चितवन- सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ। हालै सार्वजनिक कक्षा ८ को नतिजामा प्रगति हुन नसकेको हो। भरतपुर महानगरपालिका, शिक्षा महाशाखा प्रमुख सुवाष आचार्यका अनुसार कक्षा ८ मा सामुदायिक विद्यालयतर्फको उत्तीर्ण प्रतिशत ३९ दशमलव ०१ प्रतिशत मात्र छ। निजी विद्यालयको प्रतिशत ७० दशमलव ३२ प्रतिशत छ। समग्रमा उत्तीर्ण प्रतिशत ५६ दशमलब ८१ प्रतिशत रहेको छ।
अघिल्लो वर्षका तुलनामा समग्रमा ६ प्रतिशत घटेको हो। सामुदायिक विद्यालयमा तीन प्रतिशतले घटेको छ। यस वर्ष सात हजार ५८९ र्वले कक्षा ८ मा परीक्षा दिएका थिए। महानगरपालिकामा ७४ सामुदायिक विद्यालय र ८४ निजी विद्यालय छन्।
उनका अनुसार भरतपुर-२९ को आधारभूत विद्यालय चौकी र भरतपुर-१७ को आधारभूत विद्यालय लगौटाको नतिजा शून्य भएको छ। महानगरभित्रका केही विद्यालयको नतिजा निकै राम्रो भएका कारण समग्रमा यो प्रतिशत देखिए पनि अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको अवस्था दयनीय देखिएको आचार्यले स्वीकार गरे।
उनले भने,‘सरकारी विद्यालयको नतिजा लाजमर्नु देखियो।’ आठ वटा सामुदायिक विद्यालयको नतिजा १५ प्रतिशत मात्र उत्तीर्ण छ। पन्ध्रदेखि २० प्रतिशत मात्र उत्तीर्ण हुने १५ वटा छन् भने २० देखि ३० प्रतिशत उत्तीर्ण हुने १७ वटा विद्यालय रहेका छन्। औसत प्रतिशत ३९ दशमलव ०१ प्रतिशत उत्तीर्ण हुने ५६ वटा मात्र रहेका छन्।
पचास प्रतिशतभन्दा बढी उत्तीर्ण हुने विद्यालयको सङ्ख्या नौ छ। उनले भने,‘विद्यालयको गुणस्तर सुधार गर्न कक्षा कोठामानै हस्तक्षेप गर्नुपर्ने देखियो।’ दरबन्दी थपेर मात्र पनि गुणस्तर नसुध्रिएको उनको भनाइ छ। संघीय बजेटबाहेक भरतपुर महानगरपालिको वार्षिक रु १० करोड ५० लाख शिक्षामा खर्च गरेको छ।
शिक्षकको क्षमता विकासका लागि महानगरले खर्च गर्न नसकेको आचार्य बताउँछन्। महानगरले युवा स्वयंसेवक शिक्षकका लागि वार्षिक रु दुई करोड ५० लाख, बालविकास सहजकर्ता, लेखापाल र कार्यालय सहयोगीका लागि थप रकमबापत रु दुई करोड ५० लाख खर्च गर्ने गरेको छ। त्यस्तै दिवा खाजाका लागि एक जना विद्यार्थीलाई रु पाँच थप गरिदिएको छ।
समग्रमा गुणस्तर विकासका लागि महानगरपालिकाको लगानीसमेत कम भएको भन्दै उनले शिक्षा सुधारका लागि लगानी थपेर हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने देखिएको बताए।
शिक्षा क्षेत्रमा लामो अनुभव सँगालेका कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा.डा.सूर्यकान्त घिमिरे सरकारी विद्यालयमा पर्याप्त जनशक्ति रहेको, पूर्वाधार पनि सुधार भइसकेको अवस्थामा पनि नतिजा दिन नसक्नु राम्रो नभएको बताउँछन्।
सरकारी विद्यालयमा अझै सुधार हुन नसकेको भन्दै उनले सूस्म रूपमा अध्ययन गरी शिक्षकलाई आफ्नो काममा कसरी दिलचस्वी पुर्याउने भन्नेमा लाग्नुपर्ने बताए। विद्यालयहरूले शिक्षकलाई पढाउने कलासम्बन्धी तालिम दिएर शिक्षामा सुधार ल्याउनुपर्ने उनको भनाइ छ।
शिक्षा क्षेत्रमा काम गर्दै आएका रमाकान्त सापकोटा शिक्षा क्षेत्रमा नयाँ शैली अपनाउनुपर्ने अवस्था आएको बताउँछन्। शिक्षकले प्रविधिलाई जोडेर पढाउनुपर्ने भन्दै उनले शिक्षक मात्र नभएर विद्यार्थीले पढ्ने कुरामा दिने कम रुचिलाई कसरी बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताए। पुरानो तौरतरिकालाई परिवर्तन गरी नयाँ ढंगले पढाउने विषयमा महानगरपालिकाले सोच्नुपर्ने उनको सुझाव छ।
भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी विद्यालय तहदेखिनै शैक्षिक गुणस्तर बढाउन आवश्यक रहेको स्वीकार गर्छन्।
अहिले आएको नतिजा राज्यको शिक्षा क्षेत्रको लगानीको तुलनामा निकै कम भएको भन्दै उनले शिक्षा सुधार गर्न आफूहरूसहित विद्यालय, त्यहाँका शिक्षक, विद्यार्थी र अभिभावक सबै संयुक्त रुपमा लाग्नुपर्ने उनको भनाइ छ। यो नतिजालाई हेरेर महानगरपालिकाले आवश्यक छलफल गरी सुधारका लागि काम गर्ने उनले बताए।



