शिक्षामन्त्रीलाई सहमतिका लागि समितिले दिएको ५ दिन सकियो, सहमति भएन, बैठक नै अनिश्चित

हिमाल प्रेस २९ असार २०८२ ११:०८
3.9k
SHARES
शिक्षामन्त्रीलाई सहमतिका लागि समितिले दिएको ५ दिन सकियो, सहमति भएन, बैठक नै अनिश्चित शिक्षामन्त्री रघुजी पन्त। फाइल तस्बिर।

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित अनिश्चित बनेको छ। विधेयकमा विवादित विषयहरूमा सहमति जुट्न नसक्दा विधेयक पारित अनिश्चित बनेको हो।

विधेयकमा शिक्षकहरूको बढुवा, अस्थायी शिक्षकको व्यवस्थापन लगायतका विषयहरूमा अझै सहमति जुट्न नसकेको स्रोतले जनाएको छ।

समितिका सभापति अम्मरबहादुर थापाले असार २२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई विवादित बुँदाहरूमा सहमति जुटाउन ५ दिनको समय दिएका थिए। तर त्यो अवधि सकिए पनि सहमति जुट्न नसकेको सभापति थापाले बताएका छन्।

‘सरकारलाई सहमति जुटाउन ५ दिनको समय दिएको थिएँ, तर त्यो सकियो र सहमति भएन। बैठक कहिले बस्ने भन्ने पनि अहिले निश्चित छैन,’ सभापति थापाले हिमालप्रेससँग भने।

उनका अनुसार राजनीतिक संयन्त्रबाट सहमति भए मात्र समिति बैठक बोलाइनेछ। तर सहमतिका प्रयास अझै जारी रहेका कारण बैठकको मिति टुंगो लाग्न सकेको छैन। साथै, समिति सदस्यहरू जिल्लातिर भएकाले सहमति भएपछि उनीहरूलाई काठमाडौँ बोलाउने तयारी रहेको थापाले जानकारी दिए।

यसअघि, गत वैशाख १७ गते सरकारले नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast