काठमाडौँ- काठमाडौँ विश्वविद्यालय विश्वस्तरको ‘एचई उच्च शिक्षा र्यांकिङ’मा १२२औँ स्थानमा परेको छ। संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको उक्त र्यांकिङमा विश्वका ९५ देशका ५०७ विश्वविद्यालय सहभागी थिए।
उक्त मूल्यांकनमा विश्वविद्यालयहरूको उच्च शिक्षामा पार्ने प्रभाव नाप्न २५ वटा मापदण्डअन्तर्गत १३६ सूचक प्रयोग गरिएको जनाइएको छ।
र्यांकिङ विशेषगरी दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्यसम्पादन मूल्यांकनमा केन्द्रित रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार विश्वविद्यालयहरूको सञ्चालन प्रक्रिया, कार्यसम्पादन र संस्थागत क्षमताका आधारमा समग्र मूल्यांकन गरिएको हो।
काठमाडौँ विश्वविद्यालय ले स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्यउन्मुख योजनामा राम्रो सम्भावना देखाएको प्रतिवेदनमा उल्लेख छ।
र्यांकिङमा समावेश सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तर्राष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँच जस्ता पक्ष समेटिएका छन्।
शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले यस्तो मूल्यांकन गरिएको संस्थाले जनाएको छ।
विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्यांकिङ’ की सचिव नूरा अब्दुलजलील ले यो उपलब्धि विश्वविद्यालयका नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरेकी छन्।
यसले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रतिको प्रतिबद्धता झल्काएको पनि जनाइएको छ।
विश्वविद्यालयका शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा.डा.हेमराज काफ्लेले उक्त प्रतिवेदनले संस्थागत सञ्चालनबारे महत्त्वपूर्ण अन्तरदृष्टि दिएको बताए।




