लोकतन्त्रको जगमा अधिनायकवादको छाया

लोकतन्त्र हाम्रो धर्म हो भन्ने काँग्रेसको नेतृत्व नै आफ्नो स्वार्थ पूरा गर्नका लागि जस्तोसुकै गलत सम्झौता गर्न उद्धत देखिएका छन्।

धर्मराज शाही १२ असार २०८२ १८:४६
382
SHARES
लोकतन्त्रको जगमा अधिनायकवादको छाया स्केच : एआईको सहायतामा

नेपाली काँग्रेस – नामै सुन्दा गर्व लाग्ने पार्टी। यसको इतिहास र तिनका नेतृत्वकर्तालाई सम्झिँदा पनि गमक्क छाती फुलाउन सक्ने इतिहास। देशमा प्रजातन्त्र ल्याउने अग्रगामी शक्तिको प्रतीक। जनताको सार्वभौमसत्ताका लागि लामो समय लडेको शक्ति। राणा, राजा र हिंसक उग्रबादी शक्तिहरुलाई दाम्लोमा बाँधेर देशलाई गणतन्त्रमा ‘सेफ ल्यान्डिंग’ गराउने आम नागरिकको भरोषायोग्य पार्टी। संविधानसभामा बहुमत पाएर पनि जनता प्रति उत्तरदायी हुन नरुचाउने कम्युनिष्ट पार्टीअगाडि पुनः दोस्रो संविधानसभाको निर्वाचनमार्फत पहिलो शक्ति भई शुसील कोइरालाको नेतृत्वमा जनताले लेखेकाे संविधान जारी गर्ने पार्टी।

बीपी, सुवर्णशमशेर, गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद, सुशीललगायतका कैयौँ नेताहरूको सपना थियो कि स्वतन्त्र नागरिक, जवाफदेही नेतृत्व, संस्थागत लोकतन्त्र, शुसासन, समृद्ध नागरिकसहितको मुलुक। तर आज ति सपनाहरु हाम्रा वर्तमान नेतृत्वको निजी घरभित्रका बनेका छन, बाँकी कार्यकर्ता भने सपनै देख्न नपाउने अवस्थामा पुगेका छन्। हिजो हाम्रा नेतृत्वहरु पार्टीभन्दा माथि मुलुकलाई राखेर आमनागरिकको पक्षमा निर्णय लिनुहुन्थ्यो। तर अहिलेका नेतृत्व ‘जनता जनार्दन हुन पार्टी घर हो घरभित्रको तीनपुस्ते मात्रै मेरो भर हो’ भन्ने मानसिकताका साथ तीव्र गतिमा छलाङ्ग मारेको देखिन्छ।

आम नागरिकले सार्बभौम अधिकारका खातिर आफ्नो स्वर्णिमकाल व्यतित गरेको पार्टी, नेपालका हरेक नागरिकले आफ्नो भरोसाको केन्द्र मानेर आजका दिनसम्म लामो इतिहास बोकेर यहाँ सम्म पुगेको पार्टी आज वर्तमान नेतृत्वको व्यक्तिवादी चरित्र र सत्ता र शक्तिका लागि जस्तोसुकै सिद्धान्तहीन सम्झौता गर्ने पदलोभी स्वभावका कारण जनतामाझ विश्वासको संकट पैदा भएको छ।

अझ सबैभन्दा अच्चम त के छ भने अहिले आफ्नै पार्टीभित्रको सहकर्मीभन्दा फरक पार्टीको नेतासँग मन मुटु मिल्न थालेको छ। आफ्नो गुटबाहेकको भन्दा त फरक पार्टीकै मान्छे नै सही भन्ने छद्मभेषी चरित्र काँग्रेसी नेताहरूमा अंकुरण हुन थालेको छ। अहिले पार्टीभित्र कुनै विधि, प्रक्रियालाई मानिराख्नु पर्ने जरुरत नेतृत्वलाई छैन। पार्टीको कुनै पनि निर्णय सामुहिकताका आधारमा गरिनुपर्ने परिपाटीको अन्त्य भएको छ। काँग्रेसको विधी र विधानभन्दा नेताको मन ठूलो भएको छ। समग्र संस्थाभन्दा अहिले गुट ठूलो भएको छ। नागरिकको लोकतन्त्रभन्दा नेताहरूको आफन्तको लोभ ठूलो भएको छ।

लोकतन्त्र हाम्रो धर्म हो भन्नेहरूले नै आफ्नो स्वार्थ पूरा गर्नका लागि जस्तोसुकै गलत सम्झौता गर्न उद्धत देखिएका छन्। हिजो लोकतान्त्रिक मुल्य र मान्यताका लागि लडेका हौँ र लडनेछौँ भन्नेहरु अहिले नेतृत्वमा पुग्दै गर्दा ‘मन मिले मेला हजुर नमिले झमेला’ भन्ने उक्तिलाई आत्मसाथ गरिरहनु भएको छ।

लोकतान्त्रिकअगुवाको अलोकतान्त्रिक भातृ संस्था 

मुलुकभर लोकशाहीको माला जप्ने काँग्रेस नेताहरू अहिले आफ्नै घरभित्रका भातृ संस्थामा चुनावभन्दा बढी मनोनयन गर्ने प्रवृत्तिमा रमेका छन्। पार्टीको प्रमुख भातृ संस्था नेविसंघ, तरुण दल र महिला संघमा अधिवेशन नभएको दशक हुनै लागि सक्यो। तर पार्टी नेतृत्व आफ्नै भातृ संगठनलाई चलयमान बनाउन खोज्दैन भने हामी लोकतान्त्रिक मुल्य बोक्ने पार्टी हौँ भनेर कुन मुखले जनतामाझ जाने?

बरु अधिनायकबादी भनिएका कम्युनिष्ट पार्टीहरुले आफ्ना भातृ संस्थाहरुलाई नियमित रुपमा अद्यावधिक गरेर नेतृत्व स्थापित गरिरहँदा हामी भने आफ्ना वरिपरिका नजिकका असक्षम व्यक्तिहरूको झुण्डलाई जोडेर भजनमण्डली बनाउने प्रयत्न गरिरहेका छौँ। यो प्रक्रिया अघि बढेको लामै भइसकेको छ।

नेपाली काँग्रेसका वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा नेविसंघको केन्द्रीय कमिटिको सभापति हुनुभएको र अर्का महामन्त्री गगन थापा विगतमा काँग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय महामन्त्रीसम्म भएरै नै अहिले मुल पार्टीको पदाधिकारी हुनुहुन्छ। उहाँहरू आफैँले नेतृत्व गरेको संस्थाको हविगत आज भेन्टिलेटरमा रहेको बिरामी जस्तो हुदाँ पनि उहाँहरूले सो सम्बन्धमा कति पनि चासो नदिनुलाई अर्थपुर्ण नै छ।

भातृ संस्थालाई मनोनीतको नाममा आफ्ना कार्यकर्तालाई अवसरवादी दास बनाउन प्रयोग गरिने संस्था जस्तो बनाएर पार्टीमा लोकतान्त्रिक चरित्र बोक्ने नेतृत्वको बिरुवा कसरी उम्रिन सक्छ र? कि अब तपाईँहरु पार्टीको नेतृत्वमा पुगिसकेपछि नयाँ पुस्ताको नेतृत्वलाई पार्टी जिम्मा लगाउन नपाउँदै पार्टीको अस्तित्व पनि तपाईँहरू सँगसँगै मेट्ने प्रपञ्चमा हुनुहुन्छ ? होइन भने नवयुगका नयाँ नेतृत्व उत्पादन गर्ने प्रमुख भातृ संस्थालाई आज दास उत्पादन गर्ने कारखानाका रुपमा विकसित गर्ने षड्यन्त्र अब हामी र हाम्रो पुस्ताका लागि स्वीकार्य छैन।

पार्टी होइन, गुटको नेतामा रम्दा

काँग्रेसभित्र अहिले सिंगो पार्टीभन्दा पनि बलियो गुटहरु संस्थागत भएर पराकाष्ठाको चरमचुलीमा पुगेका छन्। धेरै बहादुरहरुका नाममा छुट्टाछुट्टै खिचडी पाक्ने भान्साहरु छन्। पार्टीभित्र आज स्पष्ट देखिने गरी गुटहरु छन् तर विचार छैन, सैद्धान्तिक रुपमा पार्टी स्खलित भएको छ। पार्टीभित्र आगामी रणनीति र कुनै स्पष्ट कार्ययोजनाहरु छैन। पार्टीभित्र आफ्ना गुट र आफन्तहरुलाई छानी-छानी पदीय भागबण्डा गर्ने कारखाना झैँ लाग्दैछ। विनास्वार्थ पार्टीका लागि आफ्नो जीवन त्याग गरेका फरक गुटका र गुटविहीन इमान्दार, नैतिकवान नेता कार्यकर्ताहरुका लागि पार्टीभित्रको जिम्मेवारी ‘आकाशको फल आँखा तरि मर’ भन्ने उक्ति चरितार्थ भएको छ।

राज्यका नीति बनाउने ठूला नेताहरु अहिले गुटका बैठकमा व्यस्त छन्। गुटको नीति पार्टीको नीति भन्दा पनि माथि छ। यस्तो लाग्छ, काँग्रेसको मूल विधान त आज किताबमा मात्रै बाँकी छ, व्यवहारमा होइन। विधि र विधानभन्दा माथि, सामूहिक विचारभन्दा माथि, पार्टीको पूर्ण केन्द्रीय समितिभन्दा माथि अझ पार्टीलाई नितिगत रुपमा दिशानिर्देश गर्ने महासमिति बैठकभन्दा माथि पार्टीका केही नेता र पदाधिकारीहरुको मुड रहेको छ। उहाँहरुले चाहाना राख्ने बितिकै पार्टीको विधी विधान, मुल्य, आदर्श र समर्थकको भावना क्षण भरमै परालको आगो बलेर बन्ने खरानी झैँ हुन कति समय लाग्दैन।

अझ अर्को झर्को लाग्ने कुरा त के भने पार्टीको बागडोर समाहल्छु भनेर प्रतिबद्धता गरी पार्टीको शीर्ष पदमा पुगेका नेतृत्वहरु नै पार्टीभन्दा बढी गुट मै रमाएको देख्दा उदेक लागेर आउँछ अनि भन्न मन लाग्छ ‘धर्मको भाषण अधर्मको शासन’।

विधान त अब नेपाली काँग्रेस पार्टीको १५ औँ महाधिवेशन हुन ५ महिना पनि बाँकी रहेको छैन्। २०८२ मंसिरभित्र काँग्रेस पार्टीमा र देशमा कुनै आपतविपत आई नलागे महाधिबेशन सम्पन्न हुनुपर्ने बैधानिक व्यव्स्था छ तर अहिलेसम्म महाधिवेशनको प्रारम्भिक चरणको काम पार्टीको क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल वितरणको प्रक्रिया पनि सुरु भएको छैन।

कताकति क्रियाशिलको काम भने भएको देखिन्छ। अन्य काम त केही भएकै छैन। यसमा पनि पार्टीका जिम्मेवार नेतृत्वहरु पार्टीका लागि होइन आफ्नो गुटका लागि हिसाब किताब गरेर जोखना हेर्ने काम गर्दै हुनुहुन्छ जो नेपाली काँग्रेस र लोकतन्त्रका लागि अत्यन्तै दुर्भाग्यपुर्ण रहेको छ। जसले गर्दा गाउँतहमा रहेर काम गर्ने होनाहार युवाहरूमा दलबारे नैराश्यता छ। उनीहरू आफैँ पनि त्यति सक्रिय हुन खोजेकाे पाइँदैन्। केही गर्न थाल्यो कि माथिको नेताको हप्कि खानुपर्ने अवस्था छ।

अन्त्यमा,

नेपाली काँग्रेसको लोकतान्त्रिक अनुहारलाई अझै चिन्न, भरोषा गर्न र विश्वासको बीउ रोप्न सकिन्छ भन्ने केही आशाका किरणहरु पनि बाँकी नै रहेका छन्। देशकै ठूलो लोकतान्त्रिक पार्टी भईकन पनि नेतृत्वको निरंकुश शैली र  अधिनायकवादी सोचका कारण कहिँकतै हामी र हाम्रो पार्टीमाथि गम्भीर प्रश्न उठ्दै गर्दा, पार्टीको शीर्ष नेतृत्वले सत्ता र शक्तिका लागि सिद्धान्तविहीन सम्झौता गर्न लाग्दा पनि कोही बोल्न विरोध गर्न सकिरहेका छैनन्। पार्टीका आफ्ना महत्वपुर्ण अंगहरुलाई खल्तीमा बोक्ने रुमाल बनाईरहँदा, मुल्य मान्यता र संस्कारको राजनीतिलाई तिलान्जली दिईरहेका बेला काँग्रेसभित्रकै शान्त, शालिन र प्रतिपक्ष नेताको छवि बनाइरहनुभएको छ, डा‍. शेखर कोइरालाले।

पार्टीप्रतिको स्पष्ट र ओजनदार उनको आवाजले कहिँकतै अझै पनि काँग्रेसको भविष्यलाई सही बाटोमा हिँडाउन सकिन्छ कि भनेर आशा गर्ने ठाउँ भने रहेको छ। पार्टीभित्रको अधिनायकवादका विरुद्ध कसैले चु पनि गर्न नसकेको बेला निरन्तर खबरदारी गरेर डा. शेखरले। पार्टी भित्रका निष्ठावान, इमान्दार नेता कार्यकर्ताहरुको दिलमा आशाको सानो भए पनि दियो बाल्न सफल हुनुभएको छ।

यद्यपि यहाँ पार्टीलाई विधानतः मात्र होइन वय्वहारिक रुपमा अधिनायकवादको छाँयाबाट मुक्त गरी लोकतन्त्र स्वास फेर्ने बनाउने अनुहारहरू अहिले ओझेलमा परेको स्थिति छ। जिम्मेवार कार्यकर्ताहरुले पनि नेतृत्वको गलत कदमको टुलुटुलु हेरेर साक्षी बस्नु भनेको अपराध गर्नु हो। अब पार्टीका हरेक नेताहरूलाई प्रश्न गर्नुपर्नेछ कि पार्टीको अधिवेशन किन र कसका लागि रोकिँदैछ? भातृ संस्थाको अधिवेशन किन रोकिएको? के काँग्रेसलाई लोकतान्त्रिक पार्टी भन्ने अधिकार छ त? पार्टीमा मुल्य र मान्यताको राजनीति कहिल्ये स्थापित हुन्छ?

पार्टीभित्र अधिनायकवादको छायाले नेताहरूको आँखा अगाडि मात्र होइन आखाँ पछाडि पनि जबरजस्त छोपिरहँदा अब जरुरी छ, काँग्रेसभित्र लोकतन्त्र फर्काउने आन्दोलन गर्न। त्यो पनि निर्णायक हस्तक्षेपसहितको आन्दोलन। हिजो आम नागरिकले प्रजातन्त्र/लोकतन्त्रका निम्ति काँग्रेस रोजेका थिए। तर अहिले काँग्रेस प्रजातन्त्र/लोकतन्त्र बिर्सिंदैछ। काँग्रेसभित्रका वर्तमान नेतृत्वको अधिनायकवादी शैलीको दाहसंस्कार र आन्तरिक लोकतन्त्रको पुनर्स्थापना नभएसम्म देशमा काँग्रेसको पुनर्स्थापना सम्भव छैन। काँग्रेसको घरमा फेरि एउटा जनआन्दोलन आवश्यक छ। तर यसपटक यो आन्दोलन सडकमा होइन, पार्टी भित्रै हुनेछ, १५ औँ महाधिवेशनमा हुनेछ। काँग्रेसको पुनर्जीवनका लागि हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast