
काठमाडौँ- नेपाल शिक्षक महासंघले अधिवेशन/महाधिवेशन कार्यविधि, २०८० अनुसार पदसोपान भए पनि नेपाल राष्ट्रिय शिक्षक संगठन (नेराशि) असहमति जनाई सहभागी नभएका जिल्लामा विवाद समाधानसहित प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।
महासंघका महासचिव तुलाबहादुर थापाको संयोजकत्वमा उपमहासचिव अर्थ मदनराज जोशी, शिक्षक संघका महासचिव ज्ञानेन्द्रबहादुर रावल, नेराशि संगठनका महासचिव प्रकाश खनाल र एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपमहासचिव झम्कप्रसाद चौलागाई सदस्य रहेको समिति बनाइएको महासंघले जनाएको छ।
यसअघि २०८१ माघ २२ गते बसेको मूल वार्ता समितिको निर्णयलाई महासंघ राष्ट्रिय समितिले अनुमोदन गरिसकेको र त्यसकै आधारमा आगामी २०८२ असोज मसान्तभित्र जिल्ला समिति घोषणा सम्पन्न गर्न निर्देशन दिइएको हो।
महासंघले नेराशि संगठन सहभागी नभएका झापा, धनुषा, रौतहट, चितवन, गोरखा, गुल्मी, अर्घाखाँची, दाङ र कैलालीसहितका जिल्लामा सहमतिको आधारमा समिति घोषणा गर्न आग्रह गरेको छ।
यस्तै, समिति गठन हुन बाँकी रहेका ताप्लेजुङ, सप्तरी, दोलखा, इलाम, सुनसरी, सिराहा, सर्लाही, ललितपुर, ओखलढुंगा, बारा, लमजुङ, बागलुङ, प्युठान, डोल्पा, बाजुरा, बर्दिया, हुम्ला, दार्चुला, काभ्रे, नुवाकोट, पर्वत, स्याङजा, बैतडी, मकवानपुर र डडेलधुरामा पनि असोज मसान्तभित्र सहमति वा विधानअनुसार प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।
महासंघले जिल्ला समिति गठन भइसकेका जिल्लाहरूलाई भने अविलम्ब विधानअनुसार जिल्ला परिषद् सम्पन्न गर्न आग्रह गरेको छ।