मध्यरातमा डाकिएको संसद्को पहिलो अधिवेशन

सन्तोष खडेरी १६ असार २०७९ १०:४६
2
SHARE
मध्यरातमा डाकिएको संसद्को पहिलो अधिवेशन प्रतिनिधिसभाको पहिलो अधिवेशनको ऐतिहासिक अवसरमा भोलिपल्ट १७ असारमा जारी गरिएको हुलाक टिकट।

नेपालमा बिहीबार ६४आ‌ैँ संसद् दिवस मनाइँदैछ। ६३ वर्षअघि आजैका दिन अर्थात् असार १६ गते मुलुकको पहिलो जननिर्वाचित संसद्को पहिलो अधिवेशनको पहिलो बैठक बसेको स्मरणमा संसद् दिवस मनाइँदै आएको छ। यहाँ मुलुकको इतिहासकै पहिलो संसदीय बैठकमा के के भए भन्ने विषयमा चर्चा गरिएको छ।

२०१५ साल फागुन ७ बाट मुलुकमा पहिलो आमनिर्वाचन सुरु भयो। विभिन्न चरणमा गरी निर्वाचन  चैत २८ गते सम्पन्न भएको थियो। त्यतिबेला प्रतिनिधिसभामा १०९ वटा सिटका लागि मतदान भएको थियो। निर्वाचनमा कुल मतदाता ४२ लाख ४६ हजार ४६८ थिए। त्यस्तै एउटा निर्वाचन क्षेत्रमा बढीमा ५४ र घटीमा ११ वटा मतदान केन्द्र तोकिएको थियो। (नेपालको संसदीय निर्वाचन दर्पण, निर्वाचन आयोग–२०६३) 

अन्तिम मत परिणाम घोषणा २०१६ वैशाख २८ गते भएको थियो। निर्वाचनमा ९ वटा राजनीतिक दलले उम्मेदवारी दिए पनि ६ वटा राजनीतिक दलका उम्मेदवार विजयी भएका थिए। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूमा नेपाली कांग्रेस ७४ सिट, नेपाल राष्ट्रवादी गोरखा परिषद् १९ सिट, संयुक्त प्रजातन्त्र पार्टी ५ सिट, नेपाल कम्युनिस्ट पार्टी ४ सिट, नेपाल प्रजापरिषद् (आचार्य गुट) २ सिट, नेपाल प्रजापरिषद् (मिश्र गुट) २ सिट र स्वतन्त्र उम्मेदवार ४ सिटमा विजयी भएका थिए।

स्वतन्त्रबाट विजयी चार सांसदमध्ये ३७ नम्बर निर्वाचन क्षेत्र सप्तरी पश्चिमबाट हरिलाल चौधरी, ४६ नम्बर निर्वाचन क्षेत्र असिभौ कोद्राहबाट रामदुलार राय यादव, ७३ नम्बर निर्वाचन क्षेत्र जुम्ला उत्तरबाट भीमप्रसाद श्रेष्ठ र ७४ नम्बर निर्वाचन क्षेत्र जुम्ला दक्षिणबाट जयबहादुर महत क्षेत्री थिए। (नेपालको संसदीय निर्वाचन दर्पण, निर्वाचन आयोग–२०६३ र नेपाल राजपत्र २०१६ वैशाख २८)

२०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत हासिल गरेको थियो। उक्त आमनिर्वाचनमा भाग लिएका पार्टीमध्येबाट पार्टी अध्यक्षले चुनाव जित्नेमा बीपी कोइराला मात्रै थिए।

नेपाली कांग्रेसका अध्यक्ष बीपी कोइरालाको नेतृत्वमा २०१६ साल जेठ १३ गते मत्रिपरिषद् गठन भएको थियो। उक्त मन्त्रिपरिषद्ले २००७ सालको अन्तरिम संविधानअनुसार शपथ लिएको थियो।

२०१५ सालको संविधान २०१६ साल असार १५ सम्म पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको थिएन। असार ४ गते राजदरबारले सूचना जारी गरी प्रतिनिधिसभाको पहिलो अधिवेशन सोही असार १६ गते राति ११ः४५ बजेका लागि आह्वान गरेको थियो।

पहिलो अधिवेशन आह्वान गरिएको दिन १६ असार बिहान ४ः५९ बजे बाट नयाँ संविधान पूर्ण रूपमा कार्यान्वयनमा आउने घोषणा गरिएको थियो। असार १६ मा नारायणहिटी राजदरबारमा पहिले बीपी कोइरालाको मन्त्रिपरिषद्ले नयाँ संविधानअनुसार राजाबाट शपथ लिएको थियो।

मध्यरातमा संसद् अधिवेशन आह्वान गर्नुको कारणबारे त्यतिबेला असार १६ गते राजा महेन्द्रको शुभ जन्मोत्सव र असार १७ गते स्वर्गीय राजा त्रिभुवनको जन्मजयन्ती भएका कारण दुवै ऐतिहासिक तिथिलाई शुभमुहूर्तको अवसर बताइएको थियो।

भारतमा अंग्रेजको उपनिवेशबाट मुक्त भएपछिको पहिलो संसद् बैठक मध्यरातमा आह्वान गरिएकाले नेपालमा पनि त्यसको सिको गरिएको अनुमान पनि गर्न सकिन्छ। पत्रकार जगत नेपालले आफ्नो पुस्तक पहिलो संसद् बीपी-महेन्द्र टकराव मा भने त्यही समयमा बैठक सुरु गरियो भने संसद् धेरै चल्दैन भन्ने ज्योतिषहरुको सल्लाहमा नै राजाले रातको ११ः४५ बजे बैठक बोलाएका थिए भनी उल्लेख गरेका छन्।

प्रतिनिधिसभाको पहिलो अधिवेशन सिंहदरबारस्थित ग्यालरी बैठकमा आयोजना गरिएको थियो। निर्धारित समय ११ः४५ बजे नै प्रतिनिधिसभा सदस्य जम्मा भएपछि अधिवेशनको पहिलो बैठक सरु भयो। त्यसपछि प्रतिनिधिसभाका सचिव कुलशेखर शर्माले राजाका सचिव हंसमान सिंहद्वारा जारी दरबारको पत्र पढेर सुनाएका थिए। पत्रको व्यहोरा यस्तो थियो-

‘प्रतिनिधिसभाको नियमावली २०१६ को दफा १३ अनुसार नियमित रूपले प्रतिनिधिसभाको सभामुखको निर्वाचन नभएसम्म प्रतिनिधिसभाको कामकाज चलाउनालाई गुल्मी उत्तर पूर्व क्षेत्र नं. ८९ श्री गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनीत गर्ने श्री ५ महाराजाधिराजका हजुरमा श्री प्रधानमन्त्रीज्यूले मौखिक बिन्ती गर्नुभएकोमा प्रतिनिधिसभाको काम चालू गर्नालाई श्री गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनीत गर्ने स्वीकृति प्रदान गरिबक्सेको छ।’  (प्रतिनिधिसभाको १६ असार २०१६ को अभिलेख) 

प्रतिनिधिसभा सदस्यमध्येबाट जेष्ठ सदस्य गिरीलाई नै प्रधानमन्त्रीले राजासमक्ष मौखिक रूपमा बिन्ती गरेका थिए। प्रतिनिधिसभाका सचिव कुलशेखर शर्माले गिरीप्रसाद बुढाथोकीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। त्यसपछि गिरीले कार्यकारी अध्यक्षको आसन ग्रहण गरे।

गिरीको आसन ग्रहणपछि उनको आदेशअनुसार सचिवद्वारा प्रधानमन्त्री बीपी कोइराला, मन्त्री गणेशमान सिंह, उपप्रधानमन्त्री सुवर्णशमशेर, मन्त्रीहरु क्रमशः १०६ जना प्रतिनिधिसभा सदस्यहरुलाई शपथ गराइएको थियो।

नेपाली कांग्रेसबाट विश्वबन्धु थापाले कृष्णप्रसाद भट्टराईलाई सभामुख चुनियोस् भनी प्रस्ताव गरे जसलाई अर्का सदस्य रुद्रप्रसाद गिरीले समर्थन गरे। त्यसपछि मृगेन्द्रशमशेर जबराले देववीर पाण्डेको नाम फिर्ता लिएपछि एकमात्र प्रस्ताव बाँकी भएकाले सभामुखमा कृष्णप्रसाद भट्टराईको नाम स्वीकृत भएको थियो।

अन्य तीन जनामध्ये जितबहादुर कार्कीलाई सोही २६ असारमा, पुष्करनाथ पोखरेललाई चैत २८ मा  र नवराज जोशीलाई चैत २४ मा सदनभित्रै सभामुखद्वारा शपथ गराइएको थियो। (संसदीय विवरण पुस्तिका प्रतिनिधिसभ-महासभा २०१६ (२०१७, संघीय संसद् सचिवालय-२०७७) 

शपथपछि फेरि प्रतिनिधिसभाका सचिव शर्माले राजाका प्रमुख सचिव सिंहबाट प्राप्त अर्को पत्र  पढेर सुनाएका थिए। पत्रको व्यहोरा यस्तो थियो-

‘श्री संसद् सचिवालय सिंहदरबार, प्रतिनिधिसभा नियमावली २०१६ को भाग ३ को दफा ९ को १ बमोजिम प्रतिनिधिसभाको सभामुखको निर्वाचनलाई २०१६ असार १८ गते रोज ५ का दिन निर्वाचन गर्नु भन्ने हुकुम बक्सेको छ।’ (प्रतिनिधिसभाको १६ असार २०१६ को अभिलेख)

उक्त पत्रपछि सभा बैठक २०१६ साल असार १८ गते बिहीबार दिउँसो ३ बजे सम्मका लागि स्थगित गरिएको थियो। अभिलेखमा १८ गते सम्मका लागि स्थगित गरिएको उल्लेख भए पनि समय २ बजेर १० मिनेट लेखिएको थियो। त्यसबाट असार १६ गते राति ११ः४५ बजे सुरु भएको सभा अर्को दिन १७ असार बिहान २ः१० बजेसम्म चलेको देखिन्छ।

त्यतिबेला भारतीय दूतावासले दिल्लीस्थित विदेश मन्त्रालयमा पठाएको प्रतिवेदनमा दुई घण्टाभन्दा बढी समयसम्म चलेको उक्त प्रतिनिधिसभा बैठकमा जननिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले राजा र संविधानप्रति निष्ठाको शपथ लिएको उल्लेख गरेको थियो।

असार १८ गतेको बैठकमा सभामुख चयन भएका थियो। कार्यकारी अध्यक्ष गिरीको अध्यक्षतामा दिउँसो ३ः०५ बजे बैठक प्रारम्भ भएको थियो। बैठकमा पहिले नेपाल राष्ट्रवादी गोरखा परिषद्बाट मृगेन्द्रशमशेर जबराले देववीर पाण्डेलाई सभामुख चुनियोस् भनी प्रस्ताव गरे जसलाई अर्का सदस्य बेनीबहादुर कार्कीले समर्थन गरे।

नेपाली कांग्रेसबाट विश्वबन्धु थापाले कृष्णप्रसाद भट्टराईलाई सभामुख चुनियोस् भनी प्रस्ताव गरे जसलाई अर्का सदस्य रुद्रप्रसाद गिरीले समर्थन गरे। त्यसपछि मृगेन्द्रशमशेर जबराले देववीर पाण्डेको नाम फिर्ता लिएपछि एकमात्र प्रस्ताव बाँकी भएकाले सभामुखमा कृष्णप्रसाद भट्टराईको नाम स्वीकृत भएको थियो। यसरी कृष्णप्रसाद भट्टराई मुलुकको पहिलो प्रतिनिधिसभाको पहिलो सभामुख चुनिए। असार १९ गतेको अर्को बैठकमा प्रतिनिधिसभाका सचिव कुलशेखर शर्माले नवनिर्वाचित सभामुख कृष्णप्रसाद भट्टराईलाई पद तथा गोपनीयताको शपथ दिलाए।  (प्रतिनिधिसभाको १८ र १९ असार २०१६ को अभिलेख)

प्रकाशित: १६ असार २०७९ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =