग्री
असंलग्न परराष्ट्र नीतिबारे अमेरिकी संसद्मा राजा महेन्द्रले गरेको त्यो सम्बोधन