काठमाडौँ- पछिल्लो समय दक्षिण-पूर्वी एसियामा चलिरहेका युवा आन्दोलनलाई ‘क्षणिक असन्तोष वा सडककेन्द्रित राजनीतिक गतिविधि’ का रूपमा मात्र हेर्न नहुने प्राध्यापक तथा राजनीतिक विश्लेषकहरूले सुझाव दिएका छन्। उनीहरूले यस्ता आन्दोलनलाई ‘क्षणिक असन्तोष’का रूपमा नभई ‘लोकतान्त्रिक रूपान्तरणको निर्णायक चरण’ का रूपमा हेर्नपर्ने बताएका छन्।
उनीहरूले युवा आन्दोलनलाई शासन सञ्चालन, संस्थागत रूपान्तरण र लोकतान्त्रिक स्थायित्व दिन सक्छन् कि सक्दैनन् भन्नेमा प्रश्न रहेको बताएका छन्। काठमाडौँमा शनिबार आयोजित ‘युथ मुभमेन्ट इन साउथ एण्ड साउथ-इस्ट एशिया’ पुस्तक लोकार्पण कार्यक्रममा सहभागी राजनीतिक विश्लेषक, अनुसन्धानकर्ता, प्राध्यापक, अभियान्ता र पत्रकारहरूले शासनमा युवा भन्दै यस्ता धारणा राखेका हुन्। कार्यक्रममा नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, इन्डोनेसिया लगायतका देशमा देखिएका युवा आन्दोलनहरू केवल विरोधको राजनीतिमा सीमित नभई सुशासन, उत्तरदायित्व र नयाँ राजनीतिक विकल्पको खोजीको रुपमा रहेकाे उनीहरूले बताए।

दक्षिण एशियाली थिंक ट्याङ्कहरूको सञ्जाल कोसाटले जर्मन राजनीतिक संस्था कासको सहयोगमा यो पुस्तक प्रकाशित गरेको हो। कोसाटका संयोजक तथा दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले पोस्ट-कोभिड आर्थिक संकट, बेरोजगारी र अवसरको अभावले क्षेत्रका युवालाई आन्दोलनतर्फ धकेलेको बताए।
दक्षिण एशियाका धेरै देशमा एउटै राजनीतिक दल र अनुहार लामो समयदेखि सत्तामा रहँदा पुस्तान्तरणको माग तीव्र बन्दै गएको उनको भनाइ थियो। नेपालको सन्दर्भमा उनले निरन्तर राजनीतिक अस्थिरताले युवामा निराशा बढाएको उल्लेख गर्दै ‘बारम्बार उही अनुहार दोहोरिने राजनीतिलाई युवाहरूले ‘रिले रेस’ जस्तो ठान्न थालेका छन्’ भने।
कसले के भने?
दक्षिण एशिया फोरसाइट नेटवर्कका कार्यकारी निर्देशक तथा वरिष्ठ शोधकर्ता असङ्गा अबेयागुनासेकेराले श्रीलंका, नेपाल र बंगलादेशका आन्दोलनहरूले युवाहरू नयाँ राजनीतिक विकल्प र उत्तरदायी शासनको खोजीमा रहेको स्पष्ट पारेको बताए।
उनले श्रीलंकाको आर्थिक तथा राजनीतिक संकटमाथि गरिएको अनुसन्धान उल्लेख गर्दै ‘सरकारहरू आफ्नै कमजोरीका कारण संकटमा परेका छन्’ भन्ने धारणा जनस्तरमा बलियो बन्दै गएको बताए। ‘श्रीलंकामा मल अभावबाट सुरु भएको संकट ऊर्जा संकटमा बदलियो र अन्ततः व्यापक जनआन्दोलनमा परिणत भयो,’ साउथ एशिया फोरसाइट नेटवर्क, वाशिंगटनका कार्यकारी निर्देशक समेत रहेका असङ्गाले बताए।

बंगलादेशको उदाहरण दिँदै उनले सरकारहरूले सम्भावित असन्तोषलाई बेवास्ता गर्दा ठूलो राजनीतिक विस्फोट हुने गरेको बताए। ‘कमजोर संस्थागत संरचना, भ्रष्टाचार, राज्यसत्ताको राजनीतिकरण र शक्तिशाली समूहद्वारा राज्य कब्जाजस्ता कारणले जनआक्रोश बढेको हो,’ उनले उल्लेख गरे।
उनका अनुसार युवाहरूको मुख्य असन्तोष भ्रष्टाचार र अवसरको असमान वितरणसँग जोडिएको छ। ‘१० जना युवासँग कुरा गर्दा आठ जनाले भ्रष्टाचारलाई आन्दोलनको प्रमुख कारण भने,’ उनले बताए। उनले आन्दोलनहरूलाई हिंसात्मकभन्दा बढी परिवर्तनमुखी भएको निष्कर्ष सुनाउँदै ‘जनताको अपेक्षा अत्यन्त उच्च छ। उनीहरू छिटो परिवर्तन चाहन्छन्, तर सुधार प्रक्रियामा समय लाग्छ’ भने।
जवाहरलाल नेहरू विश्वविद्यालयका दक्षिण एशिया विभाग प्रमुख प्राध्यापक संजय भारद्वाजले दक्षिण एशिया र दक्षिण-पूर्वी एशियामा युवाहरूले परम्परागत राजनीतिक संरचनालाई चुनौती दिँदै नयाँ यथार्थवादी दृष्टिकोण विकास गरेको बताए।
‘यो पुस्ता चीन समर्थक, अमेरिका समर्थक वा भारत समर्थक राजनीतिमा विश्वास गर्दैन। उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारी र समान अवसर खोजिरहेका छन्,’ उनले भने। उनले पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपालको तुलना गर्दै यी मुलुकहरूमा शासन परिवर्तनका फरक-फरक मोडेल देखिएको उल्लेख गरे।

‘पाकिस्तानमा युवा आन्दोलन निर्णायक थिएन, तर श्रीलंका, बंगलादेश र नेपालमा युवाहरू परिवर्तनका मुख्य शक्ति बने,’ उनले बताए। उनले ‘डोमिनेन्ट पार्टी सिस्टम’ र ‘डेमोक्रेटिक स्लाइडिङ’ सिद्धान्तमार्फत क्षेत्रीय राजनीतिलाई व्याख्या गर्दै एउटै दलले लामो समय संस्थामाथि नियन्त्रण जमाउँदा लोकतान्त्रिक संस्थाहरू कमजोर बन्ने बताए।
नेपालबारे बोल्दै उनले भने, ‘२००६ पछि जनताले नयाँ नेतृत्वमाथि भरोसा गरे, तर अपेक्षाअनुसार परिणाम पाएनन्। त्यसैले अहिले पुस्तान्तरणीय राजनीति बलियो बन्दै गएको छ।’
त्रिभुवन विश्वविद्यालयका डा. पिताम्बर भण्डारीले दक्षिण एशियाली आन्दोलन बुझ्न राजनीतिक सुशासन, भू-राजनीतिक प्रभाव र मानव अधिकारलाई सँगसँगै हेर्नुपर्ने बताए। ‘युवापन उमेर मात्र होइन, विचार र चेतनाको प्रश्न पनि हो,’ उनले भने।
उनले भ्रष्टाचारलाई ‘मनोवैज्ञानिक शत्रु-छवि’ को रूपमा निर्माण गरिएको धारणा प्रस्तुत गर्दै त्यसले आन्दोलनलाई थप तीव्र बनाएको बताए। ‘शक्तिको न्यायपूर्ण बाँडफाँड बिना स्थायित्व सम्भव हुँदैन,’ उनले चेतावनी दिए। ‘आन्दोलनले पुरानो नेतृत्व बदल्न सक्छ, तर नागरिक स्पेस सुरक्षित राख्न नसके नयाँ संकट दोहोरिन सक्छ।’

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक छत्र कार्कीले डिजिटल युगले आन्दोलनको स्वरूप नै बदलिदिएको विश्लेषण गरे। ‘डिजिटल युगले सूचनालाई लोकतान्त्रिक बनाएको छ। अब ज्ञान वरिष्ठताको दशकौँ लामो संरचनाभित्र सीमित छैन,’ उनले भने। उनका अनुसार जेन-जेड पुस्ता छिटो राजनीतिक विश्लेषण गर्न र आन्दोलन संगठित गर्न सक्षम छ।
‘आजका युवाहरू कसैको अनुमति कुरेर बस्दैनन्,’ उनले उल्लेख गरे। उनले आन्दोलनपछि वैकल्पिक राजनीतिक संरचना निर्माणको चुनौती अझै बाँकी रहेको बताउँदै ‘अब मुख्य प्रश्न युवाले आन्दोलन गर्न सक्छन् कि शासन पनि चलाउन सक्छन् भन्ने हो’ भने। उनले दक्षिण तथा दक्षिण-पूर्वी एशियामा देखिएको युवा ऊर्जालाई ‘क्षणिक आँधी नभई पुस्तागत ज्वारभाटा’ भने।
पोलिटिकल डायलग एशिया प्रोग्राम, कास, सिंगापुरका निर्देशक एन्ड्रियास क्लिनले नेपालका युवाहरूको लोकतान्त्रिक सक्रियताको प्रशंसा गर्दै ‘युवाहरू भोलिका मात्र होइन, आजकै नेता हुन्’ भने। उनले युवामाझ बढ्दो राजनीतिक चासोलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे। चिलीका राष्ट्रपति गाब्रिएल बोरिकको उदाहरण दिँदै उनले ‘परिवर्तनको वाचा गर्नु एउटा कुरा हो, त्यसलाई कार्यान्वयन गर्नु अर्को चुनौती हो’ भने।

‘स्ट्रिट टु स्ट्रक्चर’ शीर्षकका लेखक जनक पोखरेलले नेपाल नयाँ राजनीतिक युगमा प्रवेश गरेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई पुस्तान्तरणीय राजनीतिक परिवर्तनको संकेतका रूपमा व्याख्या गर्दै उनले ‘युवाहरू सक्रिय सामाजिक-राजनीतिक पात्रका रूपमा अघि बढेका छन्, तर हाम्रो काम अझै सकिएको छैन’ भने।
‘स्ट्रिट टु स्टेट’की लेखक श्रुति केसीले युवा आन्दोलनको लैंगिक आयाम पर्याप्त छलफलमा नआएको गुनासो गरिन्। ‘नेपाली महिलाहरू आन्दोलनमा अग्रपंक्तिमा देखिन्छन्, तर शक्ति बाँडफाँड हुने बेला फेरि बाहिर पारिन्छन्,’ उनले भनिन्।
पत्रकार कोषराज कोइरालाले दक्षिण तथा दक्षिण-पूर्वी एशियामा युवा आन्दोलनहरू अब राजनीतिक परिधिको केन्द्रमा पुगिसकेको बताए। नेपालमा जेन-जी आन्दोलनले भ्रष्टाचार, सुशासन र उत्तरदायित्वप्रति युवाको असन्तुष्टि स्पष्ट पारेको उल्लेख गर्दै उनले ‘यो लोकतन्त्र अस्वीकार गर्नु होइन, बरु लोकतन्त्रलाई अझ प्रभावकारी बनाउने माग हो’ भने। अर्का पत्रकार परशुराम काफ्लेले पुस्तकलाई समकालीन दक्षिण एशियाली राजनीति बुझ्न अत्यन्त महत्वपूर्ण दस्तावेजको रूपमा व्याख्या गरे।
कार्यक्रममा सहभागी युवाहरूले पुस्तकले डिजिटल आन्दोलन, लोकतान्त्रिक कमजोरी र भ्रष्टाचारबारे महत्वपूर्ण विश्लेषण गरेको भए पनि पश्चिमी आर्थिक प्रभावको भूमिकाबारे पर्याप्त प्रश्न नउठाएको टिप्पणी गरे। उनीहरूले दक्षिण तथा दक्षिण-पूर्वी एशियामा बाह्य आर्थिक प्रवाह वास्तवमा सहयोग थियो कि निर्भरता सिर्जना गर्ने माध्यम भन्ने प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने धारणा राखे।






