काठमाडौँ- सशस्त्र प्रहरीले झापाको काँकडभिट्टाबाट सुन र विदेश मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक अन्दाजी ३९ वर्षीय परम पाठकलाई सुन तथा विदेशी मुद्रासहित पक्राउ गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए।
विशेष सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले पाठकलाई नियन्त्रणमा लिएको उनले बताए।
पाठकको साथबाट ५७० ग्राम सुन, अमेरिकी डलर २० हजार, भारतीय ८५ हजार ४१० रुपैयाँ, भारतीय आधार कार्ड मोबाइल फोन दुई थान, हार्ड डिस्क एक थानलगायतका सामान बरामद भएको छ।
बरादम सुन तथा अन्य सामानसहित पाठकलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। उनी कुन प्रयोजनका लागि नेपाल प्रवेश गरेको भन्ने नखुलेको प्रहरीको भनाइ छ।




