पोखरा- टिप टप न्यू डायमण्ड स्पोर्टस् क्लब पोखरामा जारी छैटौँ टाइगर कप भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
हालसम्म ३ खेल खेलेको डायमण्ड अबिजित रहँदै १ खेल बाँकी छँदा फाइनल प्रवेश गर्न सफल भएको हो। उसले ९ अंक बटुलिसकेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार विभागीय नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
उसले पहिलो सेट २५-११, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-२० ले जित निकाल्यो। गत वर्ष आयोजक टिमले टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३-१ सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो।
बुधबार डायमण्डले लिग चरणको अन्तिम खेलमा थाइल्याण्ड क्वीन्ससँग प्रतिस्पर्धा गर्नेछ। जारी खेलमा महिलातर्फ एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एक टोली फाइनलमा स्थान बनाउनेछन्। पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको छ।
थाइल्याण्डले मंगलबार नै आर्मी ३-० को सोझो सेटमा पराजित गरेको थियो। फाइनल १७ माघमा हुनेछ।



