महारानी एलिजाबेथ द्वितीयाको नेपाल साइनो

सन्तोष खडेरी २४ भदौ २०७९ १०:०३
2
SHARE
महारानी एलिजाबेथ द्वितीयाको नेपाल साइनो १९७१ मार्चमा नेपाल भ्रमणमा रहेका बेला तत्कालीन राजा महेन्द्र र रानी रत्नसँग महारानी एलिजाबेथ। तस्बिर साभार : द स्फेयर

बेलायतको इतिहासमा सबैभन्दा लामो समय झन्डै ७० वर्षसम्म शासन चलाएकी ब्रिटिस महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। २१ अप्रिल १९२६ मा एलिजाबेथको जन्म हुँदा उनी महारानी बन्ने सूचीमा थिइनन्। त्यतिबेला उनका बाजे जर्ज पञ्चम ब्रिटिस साम्राज्यका महाराजा थिए।

जर्ज पञ्चमका माइला छोरा ‘ड्युक अफ योर्क अल्बर्ट’ (पछि राजा जर्ज छैटौँ) को छोरीका रूपमा जन्मिएकी एलिजाबेथका पितापुत्री दुवै कालान्तरमा राजगद्दीको उत्तराधिकारीका रूपमा रहलान् भनेर सायदै कसैले सोचेका थिएनन्।  किनकि उनका पिताभन्दा पहिले राजा हुने सूचीमा उनका ठूलोबुवा अर्थात् जर्ज पञ्चमका जेठा छोरा डेभिड (पछि राजा एडवार्ड आठौँ) थिए। तर सूचीमा कतै नरहेकी उनै एलिजाबेथ बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासनसत्तामा रहिन्।

सन् १९३६ को जनवरीमा बेलायतका तत्कालीन राजा जर्ज पञ्चमको निधन भयो। राजगद्दीका उत्तराधिकारी उनका जेठा छोरा डेभिड एडवार्ड आठौँ राजा भए। उनी दुईदुई पटक विवाह गरी सम्बन्धविच्छेद गरेकी अमेरिकी महिला वालिस सिम्प्सनको प्रेममा परे। उनलाई श्रीमतीका रूपमा स्वीकार गर्न चाहे तर वालिसको धार्मिक आस्थालाई लिएर बेलायतमा विरोध भयो।

डेभिड एडवार्डलाई राजगद्दी वा प्रेम गरिएकी महिलामध्ये एक रोज्नुपर्ने भयो। त्यसैले उनले प्रेम रोजे र राजगद्दी त्यागे। राजा एडवार्ड आठौँले एक वर्ष पनि पूरा नगर्दै राजगद्दी त्याग गरेपछि उत्तराधिकारीका रूपमा एलिजाबेथका पिता अल्बर्ट जर्ज छैटौँ नयाँ राजा घोषित भए। पिता राजा घोषित भएसँगै एलिजाबेथ राजकुमारीका राजगद्दीको उत्तराधिकारी भइन्।

सन् १९५२ को फेब्रुअरी ६ मा पिता जर्ज छैटौँको निधन भएपछि राजकुमारी एलिजाबेथ महारानी एलिजाबेथ द्वितीयाका रूपमा राजगद्दीमा बसेकी हुन् ।

सात दशकसम्म बेलायतको राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेकी यिनै महारानी एलिजाबेथ द्वितीयाको राजकुमारीदेखि महारानीको नेपाल साइनोसँगै नेपाल-बेलायत सम्बन्धको इतिहासबारे यहाँ चर्चा गरिएको छ।

भारतमा इस्ट इन्डिया कम्पनीले शासन गर्दाको समयदेखि ब्रिटिस नेपालसँग सम्पर्कमा आइसकेका थिए। नेपाल ब्रिटिस सम्बन्धको इतिहास सन् १७९२ मार्च १ मा नेपाल र इस्ट इन्डियाबीच सम्पन्न वाणिज्य सन्धिबाट सुरु हुन्छ।

सन् १८०१ मा नेपालमा इस्ट इन्डिया कम्पनीको आवासीय प्रतिनिधि राख्ने सम्बन्धमा अर्को सन्धि भएको थियो। जसका आधारमा क्याप्टेन नक्स पहिलो प्रतिनिधिका रूपमा सोही वर्ष नेपाल आएर करिब एक वर्षसम्म बसेका थिए। सन् १८१४/१६ को नेपाल अंग्रेज युद्धका क्रममा हस्ताक्षर भएको सुगौली सन्धिपछि त निरन्तर रूपमा नेपालमा ब्रिटिस आवासीय प्रतिनिधि रहन थालेका हुन्।

सुगौली सन्धिमार्फत नेपाल र ब्रिटिस सरकार औपचारिक रूपमा दौत्य सम्बन्धमा प्रवेश गरिसकेपछि नेपालले समेत मित्रता र सद्भावस्वरूप ब्रिटिस शासकका जन्मदिन, निधन र राज्याभिषेकमा हर्षबढाइँ, शोक एवं सम्मानमा तोप पड्काउने चलन सुरु गरेको थियो।

सन् १९३४ मा नेपालले बेलायतको लन्डनमा पहिलो कूटनीतिक नियोग (लिगेसन) खोल्दा त्यहाँ जर्ज पञ्चम राजा थिए। त्योसँगै लन्डनमा नेपाल सरकारको आवासीय प्रतिनिधि (मिनिस्टर/राजदूत) रहन थालेका थिए। त्यसपछि त्यहाँ हुने ब्रिटिस सरकार एवं शाही समारोहमा नेपाल सरकारका प्रतिनिधिमा रूपमा तिनै नेपाली मिनिस्टरले सहभागिता जनाउँथे।

सन् १९३५ मा राजा जर्ज पञ्चमको शासनसत्ताको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको रजतजयन्ती समारोहदेखि नेपालका प्रतिनिधिले औपचारिक रूपमा भाग लिन थालेका थिए। सन् १९३६ को जनवरीमा राजा जर्ज पञ्चमको निधन हुँदा अन्त्येष्टि समारोहमा त्यहाँस्थित नेपाली राजदूत कृष्णशमशेरले सहभागिता जनाएका थिए।

जर्ज पञ्चमपछि छोटो समय राजा रहेका एडवार्ड आठौँको औपचारिक राज्याभिषेक समारोह भएन। तर सन् १९३७ मा सम्पन्न राजा जर्ज छैटौँको राज्याभिषेक समारोहमा इतिहासमा पहिलोपटक नेपालले आफ्नो प्रतिनिधि लन्डन पठाएको थियो।

त्यतिबेला कमान्डिङ जनरल केशरशमशेरको नेतृत्वमा नारायणशमशेर र सुरेन्द्रशमशेर सहभागी थिए। एलाजाबेथको विवाह सन् १९४७ नोभेम्बरमा भएको थियो। उनको विवाहमा नेपाल सरकारका तर्फबाट बेलायतका लागि तत्कालीन नेपाली राजदूत केशरशमशेर जबराले प्रतिनिधित्व गरेका थिए। विवाह समारोहमा नेपालका प्रधानमन्त्री पद्मशमशेर जबराले उनलाई चाँदीको फूलदान उपहार पठाएका थिए। त्यस्तै मोहनशमशेरका पालामा राजगद्दीको उत्तराधिकारी राजकुमारी एलिजाबेथलाई नेपालको सर्वोच्च सम्मान ‘ओजस्वी राजन्य’ तक्मा प्रदान गरिएको थियो।

सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सर्वप्रथम सगरमाथाको चुचुरोमा पुगेका थिए। तर नेपालमा कसैलाई पनि यसको जानकारीसम्म पनि नदिएर यो घटना २ जुन सम्म गोप्य राखियो। सगरमाथा चढेको जानकारी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा बेलायतबाट सार्वजनिक गरिएको थियो।

सन् १९५२ फेब्रुअरीमा जर्ज छैटौँको निधन भएपछि महारानी घोषित भएकी एलिजाबेथ द्वितीयाको औपचारिक राज्याभिषेक समारोह सन् १९५३ को जुन २ मा सम्पन्न भएको थियो। त्यस दिन नेपालसँग सम्बन्धित अर्को एउटा प्रसंग पनि छ।

लन्डनमा गुञ्जिएको नेपालको नाम सारा संसारभरसम्म फैलन पुग्यो। संसारको सबैभन्दा अग्लो हिमचुचुरो सगरमाथा हिमालमा पहिलोपटक मानव पाइला पुगेको घटना थियो त्यो। सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सर्वप्रथम सगरमाथाको चुचुरोमा पुगेका थिए। तर नेपालमा कसैलाई पनि यसको जानकारीसम्म पनि नदिएर यो घटना २ जुन सम्म गोप्य राखियो। सगरमाथा चढेको जानकारी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा बेलायतबाट सार्वजनिक गरिएको थियो।

ब्रिटिस राजपरिवारको सोही राज्याभिषेक समारोहमा नेपालका तर्फबाट पहिलोपटक राजपरिवारका सदस्यको सहभागिता भएको थियो। नेपालका तत्कालीन राजा त्रिभुवनको प्रतिनिधिका रूपमा अधिराजकुमार हिमालय र उनकी पत्नी अधिराजकुमारी प्रिन्सेप (गृह राज्यलक्ष्मी) ले सहभागिता जनाएका थिए। ब्रिटिस राजपरिवारको राज्याभिषेक समारोहमा सहभागिता जनाउने नेपालको राजपरिवारको त्यही पहिलो र अन्तिम अवसर बन्न पुग्यो।

महारानी एलिजाबेथको लामो कार्यकालमा नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए। उनी त्यहाँको महारानी हुँदा नेपालमा भर्खरै प्रजातन्त्र आएको थियो। त्यसपछि पञ्चायत, बहुदलीय व्यवस्था, लोकतन्त्र हुँदै नेपाल गणतन्त्रमा प्रवेश गर्‍यो। राष्ट्रप्रमुखका रूपमा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र राजा र रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति बने।

महारानी एलिजाबेथसँग भने राजा महेन्द्र र राजा वीरेन्द्रको मात्र निकट सम्बन्ध रह्यो। एलिजाबेथले लन्डनमा राजा महेन्द्र (सन् १९६०) र राजा वीरेन्द्र (सन् १९८०) लाई राजकीय अतिथिका रूपमा स्वागत गरिन्। त्यस्तै आफैँ पनि दुई अलगअलग राजाका पालामा उनीहरूको निमन्त्रणामा सन् १९६१ र सन् १९८६ मा नेपालको राजकीय भ्रमण गरिन्।

बकिंघम राजदरबारमा उनले शंकरशमशेर जबरादेखि हालका ज्ञानचन्द्र आचार्यसम्म गरी नेपाल सरकारका प्रतिनिधिका रूपमा १८ जना राजदूतलाई स्वागत गरिन्।

नेपालको इतिहासमा पहिलोपटक महारानी एलिजाबेथ द्वितीयाको कार्यकालमा नेपालका राष्ट्राध्यक्षको बेलायत भ्रमण भएको थियो। उनैको निमन्त्रणामा सन् १९६० अक्टोबरमा राजा महेन्द्रले बेलायतको राजकीय भ्रमण गरेका थिए। भ्रमणका क्रममा राजा महेन्द्रलाई १८ अक्टोबरमा एलिजाबेथ द्वितीयाले ब्रिटिस सेनाको फिल्ड मार्सलको पदवी प्रदान गरेकी थिइन्। (दी लन्डन गजेट, १८ अक्टोबर १९६०) 

राजा महेन्द्रको निमन्त्रणामा महारानी एलिजाबेथ द्वितीयाले सन् १९६१ फेब्रुअरीमा नेपाल भ्रमण गरेकी थिइन्। महारानी दम्पतीलाई उनले नेपालमा सिकार खेल्ने व्यवस्थासहितको निमन्त्रणा दिएका थिए।

२०१७ पुस १ गते राजा महेन्द्रले संसद् विघटन गरी प्रजातन्त्र मासेर निर्वाचित प्रधानमन्त्रीसहित धेरैलाई जेलमा कोचेका बेला भएको एलिजाबेथको उक्त भ्रमणलाई निकै महत्त्वसाथ हेरिएको थियो। राजा महेन्द्रले उक्त भ्रमणलाई आफूले चालेको कदमप्रति महारानीको भ्रमणबाट बेलायत सरकारको नैतिक समर्थन प्राप्त गरेको सन्देश दिन खोजेका थिए। त्यसो त बेलायतको सदनभित्रै रानीको नेपाल भ्रमणलाई लिएर विपक्षी लेबर पार्टीका सांसदहरूले प्रश्न उठाएका थिए। (दी न्युयोर्क टाइम्स, ०७ जनवरी १९६१) 

तर महारानीको नेपाल भ्रमण रोकिएन भयो। त्यसलाई राजा महेन्द्रले आफ्नो राजनीतिक कदमप्रति प्रजातान्त्रिक मुलुक बेलायतको नैतिक समर्थनका रूपमा सन्देश प्रवाहित गर्न सफल भएका थिए। महारानी एलिजाबेथ द्वितीयाले नेपाल भ्रमणका क्रममा चितवनमा सिकारसमेत अवलोकन गरेकी थिइन्।

चितवनमा शाही दम्पतीका लागि निर्माण गरिएको सिकार क्याम्प।

बेलायतको राजपरिवार नेपालमा सिकार गर्न सधैँ लालायित हुने गर्थ्यो। जर्ज पञ्चम सन् १९११ मा दिल्लीमा आफ्नो राज्याभिषेक समारोहमा सहभागी हुन आउँदा नेपालमा सिकार गरेका थिए। त्यस्तै एडवार्ड आठौँ पनि सन् १९२१ मा नेपालमा सिकारका लागि आएका थिए।

सन् १८७० देखि नै बेलायतको राजपरिवारका सदस्य अझ राजकुमार सिकार खेल्न आउन थालेका थिए। जसलाई उनीहरूले मनोरञ्जनसँगसँगै आफ्नो सिकार कौशल र बहादुरीका रूपमा पनि हेर्ने गर्दथे। एलिजाबेथका पिता जर्ज छैटौँलाई भने आफ्ना बुबा जर्ज पञ्चम र दाइ एडवार्ड आठौँले झैँ सिकार खेल्न जान नपाएकोमा ज्यादै दु:खमनाउ थियो।

जुद्धशमशेरले शासनसत्ता त्याग गर्दा पठाएको एउटा पत्रमा उनले जुद्धको पालामा आफू सिकार गर्न आउन असमर्थ भए पनि जुद्धका उत्तराधिकारीका पालामा आउने विश्वास व्यक्त गरेका थिए।

महारानी एलिजाबेथ द्वितीयाको सिकार अवलोकनका लागि चितवनको मेघौलीमा कार्यक्रम तयार गरिएको थियो। महारानी दम्पती सन् १९६१ फेब्रुअरी २७ मा काठमाडौँबाट विशेष विमानबाट मेघौली उत्रिएका थिए। त्यहाँ उनीहरूलाई राजा महेन्द्रले स्वागत गरेका थिए।

त्यतिबेला त्यहाँ निकै भव्य तयारी र बन्दोबस्त गरिएको थियो। ब्रिटिस शाही दम्पती र उनको सिकार दलका अन्य सदस्यका लागि अलगअलग पालको व्यवस्था गरिएको थियो। सिकार कार्यक्रमका लागि त्यहाँ ३५० भन्दा बढी हात्ती जम्मा गरिएको थियो। त्यहाँ राज्यको सबै स्रोतसाधन परिचालित थियो भन्दा अत्युक्ति नहोला।

सिकारस्थलबाट अमेरिकी म्यागेजिन ‘लाइफ’ का लागि रुथ लायनमले स्थलगत रिपोर्टिङ गरेका थिए। उक्त रिपोर्ट लाइफ म्यागेजिनको २४ मार्च १९६१ को अंकमा छापिएको छ। उनले उल्लेख गरेअनुसार बाघको सिकार गर्न करिब ३०० यार्ड क्षेत्रफलभित्र पाँच फिट लामो सेतो पर्दाको घेरा निर्माण गरिएको थियो।

जुद्धशमशेरको पालादेखि बाघको सिकारका लागि प्रयोग गर्न थालिएको सेतो पर्दाको तरिका निकै प्रभावकारी देखिएको थियो। सेतो पर्दा देखेपछि बाघ डराउने र पर्दाको घेरा नाघ्न हिचकिचाउने थाहा भएपछि यो तरिका अपनाइएको थियो।

लायमनले रिपोर्टमा त्यसको सविस्तार वर्णन गरेका छन्। बाघको सिकारका लागि पूर्वतयारी स्वरूप त्यहाँ राति जंगलमा कतै राँगो वा भैँसी बाँधिन्थ्यो। त्यसपछि बाघ राँगोभैँसीलाई आक्रमण गर्न आउँथ्यो। त्यो आहार खाइसकेपछि बाघ कति नजिकै छन् भन्ने थाहा हुन्थ्यो र त्यहीअनुसार वरिपरि सेतो पर्दाको घेरा बनाइन्थ्यो। उक्त समय अवधिभर तिनलाई त्यही क्षेत्रमा राखिराख्नका लागि राँगा, भैँसी, बाख्रा निरन्तर पठाउने गरिन्थ्यो। राँगा, भैँसी, बाख्रा खान आउने बाघलाई सिकार गर्ने गरिन्थ्यो।

समारोहमा महारानी एलिजाबेथ द्वितीया, उनका पति प्रिन्स फिलिप र राजा महेन्द्र कसैले पनि गोली चलाएनन्। ब्रिटिस शाही दम्पती सिकार गर्ने सिकारीका रूपमा नभई दर्शकका रूपमा मात्र सहभागी भएका थिए।

ब्रिटिस शाही सिकार दलमा शाही दम्पतीबाहेक प्रिन्स फिलिपका निजी सचिव रियर एडमिरल क्रिस्टोफर डनह्याम कार्टर र महारानीका निजी सचिव माइकेल एडेन र विदेशमन्त्री ह्युम थिए। शाही दम्पतीबाहेक यी तिनै जनाको हातमा हतियार थियो। झाडीबाट आएको पहिलो बाघ देखिनासाथ विदेशमन्त्री ह्युमले गोली चलाए। तर निसाना चुक्यो। बाघ पुनः झाडीभित्र पस्यो।

डेढ घण्टासम्म पनि त्यहाँ बाघ मार्न सकिएन। त्यस बीचमा तीनै जनाको दुईदुई पटकको निसाना चुकिसकेको थियो। अनि अर्कोपटक सबैजना ठ्याक्कै निसाना लगाउने योजनासाथ तम्तयार भए। यसपटक भने बाघ देखिनासाथ रियर एडमिरल क्रिस्टोफर डनह्याम कार्टर, माइकेल एडेन र ह्युमले सँगसँगै गोली चलाए। बाघ ठहरै मरेछ। बाघ मरेको जानकारी मुख्य माउतेले राजा महेन्द्रसमक्ष जाहेर गर्‍यो। प्रिन्स फिलिपका निजी सचिव रियर एडमिरल क्रिस्टोफर डनह्याम कार्टरको गोलीले मारिएको यो बघको आकार ८ फिट ८ इन्च थियो।

सिकार कार्यक्रममा एउटा गैँडासमेत मारिएको थियो। त्यहाँ कुल ८० वडा गैँडा थिए। सिकार कार्यक्रममा महारानी एलिजाबेथ द्वितीया, उनका पति प्रिन्स फिलिप र राजा महेन्द्र अलगअलग हात्तीमा सवार थिए।

समारोहमा महारानी एलिजाबेथ द्वितीया, उनका पति प्रिन्स फिलिप र राजा महेन्द्र कसैले पनि गोली चलाएनन्। ब्रिटिस शाही दम्पती सिकार गर्ने सिकारीका रूपमा नभई दर्शकका रूपमा मात्र सहभागी भएका थिए। खाकी रङको पोसाक पहिरिएकी महारानीको हातमा कुनै हतियार नभई क्यामेरा मात्र देखिन्छ। ब्रिटिस शाही दम्पती आफ्नो चारदिने नेपाल भ्रमण सम्पन्न गरी फर्किएको थियो।

महारानी एलिजाबेथको स्वागतमा काठमाडौँमा तयार गरिएको स्वागतद्वार। तस्बिर स्रोत : रोयल कलेक्सन ट्रस्ट

सन् १९८० को नोभेम्बरमा महारानी एलिजाबेथ द्वितीयाको निमन्त्रणामा तत्कालीन राजा वीरेन्द्रले बेलायतको राजकीय भ्रमण गरेका थिए। राजा वीरेन्द्रको उक्त भ्रमणमा उनलाई एलिजाबेथ द्वितीयाले ब्रिटिस सेनाको फिल्ड मार्सलको पदवी प्रदान गरेकी थिइन्। (दी लन्डन गजेट, २५ डिसेम्बर १९८०)

राजा वीरेन्द्रको बेलायत भ्रमणपछि उनको निमन्त्रणामा महारानी एलिजाबेथ द्वितीयाले अर्को वर्ष सन् १९८६ फेब्रुअरीमा दोस्रो पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन्। त्यही नै उनको अन्तिम नेपाल भ्रमण हो।

महारानी एलिजाबेथ द्वितायाको निधनबाट नेपालले लामो समयसँग सहकार्य गरेको एक असल मित्र गुमाएको छ। सबैभन्दा पाको राष्ट्राध्यक्ष गुमाउँदा सारा संसारलाई नै ठूलो क्षति हुन पुगेको छ। महारानी एलिजाबेथ द्वितीयाप्रति हार्दिक श्रद्धाञ्जलि!!

प्रकाशित: २४ भदौ २०७९ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =