काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नवनिर्वाचित सांसद सरिताकुमारी ठाकुरले मधेश प्रदेशसभा सदस्य पदको शपथ ग्रहण गरेकी छन्।
महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी ठाकुरलाई जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रमकाबीच सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राप्रपाले अनुशासनको कारबाही गर्दै कञ्चन बिच्छालाई फिर्ता बोलाएपछि ठाकुर समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।
बिच्छा नेकपा एमाले नेतृत्वको सरकारमा मन्त्री बनेकी थिइन्। पार्टी निर्णयविपरित मन्त्री बनेपछि राप्रपाले उनलाई फिर्ता बोलाएको थियो। पार्टीको निर्णय मान्न अटेर गरेपछि उनीमाथि अनुशासनको कारबाही गरिएको थियो।
राप्रपाले बिच्छालाई हटाएर ठाकुरलाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो।
निर्वाचन आयोगको ३० वैशाखको निर्णयअनुसार ठाकुर प्रदेशसभा सदस्यमा नियुक्त भएकी हुन्।




