न्यूयोर्कको मेयर

धनीको सहर, भुइँमान्छेको नेतृत्व

अमेरिकी युवापुस्ताको नायकका रूपमा उदाए मम्दानी

हिमाल प्रेस १९ कार्तिक २०८२ २१:१८
28
SHARES
धनीको सहर, भुइँमान्छेको नेतृत्व तस्बिरः एएफपी

काठमाडौँ- विश्वको मुख्यालयमात्र होइन अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटी (जहाँ राष्ट्रसंघको मुख्यालय छ) को नगरप्रमुख (मेयर)मा जोहरान क्वामे मम्दानी निर्वाचित भएका छन्। उनी ७ वर्षको उमेरमा युगाण्डाको कम्पालाबाट दक्षिण अफ्रिकामा बाल्यकाल बिताउँदै गर्दा अमेरिका पुगेका हुन्। त्यतिबेला हावर्डमा अध्ययनरत आमा र बुबासँगै अमेरिका बसाइँ सरेका भारतीय मूलका अफ्रिकी आप्रवासी उनी अमेरिकी नागरिक भएको २०१८ मा हो। न्यूयोर्कमा नै रहेर विद्यालय शिक्षा र युनिभर्सिटीमा स्नातक गरेका उनी गरिखाने वर्गको उम्मेदवारझैँ थिए।

मुस्लिम बुबा र हिन्दु आमाबाट जन्मिएका भए पनि समुदायका मम्दानी झण्डै ८५ लाख जनसंख्या भएको अमेरिकाको आर्थिक राजधानी र विश्वकै सबैभन्दा धनी सहरका साथै राष्ट्रसंघको मुख्यालय रहेको न्यूयोर्कको सबैभन्दा कान्छा र पहिलो मुस्लिम मेयर हुन्। अमेरिकी संरचनाको दृष्टिमा पनि यो सहर आर्थिक स्रोत परिचालन गर्ने शक्ति र प्रशासनिक कोणबाट यहाँको मेयरलाई अमेरिकी राष्ट्रपतिपछिको शक्तिशाली कार्यकारी पदको रूपमा लिइन्छ।

अमेरिकी राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने ढोकाको रूपमा मानिन्छ न्यूयोर्कको राजनीति अनि मेयर पद। उनलाई यहाँसम्म आमनागरिकले पुर्‍याएका छन्। उनले यही सहरमा आफूलाई स्थापित गरे, जहाँँ हरेक चार जनामा एक जना भोकै रहने र हातमुख जोड्न गाह्रो रहेको बताइन्छ। किनकी यो सहर महँगो छ तर यहाँको कमाइ उस्तै छ। यसलाई धनीको सहर र गरिखाने वर्ग खुम्चिुन पर्ने सहरको रूपमा पनि लिइन्छ। त्यसैले पनि यहाँ जिउन गाह्रो रहेको कुरालाई उनले ‘क्यास’ गरेको देखिन्छ।

उनको नारा पनि ‘एफोर्डेबल न्युयोर्क सिटी’ थियो, जुन नाराले सबैलाई छोयो। डिबेटमा पनि उनले यही विषय उठाएका थिए। पाएसम्म ओभरटाइम वा डबल सिफ्ट काम गर्ने मानिसहरू यहाँ छन्, उनीहरूलाई यसले नछुने भन्ने नै भएन। उनले न्यूयोर्क सिटीलाई शक्तिशाली सहरसँगै छिमेकी न्यूजर्सी जस्तै सबैले धान्ने सहर बनाउने पनि बताएका छन्। न्यूजर्सीमा बस्ने र न्यूयोर्क सिटीमा काम गर्नेहरू अधिक छन्। त्यो स्तरसम्मको अध्ययन गरेर उनी निर्वाचनमा होमिएका हुन्।

खासै चर्चामा नआएका उनी निर्वाचन अभियानको क्रममा चर्चामा आएका थिए। उनले विश्वको मुख्यालय मानिने न्यूयोर्कमा समाजवादी नारा घन्काएका थिए। उनी आफैँ रेलमा हुइँकिन्थे भने कहिले बसमा त कहिले साइकलमा भेटिन्थे। सडक पेटीमा राखिएको ठेलाको सस्तो चिकेन ओवर राइस हातैले खादैँ हिँडेको भेटिने व्यक्ति अमेरिकामा राष्ट्रपति पछिको चर्चा हुने पद न्यूयोर्कको मेयर बन्न पुगे। नेपालमा भनिने जस्ता समाजवादी होइनन्, उनी वास्तविक समाजवादी हुन्। गरिखाने वर्गको वास्तविक प्रतिनिधि नै हुन् र उनले त्यहाँका भेट्रानलाई पछि पारे।

तस्बिरः एएफपी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मम्दानी निर्वाचित भए न्यूयोर्कलाई दिइने संघीय बजेट नै कटौती गर्ने घोषणासँगै चेतावनी दिएका थिए। तर उनले निर्वाचन जितेपछि भने न्यूयोर्कवासीको समर्थनका साथै परिवर्तनको लागि कार्यादेश दिएको टिप्पणी गरे। ‘प्रचारप्रसारका बेलामा गरिएको वाचाहरू लेखेर राख्नुहोस् म पूरा गर्नेछु,’ उनको पक्षमा परिणाम आएपछि समर्थकलाई आश्वस्त पारे।

‘आज राति हामीले इतिहास रच्यौं। नेल्सन मण्डेलाले भनेझैँ, ‘यो पूरा नभएसम्म यो सधैँ असम्भव देखिन्छ’ मेरा साथीहरू, हामीले यो गर्‍यौँ। डेमोक्रेटिक उम्मेदवारको रूपमा म तपाईंहरूको न्यूयोर्क सहरको मेयर भएको छु,’ उनले जितपछि भने, ‘कुनै पनि कार्य पूरा नभएसम्म असम्भव देखिन्छ। हामी चिर्दै जानेछौँ।’

उनले गरिखाने वर्गबाट १०/२० डलरको सामान्य चन्दा लिएर आफूलाई अगाडि बढाएको बताएका थिए। धनाढ्यको चन्दा उनले लिएनन् तर पनि चन्दाले ‘सिलिङ’ नाघ्यो। त्यही मापन पनि उनको निर्वाचन जितको पाटो थियो। उनले उठाउन पाउने भन्दा बढी चन्दा आउन थालेपछि उनले अब पुग्यो समेत भन्न पर्‍यो। यसरी अघि बढेका उनले अब न्यूयोर्कलाई शक्तिशाली सहरसँगै सबैले धान्न सक्ने सहरको रूपमा अघि बढाउन उनी लाग्ने छनक उनको निर्वाचन अघिको कुराबाट नै स्पष्ट हुन्छ।

तस्बिरः एएफपी।

अहिलेको अमेरिकी अवस्थालाई उनले अन्धकारमयको संज्ञा दिँदै अब न्यूयोर्कलाई उज्यालो बनाउने पनि बताए। उनको यो धारणा रिपब्लिकन र ट्रम्प प्रशासनप्रति प्रतीकात्मक थियो। लक्षित थियो। मम्दानी एक सय वर्षभन्दा बढी समयपछि न्यूयोर्कको सबैभन्दा कान्छो मेयर मात्र बनेका होइनन्। ट्रम्प प्रशासनलाई सुरुदेखि नै काउन्टर दिने शैली पनि देखाएका छन्। जुन सहरले ट्रम्पलाई राष्ट्रपति ट्रम्प बन्ने अवस्थासम्म पुर्‍यायो त्यही सहरले उनलाई पराजित गर्ने बताउँदै ट्रम्पलाई कटाक्ष गरेका छन्।

न्यूयोर्क सहरनै ‘जोहरान जोहरान जोहरान’ भन्ने शब्दको चिच्याहट सुनिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनको पक्षमा भएका नाराबाजीहरू अहिले देखाइरहेका छन्। उनले आफ्नो पक्षमा मतदान गर्ने नागरिकलाई धन्यवाद दिँदै भनेका छन्, ‘मलाई मतदान नगर्ने पनि न्यूयोर्कवासीनै हुन्। उहाँहरूको साथ पनि आवश्यक पर्छ। यहुदी हुन् या प्यालेस्टाइन हामी सबैको हितमा काम गर्ने हो। कसैको भावनाविरुद्ध पीडित हुने होइन। आप्रवासीहरूको पक्षमा आफू सधैँ उभिने वाचा गर्छु।’

नोभेम्बर ४ मा भएको निर्वाचनमा ३४ वर्षीय मम्दानीको पक्षमा नतिजा आएको हो। उनको जित निश्चित हुने बित्तिकै न्यूयोर्कमा उनका समर्थकहरू कराउन थालेका थिए, जोहरान जोहरान भन्दै। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू स्क्रिनमा नियाल्दा त्यहाँ उपस्थित सबैजसो न्यूयोर्कवासीहरू जोहरान जोहरान भन्दै चिच्याइरहेका थिए भने उनीहरू एकअर्कालाई बधाई पनि दिइरहेका थिए।

प्राथमिक मेयरको दौड मम्दानीसँग एन्ड्रयू कुओमोले हार व्यहोरेका थिए। एन्ड्रयू पनि डेमोक्रेटिक नै हुन् दलभित्रको प्राइमरीमा उनले हारेपछि उनी स्वतन्त्र उम्मेदवारको रूपमा मम्दानीसँग निर्वाचनमा होमिएका थिए। डेमोक्रेटिकबाट दुई उम्मेदवारझैँ देखिएपछि रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा आफूले जित्नेमा ढुक्क थिए। उनी त्यहाँका पूर्व गर्भनर पनि हुन्। कुओमे भने पूर्व मेयर परिवारका अनि गर्भनर भएर महिलाको केस परेपछि राजीनामा दिएर अहिले मेयरबाट अघि बढ्ने तयारीमा आएको देखिन्छ। उनलाई अमेरिका भविष्यको राष्ट्रपतिको रूपमा नै अघि बढाइएको थियो।

‘हामीले निर्वाचित युवा मेयर पाएका छौँ। म उहाँलाई धेरै शुभकामना दिन्छु। उहाँले सबैलाई राम्रो गर्नुभयो भने हामीले पनि राम्रो गर्नेछौं। सबैको हित हुनेछ,’ स्लिवाले भने। सँगै कुओमोले पनि नागरिकको निर्णयलाई मान्नुको विकल्प छैन भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। न्यूयोर्कको पैरवी भत्काउन नहुने विषयमा भने प्रतिपक्षको धारणा छ।

तस्बिरः एएफपी।

भारतीय मूलकी अमेरिकी हुन् उनकी आमा मिरा नायर। उनको पिता कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद ममदानी हुन्। उनी कम्पालामा जन्मिएका थिए। त्यहीबेला उनको बुबाले घानाको प्रथम प्रधानमन्त्री क्वामे एनक्रुमाहको नामबाट उनको नामको बीचमा क्वामे राखेका थिए। निर्वाचित मेयरको पूरा नाम जोहरान क्वामे मम्दानी हो। उनकी आमा भारतीय-अमेरिकी फिल्म निर्देशक हुन्। उनी निर्देशनमा अब्बल र चर्चित पनि छन्।

उनले आफ्नो सुरुवाती दिनहरू कम्पालामा बिताए र त्यसपछि पाँच वर्षको उमेरमा दक्षिण अफ्रिका सरे। त्यतिबेला उनका बुबा महमूद मम्दानी केप टाउन विश्वविद्यालयमा प्राध्यापन गर्थे। उनको सुरुवाती स्कुल दक्षिण अफ्रिका भए पनि पछि न्यूयोर्क आएर अध्ययन गरेका हुन्। सात वर्षको उमेरमा जोहरान न्यूयोर्क सहर सरे र ब्रोंक्स हाई स्कुल अफ साइन्समा विद्यालयस्तरको अध्ययन गरे।

२०१४ मा उनले बोडेन कलेजबाट अफ्रिकी अध्ययनमा स्नातक गरे। अनि उनी केही काम गर्ने र समाजसेवामा पनि लागे। त्यसपछि उनले २०१८ मा मम्दानी अमेरिकी नागरिक बने। सक्रिय राजनीतिमा आउनुअघि मम्दानीले सामाजिक कार्यकर्ताको रूपमा काम गर्थे। न्यूयोर्कको क्वीन्समा फोरक्लोजर काउन्सिलरको रूपमा काम गरे। आर्थिक कठिनाइका कारण घर गुमाउने अवस्थामा पुगेका कम आय भएका परिवारहरूलाई मम्दानीले सहयोग गर्दै आएका थिए। त्यहीबाट उनले भुइँ मानिसको अवस्था बुझे।

उनी भाषा र मुलुकले मात्र फरक होइनन्, गायन पनि मिक्स गर्छन्। उनी न्यूयोर्कमा चलेकै र्‍यापर हुन्। न्यूयोर्क सिटीमा उनको विजयलाई धेरै अर्थमा महत्त्वपूर्ण मानिएको छ। उनी न्यूयोर्कमा भारतीय मुलुकी आमाको कोखबाट अफ्रिकामा जन्मिएका पहिलो मुस्लिम मेयर हुन्। पूर्व गभर्नर कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस सिल्वामाथि उनको विजय चानचुने होइन। उनीहरू राजनीतिक परिवारमा हुर्केको र न्यूयोर्कको राजनीतिमा भिजेका थिए तर निर्वाचनको परिणाम मम्दानीको पक्षमा आयो।

डेमोक्रेटिक पार्टीमा प्रगतिशील विचार राख्ने कतिपय व्यक्तिहरूले वर्षौंदेखि पर्खिरहेको नेताको रूपमा उनी स्थापित भएका छन्। युवाले मात्र होइन उनी सामाजिक सञ्जामा सहजै भेट्न सकिने नेताको रूपमा पनि परिचिति छन्।

उनको क्याम्पेनिङमा रहेका स्वयंसेवक हुन् पत्रकार लोकमणी राई। उनी अमेरिकामा रहेर पत्रकारिता गरिरहेका छन्। उनका अनुसार यो निर्वाचन अर्बपति र गरिखान बीचको थियो। गरिखानेले जितेको बताउँदै उनले भने, ‘न्यूयोर्क मात्र भनेर हुँदैन। यहाँको अवस्था जरजर नै छ।’

मम्दानीले न्यूयोर्कभित्र निःशुल्क बालस्याहार, स्वास्थ्य क्षेत्रमा सुधार, नगरको विकासमा सार्वजनिक यातायातको विस्तार र केही स्वतन्त्र बजारमा सरकारी हस्तक्षेपजस्ता मुद्दा उठाएका थिए। कामकाजी मतदातालाई पर्दै आएको आर्थिक अवस्थाबारे पनि न्यूयोर्क अघि बढ्नुपर्ने भन्ने जस्ता विषयहरूमा गम्भीररूपमा उनी प्रस्तुत भएकाले पनि धेरैले मन पराएको देखिन्छ।

अमेरिकाको ठूलो समूह र त्यो विशाल न्यूयोर्क सिटीले यस्तो उम्मेदवारलाई अस्वीकार गर्ने भन्दै आलोचकहरू कराई रहेका थिए तर मंगलबार राति उनी त्यही सहरको मेयरमा निर्वाचित भएको घोषणा भयो। उनले पूर्व गभर्नर मात्र होइन गर्भनरकै छोरा रहेका पूर्व मेयरसहितलाई हराएर आफू अब्बल भएको साबित गरेका छन्।

न्यूयोर्कमा १२ वर्ष अघिका विल डे ब्लाजिओले पनि आर्थिक र सामाजिक असमानताको विषय उठाएका थिए र मेयर चुनिएका थिए। अहिले मम्दानीले पनि त्यही शैली अपनाएको देखिन्छ।

मम्दानीसँग नजिक रहेका उनकै शैलीको धारणा राख्नेहरु न्यूयोर्कमा उदारवादी शासनको उदय भएको र त्यही अनुरुप काम हुने विश्वास पनि दिलाएका छन्। घर गुमाउन लागेकाको पक्षमा काम गर्दै जाँदा अधिकतम स्थानमा नीतिगत सुधार गर्नपर्ने देखिए पछि उनी राजनीतिमा होमिएका हुन्।

उनी २०२० मा आफ्नो पहिलो चुनावमा नै उम्मेदवार भएका थिए। उनी डेमोक्रेटिक सोसलिस्ट पार्टीको टिकटमा न्यूयोर्क एसेम्बलीको ३६ औं जिल्ला (एस्टोरिया, क्वीन्स) को लागि उम्मेदवार भए र जित पनि निकाले।

कानुनी अधिकार नभएका, अदक्ष र भाषागत समस्या रहेकाहरूलाई न्यूयोर्क सहरमा रहनु नै अभिसापझैँ देखेका उनले आप्रवासी समुदायमा बढ्दो बेरोजगारी चिर्न उनलाई सहज भने छैन। किनकी न्यूयोर्कमा रहन पाउने अस्थायी कार्ड पाएर पनि कानुनीरूपमा मात्र बस्न पाउने भएकाहरूको बेरोजगारी साँच्चै कहालीलाग्दो छ। न्यूयोर्क सिटीमा पटकपटक पुग्दा देख्न सकिन्छ ट्रेन स्टेसन, पुल, पार्क सडक छेउमा बच्चा बोकेका आमाहरू कराइरहेका हुन्छन्। उनी केही मागिरहेका होलान् अहिले पनि। काम खोजिदिने कम्पनीहरूमा पनि भिड उस्तै देखिन्छ। कतिपय चोकहरूमा त काम भए गर्थे भन्दै झोला बोकेर सोधिहिँड्नेहरू समेत देख्न सकिन्छ।

यस्ता व्यक्ति यहाँको सरकारी गणनमा पनि आउँदैनन्। किनकी सरकारले २० वर्ष अघि बनाएको गरिबीको गाइडलाइन पालना गरिरहेको छ। त्यो अझै पुनरावलोकन भएको छैन। त्यसलाई मम्दानीले चिर्न सक्नुपर्छ। त्यो हुने बित्तिकै त्यहाँको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने हुन्छ। तर धनाढ्य न्यूयोर्कवासी यसको विपक्षमा हुने हुनाले अहिलेसम्म त्यो हुन सकेको छैन। उनले यसलाई चिरेर अघि बढ्न सक्लान् कि नाइँ? भन्ने प्रश्न भने छ। धनीहरूको कमाइ घट्ने हुनाले पनि त्यसमा यसअघिकाले खासै चासो देखाएका थिएनन्।

तस्बिरः एपी।

यो सहर यति महँगो छ कि यहाँ सामान्य कमाइ गर्नेहरूले आफ्नो घर गाडी त सपनाको कुरा हो। घण्टा हान्ने अनि सेयरिङमा बस्नेहरूले त फोन, कम्प्युटर, कपडा, भाडा, इन्सुरेन्स, बिजुली, पानीलगायतको खर्चको किस्ता तिर्दैमा सकिन्छ। न्यूयोर्कमा क्रेडिट कार्डको खर्चको ३३ प्रतिशतसम्म ब्याज पर्छ।

मम्दानीका क्यापेनर लोकमणि राई पनि नेपालमा पत्रकारिताबाट न्यूयोर्क पुगेर यसरी सेयरिङमा बस्दै आएका थिए। यद्यपि पछिल्लो समय उनले आफ्नो व्यवस्थापन गरेर अहिले परिवारसहित उतै बसिरहेका छन्। उनले मम्दानीको जित एउटा खुड्किलो भए पनि चढ्न पर्ने धेरै खुड्किलाहरू रहेको बताए।

राईले घरदैलो अर्थात् त्यहाँ ‘डोर नकिङ’ गरे। फोनमार्फत् भोट माग्ने कार्य अर्थात् ‘फोन ब्याकिङ’ पनि गरे। नेपाली मूलका अमेरिकी र नेपालीको घर, रेस्टुरेन्टमा पोस्टर टाँस्ने काम पनि गरे। उनीजस्तै हजारौँ लागेर मम्दानीले जित निकाले।

सयौँ सभा र जुलुसमा सहभागी भएका उनी ‘अर्ली भोटिङ’ (मतदाताले सुविधाअनुसार भोट दिन पाउन् भनेर अमेरिकामा १० दिनअघि मतदान केन्द्र खुल्छन्, जसलाई अर्ली भोटिङ भनिन्छ) र निर्वाचनको मुख्य दिनमा मतदान केन्द्र वरपर बसेर पर्चा बाँड्ने काम उनले गरेका थिए। उनीजस्ता ९० हजार थिए। प्राथमिक निर्वाचनमा मम्दानीको प्रचारप्रसारमा खटिएका ४० नेपाली स्वयंसेवकमध्ये उनी एक थिए। करिब २५ सय मात्र नेपाली त्यहाँ भोट दिने योग्य रहेको र उनीहरूलाई पनि मनाउन स्वयंसेवक लागेका थिए। यसरी जितेर आएका व्यक्ति पक्कै पनि भुइँ मान्छेका लागि काम गर्छन् भन्ने उनको बुझाइ छ।

अमेरिकी राजनीतिक इतिहासमा विरलै देखिने ऐतिहासिक राजनीतिक मोडको रूपमा उनले यसलाई अर्थ्याएका छन्। डेमोक्रेटिक पार्टीभित्रको ‘लिबरल डेमोक्रेट’ र ‘सेन्टर टु राइट डेमोक्रेट’ वर्चस्ववादलाई मम्दानीले भुइँचालो नै ल्याएको बताउँछन्। डेमोक्रेटिक सोसालिजम् उनको परिभाषा हो। अर्बपति र राजनीतिको पुरातन सम्बन्धलाई ‘जनमुखी र श्रमजीवी केन्द्रित’ले जरा नै हल्लाइदिएको अवस्था रहेको उनको धारणा छ। उनलाई अहिले अमेरिकामा नयाँँ पुस्ताको नायकको रूपमा प्रचार गरिँदैछ। विश्लेषक एवं राजनीतिक शास्त्रीहरूले पनि त्यही भनिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast