काठमाडौँ- नेपालको राजनीतिक इतिहासमै सम्भवतः पहिलोपटक कुनै राजनीतिक दल आपसी सौहार्द, समान हैसियत र लिखित सहमतिका आधारमा अलग–अलग राजनीतिक यात्रामा अघि बढ्ने निर्णयमा पुगेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका दुई पक्षबीच बुधबार सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टीलाई आपसी समझदारीका साथ अलग-अलग सञ्चालन गर्ने निर्णय गरिएको हो।
सहमतिअनुसार हालको प्रगतिशील लोकतान्त्रिक पार्टी (साउन २० गते) बुधबारदेखि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) वा अर्को नाममा सञ्चालन हुने सहमति भएको छ। त्यसका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
सहमतिपत्रमा दुर्गा सोब नेतृत्वको पक्षले हालको प्रगतिशील लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी निर्वाचन आयोगमा पूर्ववत् नाम, संरचना तथा ‘आँखा’ चुनाव चिह्न कायम राख्ने प्रक्रिया अघि बढाउने उल्लेख छ। त्यस्तै, सन्तोष परियार नेतृत्वको पक्षले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम र आँखा बाहेकको तीन रङ्गे झण्डा प्रयोग गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने सहमति भएको छ।
दुवै पक्षले एकअर्काको पार्टीको नाम, चुनाव चिह्न, झण्डा, लेटरहेड वा संगठनात्मक पहिचानमा कुनै दाबी वा हस्तक्षेप नगर्ने लिखित प्रतिबद्धता जनाएका छन्। एकीकृत पार्टीको अवधिमा भएका चल-अचल सम्पत्ति, आर्थिक स्रोत, बैंक मौज्दात, ऋण तथा दायित्व पारदर्शी र न्यायोचित ढङ्गले व्यवस्थापन गर्ने सहमति पनि भएको छ।
सहमतिपत्रमा वर्तमान निर्णयलाई विभाजन, विघटन वा आपसी विरोधका रूपमा नभई बदलिएको राजनीतिक परिस्थिति, वैचारिक धार र संगठनात्मक आवश्यकताअनुसारको स्वाभाविक राजनीतिक प्रक्रियाका रूपमा व्याख्या गरिएको छ। भविष्यमा पनि सुशासन, संविधानको संरक्षण, सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा राष्ट्रिय हितका सवालमा संवाद, सहकार्य र एकताको भावना कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसअघि निर्वाचन आयोगमा दर्ता गराइएको संयुक्त निवेदनसमेत फिर्ता लिने सहमति भएको छ। सहमतिपत्रमा दुर्गा सोब र सन्तोष परियारले हस्ताक्षर गरेका छन् भने दुवै पक्षका तीन–तीन जना नेता रोहबर बसेका छन्।


