काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बंगलादेशस्थित संयुक्त अन्तर्राष्ट्रिय विश्वविद्यालयमा डेटा साइन्स विषय अध्ययनका लागि नेपाली विद्यार्थीहरूलाई छात्रवृत्तिमा आवेदन दिन आह्वान गरेको छ।
मन्त्रालयले वैशाख १७ गतेको निर्णयअनुसार २ जना विद्यार्थीका लागि छात्रवृत्ति खुला गरेको हो। जसमा एक सिट खुला प्रतिस्पर्धाका लागि र एक सिट महिलाका लागि छुट्याइएको छ।
यो अवसर नेपाली दूतावास, ढाकामार्फत प्राप्त भएको हो। परराष्ट्र मन्त्रालयको सिफारिसपछि विश्वविद्यालयले नेपाली विद्यार्थी मनोनयनका लागि आग्रह गरेको मन्त्रालयले जनाएको छ।
आवेदन दिन इच्छुक विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानअन्तर्गत डेटा साइन्स विषयको प्रवेश परीक्षाको नतिजा वा स्कोरकार्ड अनिवार्य गरिएको छ।
आवेदन वैशाख २५ गते (मे ८, २०२६) कार्यालय समयभित्र अनलाइनमार्फत सम्पन्न गर्नुपर्नेछ। थप जानकारीका लागि शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखा, सानोठिमी भक्तपुरमा सम्पर्क गर्न सकिने जनाइएको छ।



