शिक्षक दरबन्दी विवरणसहितको विषयमा केन्द्रको यस्तो निर्देशन

हिमाल प्रेस २० वैशाख २०८३ १०:४५ | Sunday, May 3, 2026
748
SHARES
शिक्षक दरबन्दी विवरणसहितको विषयमा केन्द्रको यस्तो निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अद्यावधिक गर्न देशभरका सबै स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ।

केन्द्रको सानोठिमी, भक्तपुरस्थित शैक्षिक सूचना व्यवस्थापन शाखाले जारी गरेको सूचनाअनुसार शैक्षिक सत्र २०८३ का लागि विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क जेठ मसान्तभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ।

केन्द्रले प्रत्येक शैक्षिक सत्रको सुरु र अन्त्यमा ‘Flash I’ र ‘Flash II’ School Census मार्फत सामुदायिक, संस्थागत तथा परम्परागत/धार्मिक विद्यालयबाट शैक्षिक तथ्याङ्क सङ्कलन, एकीकरण, विश्लेषण र प्रकाशन गर्दै आएको जनाएको छ। सोही तथ्याङ्कका आधारमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन हुने भएकाले समयमै यथार्थ विवरण अद्यावधिक गर्न आग्रह गरिएको छ।

सूचनामा विद्यालयहरूले आईईएमआईएस प्रणालीमा भर्ने सम्पूर्ण विवरण प्रधानाध्यापकको रोहबरमा सत्य र त्रुटिरहित रूपमा अद्यावधिक गर्नुपर्ने उल्लेख छ। गलत वा अपूर्ण विवरणका कारण विद्यालयले पाउने अनुदान तथा विद्यार्थीले पाउने सुविधा प्रभावित हुन सक्ने भन्दै यस्तो अवस्थाको जिम्मेवारी सम्बन्धित प्रधानाध्यापककै हुने केन्द्रले स्पष्ट पारेको छ।

त्यस्तै, विद्यालयहरूले आईईएमआईएसको आधिकारिक वेबसाइटमार्फत लगइन गरी ‘School Profile’ अन्तर्गत आधारभूत विवरण, ECED सूचना, व्यवस्थापन तथा भौगोलिक नक्सा सम्बन्धी जानकारी अद्यावधिक गर्नुपर्नेछ। शिक्षक दरबन्दी विवरणको सत्यापन गर्न पनि भनिएको छ।

विद्यार्थीसम्बन्धी विवरणअन्तर्गत छात्रवृत्ति विवरण भर्ने र मासिक हाजिरी प्रविष्ट गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।

यस कार्यलाई प्रभावकारी बनाउन सबै स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न केन्द्रले आग्रह गरेको छ।

प्रकाशित: २० वैशाख २०८३ १०:४५ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast