के गर्दैछ प्रगतिशील लोकतान्त्रिक पार्टी?

हिमाल प्रेस १३ पुष २०८२ १०:२५
104
SHARES
के गर्दैछ प्रगतिशील लोकतान्त्रिक पार्टी?

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रदेशस्तरबाट संगठन विस्तार र नेतृत्व संरचना सुदृढीकरणलाई तीव्र बनाएको छ। यही रणनीतिअन्तर्गत पार्टीको लुम्बिनी प्रदेशको प्रथम एकता भेला तथा बैठक शनिबार दाङको देउखुरीमा सम्पन्न भएको छ।

एकता भेलाले प्रदेशस्तरमा सशक्त नेतृत्व निर्माण गर्दै ५ सदस्यीय अध्यक्ष परिषद्सहित १५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ। अध्यक्ष परिषदमा यज्ञ पोखरेल, पंकज राई, बुद्ध सुनार, नारायण नागिला र इन्दिरा पुरी चयन भएका छन्। प्रदेश कार्यालयको मुख्यसचिवमा टोपबहादुर कार्की नियुक्त भएका छन् भने पार्टी प्रवक्ताको जिम्मेवारी वीरेन्द्र हरिजनलाई दिइएको छ।

प्रदेश संगठनलाई जरा तहसम्म विस्तार गर्ने उद्देश्यसहित भेलाले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका इन्चार्ज, जिल्ला प्रमुख र सचिव मनोनयन गरेको छ। साथै प्रदेशअन्तर्गतका २६ वटै निर्वाचन क्षेत्रका संयोजक चयन गर्दै पार्टी संरचनालाई निर्वाचन केन्द्रित बनाइएको छ।

बैठकले तय गरेको कार्ययोजनाअनुसार पुस ३० गतेभित्र सबै जिल्लामा जिल्ला भेला गठन गरिने र माघ ३० गतेसम्म सबै पालिकामा भेला सम्पन्न गरी सदस्यता वितरण अभियान सकिनेछ।

यससँगै प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची तथा प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको विषयमा पनि आन्तरिक छलफल अघि बढाइएको छ।

कार्यक्रममा सम्बोधन गर्ने केन्द्रीय नेताहरूले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न अब संगठन, जनसम्पर्क र प्रचार अभियानलाई आक्रामक रूपमा अघि बढाइने बताएका थिए।

उनीहरूले परम्परागत दलप्रति जनआक्रोश बढ्दै गएको वर्तमान अवस्थामा प्रगतिशील लोकतान्त्रिक पार्टी जनताको भरोसायोग्य विकल्प बन्ने दाबीसमेत गरे।

यज्ञ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बुद्ध सुनारले गरेका थिए। पार्टी हाल देशव्यापी रूपमा संगठन विस्तार अभियानमा सक्रिय रहेको छ।

मधेश, कोशी, गण्डकी, कर्णालीलगायत प्रदेशमा भेला र संगठन निर्माण प्रक्रिया अघि बढाइएको छ भने विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस, समानुपातिक सांसदका लागि बन्दसूची तयारी तथा वैकल्पिक शक्ति ध्रुवीकरण अभियानलाई पनि एकसाथ अगाडि बढाइएको पार्टीले जनाएको छ।

प्रकाशित: १३ पुष २०८२ १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast