काठमाडौँ- नवलपरासीमा भारतीय नम्बरका तीनवटा मोटरसाइकल एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।
नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका ३ बेलशपुरस्थित बेलशपुर गोपिगञ्ज गण्डक नहरको भित्री सडकखण्डमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ।
बिहीबार साँझ सुरुमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ३५ बीभी ९७५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
सोही ठाउँमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ५६ एक्स २९४४ नम्बरको अर्को मोटरसाइकलसमेत आएर ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको पाल्हीनन्दन गाउँपालिका–४ लोहरौली बस्ने २०र२२ वर्षीय उसमान पठानको मृत्यु भएको हो।
गम्भीर घाइते उनको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रामग्राम नगरपालिका–१७ पिपरहवा बस्ने १९ वर्षीय ईसराफिल अंसारी, रामग्राम नगरपालिका–१७ पिपरहवा बस्ने ३९ वर्षीय प्रमोद तेली, पाल्हीनन्दन गाउँपालिका–३ बेलशपुर बस्ने १६ वर्षीय मोहम्मद राजा पठान, सोही स्थान बस्ने १७ वर्षीय सत्यम हरिजन घाइते भएका छन्।
उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू बसैको सिद्धबाबा अस्पताल बुटवलमा उपचार भइरहेको छ।
यूपी ५६ एक्स ०३३४ नम्बरको नम्बरको मोटरसाइकलको पछाडि सवार पाल्हीनन्दन गाउँपालिका–४ लोहरौली बस्ने १८ वर्षीय फिरोज अली देवानलाई प्रहरीको नियन्त्रणमा लिएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।



