संसद्लाई संख्याका रूपमा बुझ्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक : सन्तोष परियार (भिडियोसहित)

हिमाल प्रेस २२ साउन २०८३ ९:३० | Friday, August 7, 2026
8
SHARES
संसद्लाई संख्याका रूपमा बुझ्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक : सन्तोष परियार (भिडियोसहित)

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा पूर्व सांसद सन्तोष परियारले संसद्लाई कमजोर बनाउने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्था र संविधानमाथि नै खतरा उत्पन्न गर्ने बताएका छन्।

हिमालप्रेससँगको कुराकानीमा उनले संसद् सरकार गठन गर्ने सर्वोच्च संस्था भएकाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै संसद्प्रति जवाफदेही हुनुपर्ने बताए।

उनका अनुसार संसद्लाई संख्याको खेलका रूपमा बुझ्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि घातक बन्दै गएको छ।

‘संसद्ले सरकार बनाउने हो, संसद्ले प्रधानमन्त्री छान्ने हो। संसद्प्रति सबै जिम्मेवार हुनुपर्छ। संसद्ले खोजेको बेला प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित हुनुपर्छ,’ उनले भने।

परियारले पछिल्ला वर्षहरूमा संसद्को भूमिका क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरे। उनका अनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने संसदीय प्रणालीको मूल मर्म नै अहिले कमजोर बनाइएको छ।

उनले संसदमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आफ्नो संवैधानिक भूमिका इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। ‘संसदमा बहुमत हुनु एउटा प्राविधिक विषय हो। त्यसको अर्थ सरकारले संसद्लाई बेवास्ता गर्न पाउँछ भन्ने होइन,’ उनले भने।

परियारले अहिलेको राजनीतिक नेतृत्वले सत्ता र शक्तिको स्रोत जनता हुन् भन्ने मूल मान्यता आत्मसात् गर्न नसकेको आरोप लगाए।

‘हामीले सत्ता र शक्ति नेपाली जनताबाट प्राप्त गरेका हौँ भन्ने नबुझेसम्म सुधार सम्भव देख्दिनँ। अन्तिम सत्य जनता हुन्। जनताकै कारण हामी जुनसुकै पदमा पुगेका हौँ भन्ने बुझ्नुपर्छ,’ उनले भने।

उनका अनुसार नागरिकलाई केन्द्रमा राखेर राज्य सञ्चालन नगर्दासम्म लोकतन्त्रप्रतिको जनविश्वास बलियो हुन सक्दैन। लामो समयदेखि राजनीतिक दल र राज्य संयन्त्रले नागरिक सर्वोच्चताको अभ्यास गर्न नसक्दा जनता र राज्यबीचको दूरी बढेको उनको भनाइ छ।

सरकार जनताको पहुँचमा हुनुपर्ने भन्दै उनले राज्यको काम समस्या उत्पन्न भएपछि मात्रै समाधान खोज्नु नभई सम्भावित द्वन्द्व र संकटलाई समयमै रोक्नु भएको बताए। ‘राज्यको काम द्वन्द्व व्यवस्थापन गर्नु मात्र होइन सम्भावित द्वन्द्व हुन नदिने वातावरण तयार गर्नु हो,’ उनले भने।

परियारले संसद्लाई नीति बहस, कानुन निर्माण र सरकारलाई उत्तरदायी बनाउने थलोका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसविपरीतको अभ्यासले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिए।

भिडियो

प्रकाशित: २२ साउन २०८३ ९:३० | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast