काठमाडौँ– अभिनेता दयाहाङ राईसमेत वार्तामा संलग्न हुँदा पनि सुदन किराती र हर्क साम्पाङबीचको एकता प्रयासले पूर्णता पाउन नसकेको पाइएको छ। दयाहाङ सहभागी वार्ता अन्तिम समयमा भाँडिँदा श्रम संस्कृतिमा समाहित हुने सुदन किरातीको प्रयास अन्योलमा परेको हो।
केही दिनअघि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) त्याग गरेका सुदन किराती माओवादीबाट मन्त्री भइसकेका नेता हुन्। माओवादीसहितका शक्ति जोडिएर बनेको नेकपामा उनी गएनन्। त्यसपछि उनी प्रलोपा प्रवेश गरेका थिए। प्रलोपाभित्र पनि विवादका कारण टिक्न नसकेका किरातीको श्रम संस्कृति पार्टीमा समायोजन हुने चाहना तत्काल पूरा नहुने देखिएको छ।
लामो समय माओवादीबाट राजनीति गरेका सुदन केही समयअघि मात्रै प्रलोपामा विलय भएका थिए। अनि सुदन नयाँ शक्ति भन्दै प्रलोपामा समाहित भएका थिए।
निकट नेताहरूका अनुसार उनले हर्क साम्पाङसँग एकता गर्ने सर्तमा प्रलोपा छाडेका थिए। अहिले साम्पाङ-किराती एक हुने-नहुने निश्चित छैन। हर्कले कुरा फेरेपछि अन्योल बढेको सुदन निकट नेताहरू बताउँछन्।
आमनिर्वाचनमा हर्क साम्पाङ संघीय नेतृत्वमा उदाएपछि अन्य जनजाति नेताहरू पनि जोडिनुपर्ने मत बढ्यो। श्रम संस्कृति पार्टीका नेताहरूका अनुुसार जनजाति समुदायका कलाकार, पत्रकारसहित शुभेच्छुकले हर्क र किराती जोडिनुपर्ने मत राखेका थिए। यही दबाबले दुवै नेताले जोडिने प्रयत्न गरे। किराती निकट स्रोतका अनुसार हर्क र सुदनले नै वार्ता समिति बनाएर छलफल थालेका थिए।
हर्कका तर्फबाट आशा लामा र डा. सन्ध्या थापा वार्ताटोलीमा थिए भने सुदनका तर्फबाट सरिता राई, सालिक सतासत राई र प्रकाश विकल्प थिए। वार्ता टोली चार-पाँच पटकसम्म छलफलमा जुट्यो। ‘हामी बैठक बस्यौँ। अब पदीयबाहेक अन्य कुरामा मिल्न सकिन्छ भनेर निष्कर्षमा पुग्यौँ’, वार्ता टोलीमा सहभागी एक सदस्य भन्छन्, ‘अब उच्चस्तरीय नेताहरू (सुदन-हर्क) नै बस्नुपर्छ भन्ने निष्कर्षमा पुगियो।’
दोस्रो चरणमा मीना सिंगाक, विशाल राईसहितले हर्कसँग संवाद गरेका थिए। सुदनका तर्फबाट उनीहरूले हर्कलाई एकता गर्न अनुरोध गरेका थिए। यसैगरी अभिनेता दयाहाङ पनि उनीहरूलाई मिलाउन जुटेका थिए। ‘छलफलमा निर्णायक भएर दयाहाङ राई पनि सहभागी भएका हुन्’, ती सदस्य भन्छन्। अभिनेता राईको कुनै पार्टीमा संलग्नता भने देखिएको छैन। त्यही छलफलमा हर्कले सुदनलाई वरिष्ठ नेता दिने प्रस्ताव गरेका थिए।
एकपटक सुदनसँगै हर्कले भेट्ने कुरा गरेका थिए। वैशाख १३ मा सुदन-हर्कबीच तीन घण्टा लामो छलफल भयो। जुन छलफलमा सुदन पक्षलाई दुई पदाधिकारी, १५ केन्द्रीय सदस्य दिन हर्क राजी भएका थिए। सुदनले ३३ प्रतिशत केन्द्रीय सदस्य र तीन पदाधिकारीको प्रस्ताव राखेका थिए। ‘छलफलमा हर्कले ९८ प्रतिशत वार्ता टुंगियो। दुई प्रतिशतचाहिँ म पार्टीमा कुरा राखेर मिलाउँछु भनेका थिए’, किराती निकट एक नेता भन्छन्, ‘सुदन दाइ पनि लगभग मिल्यो भन्नेमा पुग्नुभएको थियो।’
पछि हर्कले पार्टीमा एकता हुन नसकेको र सुदनलाई वरिष्ठ उपाध्यक्ष मात्र दिन सकिने प्रस्ताव राखेका थिए। त्यसपछि हर्क-सुदनबीच संवाद भएको छैन। सुदनलाई उधृत गर्दै एक नेताले भने, ‘मैले छातीले टेकेँ अब नाकले टेक्न चाहन्नँ।’
किन फेरे त हर्कले बोली?
सुदन निकट नेताहरूका अनुसार हर्कले बोली फेरेका कारण वार्ता निष्कर्षविहीन बनेको हो। पहिले उनले दुई पदाधिकारी र १५ केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए। तर पछि हर्कलाई मात्र ल्याउन सकिने बताएका थिए। त्यही कारण वार्ता भाँडिएको ती नेता बताउँछन्।
हर्क पक्षीय नेताहरू भने वार्ता चलिरहेको बताउँछन्। पछिल्लो पटक पनि सुदन र हर्कबीच भेट भएको एक नेताले जानकारी दिए। ‘सुदनजी हर्कलाई भेट्न जानुभएको थियो। तर त्यहाँ हर्कजीले नै पार्टीमा कुरा मिलेन भन्नुभएछ’, ती नेताले भने, ‘छलफल वैशाख १४-१५ तिर मात्र भएको हो। त्यहाँ हर्कका दुई नेता पनि थिए। उनीहरूले एकता गर्न नसकिने बताएपछि समस्या भयो।’
सुदन निकट स्रोतका अनुसार पछिल्लो समय हर्कसँग छलफल भएकै छैन। सुदन अब थप लचक नबन्ने पक्षमा छन्। यसैले पनि उनी अन्य दलसँग संवादमा छन्। उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पनि छलफल गरेका छन्। काठमाडौँको चाबहिलस्थित एक घरमा भएको वार्तामा दुई नेताहरूले छिट्टै एक हुने विषयमा छलफल भएको थियो।
‘अब हामी सबै शक्तिहरू एक बनाउने तयारीमा छौँ। वैकल्पिक शक्ति एक ठाउँ आउनुपर्छ भन्ने ठहर हो’, सुदन निकट राजन समीप भन्छन्। नेताहरूका अनुसार सुदन भावी रणनीति बनाउने तरखरमा छन्। यसका लागि उनले आफू निकट नेताहरूसँग छलफल गरेका छन्।
‘वैकल्पिक शक्ति एक हुनुपर्छ भन्ने हो। कुलमानसँग जोडिएर मात्र होइन अशोक राई र हर्क पनि एक हुनुपर्छ भन्ने बुझाइका साथ अघि बढ्न लागेको हो’, तीन नेता भन्छन्।
कुलमानसँग जोडिए, रास्वपासँग संवादको तयारी
अहिले किराती वैकल्पिक शक्तिका नेताहरू एक ठाउँमा आउनुपर्छ भन्नेमा छन्। हर्कसँग मात्र संवाद गर्दा ‘भाउ घटेको’ बुझाइ छ। यही कारण पनि कुलमान जोडिएको ती नेता बताउँछन्। अब भने निरन्तर अन्य शक्तिसँग छलफल गर्ने उनको योजना रहेको दाबी नेताहरूको छ।
‘रास्वपामा पनि बालेन फ्याक्टर पहिचानकै राजनीति गर्छ। त्यतै मिलौँ कि पनि सुझाव आइराछ।’ ती नेताका अनुसार अब कुमार बेनका तर्फबाट सुदन बालेनसँग वार्ता गर्ने तयारीमा जुटेका छन्। सुदनले आफू पूर्वी क्षेत्रको जनजाति नेता बन्ने प्रस्ताव राख्ने ती नेताको बुझाइ छ। ‘रास्वपामा पूर्वी क्षेत्रमा लिडर छैन। सुदन दाइ गएमा पक्कै बालेनले नाइँ भन्दैनन्’, ती नेता भन्छन्। किराती निकट समिप भन्छन्, ‘यति धेरै राजनीति अघि बढेको त छैन। तर छलफल गर्दै अघि बढ्न सकिन्छ।’




