काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले सामुदायिक विद्यालयका शिक्षकको सक्षमता प्रारूपमा व्यापक परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको छ।
यसले शिक्षकको कार्यसम्पादनलाई अझ प्रविधिमैत्री, व्यावहारिक र समयअनुकूल बनाउने लक्ष्य लिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा २०७२ सालमा स्वीकृत शिक्षक सक्षमता प्रारूप हालसम्म कार्यान्वयनमा रहेको भए पनि बदलिँदो शैक्षिक परिवेशअनुसार यसलाई अद्यावधिक गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ।
यसै सन्दर्भमा शिक्षकहरूको वास्तविक कक्षाकोठा अभ्यास, सिकाइ शैली र दक्षतालाई समेट्ने उद्देश्यले ‘स्वमूल्याङ्कन प्रश्नावली’ तयार गरिएको छ। अब शिक्षकहरूले क्यूआर कोड वा अनलाइन लिंकमार्फत आफ्नै मूल्याङ्कन गर्दै आफ्नो अभिमत दिन सक्नेछन्।
केन्द्रका अनुसार यस प्रक्रियाले शिक्षकको व्यावसायिक विकासमा नयाँ दिशा दिनेछ भने विद्यार्थीमा वैज्ञानिक, सिर्जनात्मक र आधुनिक सीप विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
यस अभियानमा नेपाल शिक्षक महासंघले समेत साथ दिँदै शिक्षकलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
देशभरका शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहका शिक्षा शाखाहरूलाई शिक्षकलाई प्रश्नावली भर्न सहजीकरण गर्न निर्देशन दिइएको छ।





