परम्परागत सञ्चारमाध्यम संकटमा

विजय नेपाल ४ जेठ २०८३ २२:४१ | Monday, May 18, 2026
परम्परागत सञ्चारमाध्यम संकटमा

पोखरा- गण्डकी प्रदेशको कुल जनसंख्यामध्ये सामाजिक सञ्जालबाट समाचार थाहा पाउनेमध्ये ८२ प्रतिशत फेसबुककर्ता छन्। त्यस्तै युट्युबाट ४९ प्रतिशत, वर्ड अफ माउथबाट २१ प्रतिशत, अनलाइन न्यु एप्सबाट १५ प्रतिशत छन्। टेलिभिजनबाट १२ प्रतिशतले र रेडियोबाट ९ प्रतिशतले समाचार थाहा पाउँछन्।

गण्डकीका मिडिया उपभोक्ताहरु राष्ट्रिय औसतभन्दा धेरै गुणा बढी र सक्रिय आवृत्तिमा डिजिटल प्लेटफर्म प्रयोग गर्छन्। दैनिक डिजिटल बानीमा सामाजिक सञ्जालमा देशभर करिब ६८ प्रतिशत उपभोक्ता हुँदा, गण्डकीमा दैनिक १० लाख प्रयोगकर्ता छन्। यसैगरी यूट्युब हेर्नेमा राष्ट्रिय औसतको तुलनामा गण्डकीका उपभोक्ता बढी छन्।

देशभर करिब ४८ प्रतिशत युट्युब प्रयोगकर्ता हुँदा गण्डकीमा करिब ६१ प्रतिशत अर्थात् ८ लाख २१ हजार जना छन्। पछिल्लो समय निकै चर्चित टिकटक छोटो भिडियो प्रयोगकर्ताको संख्या बढाउँदैगएको छ। राष्ट्रिय औसतमा दैनिक करिब ६१ प्रतिशत अर्थात् ६८ लाख प्रयोगकर्ता हुँदा गण्डकीमा प्रयोगकर्ता ५८ प्रतिशत अर्थात् ७ लाख ८८ हजार छन्।

मानिसको बैठक कोठाको परिदृश्यसमेत फेरिँदै गएको छ। टेलिभिजन बिस्थापित हुन थालेका छन्। परम्परागत टीभीको पतनको कुरा गर्दा १७ प्रतिशत वयस्कले मात्र पछिल्लो ३० दिनमा नियमित टेलिभिजन हेरेका छन्।

यसैगरी करिब ६२ प्रतिशतले टीभी नै हेर्न छाडिसके। स्मार्ट टीभी र इन्टरनेटको उदयसँगै गण्डकीमा टीभी हेर्ने घरधुरीमध्ये करिब ३५ प्रतिशतल सिधैँ इन्टरनेट भिडियो एप्स टेलिभिजन स्क्रिनमा हेर्छन्। टीभीमै पनि युट्युब च्यानलबाट ३४ प्रतिशतले हेर्छन्। परम्परागत टीभीमा विज्ञापनको दर पनि क्रमशः खुम्चिँदै गएको सर्वेक्षणमा पाइएको छ।

रेडियोका श्रोता पनि घट्दै गएका छन्। नेपालको कुल जनसंख्याको करिब १० प्रतिशतले मात्र दैनिक रेडियो सुन्छन्। गण्डकीमा यो दर अझ खुम्चिएर ९ दशमलब ९ प्रतिशतमात्र छ। रेडियोमा विशेषगरी बिहान ६ देखि ७ बजेसम्मको समयमा श्रोताले रेडियो बढी सुन्छन्। अन्य बेला सुन्ने श्रोता कम छन्। गण्डकीमा बिहान ६ देखि ७ बजेसम्म १ लाख ८४ हजार जनाले रेडियो सुन्ने गरेको पाइएको छ। पत्रपत्रिका पनि अत्यन्त सीमित र विशिष्ट वर्गमा मात्र खुम्चिएको छ। गण्डकीमा दैनिक रुपमा पत्रपत्रिका पढ्नेहरु ३ दशमलब ४ प्रतिशतमात्र छन्।  देशभर यसको दर ३ प्रतिशत छ।

यसरी हेर्दा, डिजिटल डिभाइसका सामु परम्परागत मिडिया दिनप्रतिदिन चुनौतीको विषय बन्दै गएको छ। यिनीहरु अहिले अस्तित्वको लडाइँमा छन्। पत्रपत्रिका, रेडियो र टेलिभिजन पुरानै धारमा चल्ने हो भने यिनीहरु भविष्यमा खालि ‘अर्काइस भ्यालु’को लागि मात्रै हुने एक कार्यक्रममा उल्लेख गरिएको हो।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमितिको आयोजनामा नवलपुरको अमलटारी होमस्टेमा हालै आयोजित ‘वर्तमान अवस्थामा परम्परागत सञ्चारमाध्यमको सान्दर्भिकता र दिगोपना’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारविज्ञ डा. भूमिराज चापागाईंले सो कुरा उल्लेख गरेका हुन्। उनका अनुसार, टेलिभिजनलाई पनि विगतमा विद्युतको समस्या भयो। साथसाथै इन्टरनेटको समस्या भयो। यसरी जुन रुपमा अघि बढ्नुपर्ने थियो, त्यो रुपमा जान सकेन। त्यतिमात्र कहाँ हो र, पत्रपत्रिका पढ्ने पाठक र एफएम–रेडियो सुन्ने श्रोता पनि ह्वात्तै घटेका छन्।

उनले कार्यक्रममा मिडिया प्रयोग, डिजिटल रुपान्तरण र व्यावहारिक परिवर्तन’ बारे गण्डकी प्रदेशबीचको तुलनात्मक विश्लेषण (सर्वेक्षण २०२४/२०२६ मा आधारित) बारेको रिपोर्ट पस्केका हुन्। ‘लिनियर टेलिभिजनबाट डिजिटल कन्टेन्ट उपभोग गर्ने अडियन्सको साइज ह्वात्तै बढिसकेपछि हाम्रो रेगुलर कन्टेन्ट कन्ज्युम (विषयबस्तुको उपभोग) गर्नेको संख्या एकदमै घट्यो,’ उनले अगाडि भने, ‘भित्तामा झुण्डाइएको टेलिभिजन अब डिजिटल प्लेटफर्ममा जान सक्यो भने मात्रै यसको अस्तित्व रहन्छ।’ अन्तत्वगत्वा डिभिटलमा नगएसम्म लिगेसी मिडियाको अस्तित्व नरहे उनले दाबी गरे।

समयक्रमसँगै परम्परागत मिडिया आफैँमा असान्दर्भिक हुने होइनन्, तर कन्टेन्टलाई कत्तिको सान्दर्भिक हुने तरिकाले प्रस्तुत गरियो, त्यो महत्वपूर्ण हुने उनको भनाइ छ। बजारको माग हेरिकन अब परम्परागत मिडियाले कन्टेन्टलाई फरक ढंगले डिजिटल माध्यमबाट प्रसारण गर्नुपर्ने उनले सुझाव दिए। यसका लागि मिडिया संचालक र प्रबन्धकहरुले आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुपर्ने डा. चापागाईंले बताए। उनले भने, ‘लिगेसी मिडियालाई आफूले उत्पादन गर्ने सामग्रीका कति श्रोता, पाठक र दर्शक छन् भन्ने कुरा थाहा नहुन सक्छ, तर डिजिटल प्लेटफर्ममा कन्टेन्ट क्रियटर सबैलाई थाहा छ।’

पूर्वाधारले भिडियोलाई प्राथमिकता दिने भएकाले युट्युब र टिकटक जस्ता प्लेटफर्ममा उपस्थिति बढाउनुपर्ने उनको सुझाव छ। साथै, दर्शकलाई पनि सेयर गर्न प्रेरित गर्नेखालका सामग्री निर्माणमा ध्यान दिनुपर्छ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यसमिति अध्यक्ष रमेश पौडेलले पछिल्लो समय परम्परागत मिडिया संकटमा परेकाले हुँदा यसबारे सरोकारवाला निकायको उपस्थितिमा अन्तरक्र्रिया गरिएको बताए। विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रमको संचालन महासंघ गण्डकी महासचिव जमुना वर्षा शर्माले गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast