काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दुई पक्ष सन्तोष परियार र दुर्गा सोब आपसी सहमतिमा अलग अलग राजनीतिक यात्रामा अघि बढ्ने निर्णय गरेपछि नयाँ शक्तिका तत्कालीन अध्यक्ष, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समकालीन नेपालको वैकल्पिक राजनीतिक बहस राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित भएको बताएका छन्।
‘२०७० फागुन २५ गतेको ‘नेपाल साप्ताहिक’ पत्रिकामा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकमा मेरो विश्लेषणात्मक आलेख प्रकाशित भएपछि नै समकालीन नेपालमा नयाँ वैकल्पिक राजनीतिको बहस र निर्माणको प्रक्रिया राष्ट्रिय स्तरमा अगाडि बढेको हो,’ बाबुरामले भने।
अहिले विभिन्न राजनीतिक प्रयोग र घुम्ती पार गर्दै नयाँ शक्ति राष्ट्रिय राजनीतिको केन्द्रमा स्थान बनाएको उनले बिहीबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
बुधबार प्रगतिशील लोकतान्त्रिक पार्टीका दुई पक्षबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टीलाई आपसी समझदारीका आधारमा अलग अलग सञ्चालन गर्ने निर्णय गरिएको थियो।
हालको प्रगतिशील लोकतान्त्रिक पार्टी सन्ताेष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) दुर्गा साेब पक्षले सञ्चालन गर्नेछन्। यसको आवश्यक कानुनी प्रक्रिया अघि बढाइने भएको छ।
जेनजी आन्दोलनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि र नेकपा माओवादीसँग असन्तुष्ट भएर आएका जनार्दन शर्मा, राम कार्कीलगायतसँगको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट असन्तुष्ट भएका सन्तोष परियार पनि प्रलोपामा सामेल भई पाँच सदस्यी अध्यक्ष मण्डलको सदस्य भएका थिए। त्यसपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सट्टा प्रगतिशील लोकतान्त्रिक पार्टी नाम राखिएको थियो। अध्यक्ष मण्डलमा सुदन किराँती, ओजस्वी भट्टराई, सन्तोष परियार, दुर्गा सोब र सुरेन्द्र जयसवाल थिए।
यस सन्दर्भमा डा.भट्टराईले भने,‘पार्टी र नेतृत्वको नाम जेसुकै भए पनि र त्यसका भंगालाहरू जतिसुकै भए पनि युग परिवर्तनसँगै अगाडि आउने समाज र राज्यका आधारभूत प्रश्नहरूको पहिचान र तिनको समाधान गर्ने वैचारिक-राजनीतिक कार्यदिशा नै व्यवहारिक राजनीतिको गुदी कुरा हो।’
उनले आफूले अघि सारेका सार्वभौमिकता/स्वाधीनता, संघीयता/समावेशीता, सुशासन/सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवाद (५ स) नै समकालीन नेपालको साझा राजनीतिक एजेन्डा बनेको दाबी गरेका छन्।
भट्टराईले यही साझा एजेन्डाको वरिपरि रहेर नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूले स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्य गर्न सके समृद्ध नेपाल निर्माण सम्भव हुने भन्दै समृद्ध नेपाल अवश्य बन्छ, बन्छ भन्ने विश्वास व्यक्त गरेका छन्।
सहमतिपत्रअनुसार दुर्गा नेतृत्वको पक्षले पूर्ववत् नाम, संरचना र ‘आँखा’ चुनाव चिह्न कायम राख्ने प्रक्रिया अघि बढाउनेछ भने सन्तोष परियार नेतृत्वको पक्षले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम र आँखा बाहेकको तीन रङ्गे झण्डा प्रयोग गर्दै कानुनी प्रक्रिया पूरा गर्नेछ।
दुवै पक्षले एकअर्काको नाम, चुनाव चिह्न, झण्डा वा संगठनात्मक पहिचानमा कुनै दाबी नगर्ने तथा भविष्यमा सुशासन, संविधानको संरक्षण, सामाजिक न्याय, समावेशी लोकतन्त्र र राष्ट्रिय हितका मुद्दामा आवश्यक संवाद र सहकार्य कायम राख्ने प्रतिबद्धता जनाएका छन्।


