एनपीएल

चितवनलाई चिनाउँदै ‘चितवन राइनोज’

हिमाल प्रेस ११ मंसिर २०८२ १२:५१ | Thursday, November 27, 2025
68
SHARES
चितवनलाई चिनाउँदै ‘चितवन राइनोज’

चितवन- पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिंगे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ। त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राइनोज’ ले खेलमार्फत चितवन र एक सिंगे गैँडालाई विश्वसामु चिनाइरहेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट खेल्दै आएको चितवन राइनोज दोस्रो संस्करणमा पनि मैदानमा उत्रेको छ। हालसम्म तीन वटा खेल खेलेको राइनोजले दुई जित हासिल गर्दै अग्रस्थानमा छ।

पहिलो संस्करणमा चौथो स्थान पाएको राइनोजले यस पटक पहिलो बन्ने दाउमा छ। चितवन मेडिकल कलेजको भगिनी संस्थाको रुपमा स्थापित चितवन राइनोजले यहाँ बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशाला, भरतपुर महानगरसहित समग्र चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराएको महानगर प्रमुख रेनु दाहाल बताउँछिन्। उनले भनिन्,‘अन्तर्राष्ट्रियस्तरको रंगशाला बनिरहेको ठाउँको क्लबले ख्याती पाउदा गर्व लाग्छ।’ यहाँको खेल पर्यटनलाई चितवन राइनोजले बढावा दिने उनको भनाइ छ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैँमा गर्वको विषय भएको बताए। उनले भने, ‘चितवन जिल्लाको नाममा स्थापित यो क्लब जिल्लाका लागि गौरवको विषय हो।’

खेलले अनुशासित बनाउने भन्दै उनले आम जनसमुदायलाई खेलप्रति आकर्षित गर्न यस्ता क्लब सहयोगी बन्ने बताए। चितवन राइनोज खेल्दै गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ।

सडक किनारका पोलमा मात्रै होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राइनोजको लोगो अंकित झण्डा फहराएको देखिन्छ। जिल्ला सर्वत्र खेलमय बने जस्तो प्रतित हुन्छ।

होटल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे क्लबको नामका कारण जिल्ला र पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराएको बताए। उनले भने,‘चितवन राइनोज सुन्नासाथ दिमाखमा चितवन राष्ट्रिय निकुञ्ज, एक सिंगे गैँडाको झल्को आउँछ।’ टेलिभिजन र सामाजिक सञ्जालमार्फत चितवन राइनोजको नाम फैलिँदै गर्दा त्यसको प्रत्यक्ष फाईदा पर्यटन क्षेत्रमासमेत पुग्ने उनको भनाइ छ।

अरु विषयमा मतभेद देखिएपनि चितवन राइनोजलाई प्रेरणा दिने कुरामा सबै एक ठाउँ उभिएका छन्। बुधबारको खेलमा प्रत्यक्ष दर्शक बनेका नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल जिल्लाको ईज्जत चितवन राइनोजले बढाएको बताए।

अन्य क्लबहरू प्रादेशिकस्तरका भए पनि जिल्लाको नामबाट चितवन राइनोज भएको भन्दै उनले यहाँको खेल क्षेत्रलाई चलायमान बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चितवनलाई चिनाउन क्लब सहयोगी भएको बताए।

प्रकाशित: ११ मंसिर २०८२ १२:५१ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast