कृषि विज्ञता र राजनीतिबीच : कृषि वैज्ञानिक डा. सुजाताको संसद्‌ यात्रा

महिला एवं साना किसान सशक्तीकरण र आधुनिकरणबाट कृषिमा आत्मनिर्भरता

हिमाल प्रेस १९ वैशाख २०८३ ७:३२ | Saturday, May 2, 2026
10
SHARES
कृषि विज्ञता र राजनीतिबीच : कृषि वैज्ञानिक डा. सुजाताको संसद्‌ यात्रा

वैदेशिक रोजगारीको लहरले गाउँका युवा बिदेसिँदा कृषिकार्य महिलाको भरमा चलेको छ। कतिपय खेतीयोग्य जमिन बाँझो हुन थालेका छन्। जलवायु परिवर्तनका कारण बालीनाली पनि निर्वाहमुखीझैँ छन्। बजारको असमानताले साना किसानको पसिना निरर्थक बन्दै गएको छ।

यस्तो अन्धकारपूर्ण परिवेशमा सरकारी नीति प्रायः कागजमा सीमित छन्। प्रमाणमा आधारित ज्ञान, ग्रामीण वास्तविकता बुझेको र दिगो परिवर्तनको सपना बोकेको नेतृत्वको आवश्यकता झन् तीव्र बनेको छ। मुलुकमा परिवर्तन भएको छ। युवा नेतृत्वमा पुगेका छन्। यहाँ अवसर नपाएर विदेश पुगेका र उच्चशिक्षा लिएका हुन् या उच्चशिक्षापछि नेपालमा काम गरिरहेकाहरूलाई नागरिकले पत्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ निर्वाचित डा‍‌. सुजाता तामाङ यही आवश्यकताको एउटा प्रतीक हुन्। उनको जीवनयात्रा जति संघषर्णपूर्ण छ त्यति नै रोचक छ। पहाडको माटोमा हुर्किएकी उनलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयको ज्ञान, अनुसन्धानको गहिराइसँग नीतिगत संघर्ष र किसानको पसिनासँग संसदीय आवाजलाई एकाकार गरेको छ।

तामाङले युनिभर्सिटी अफ न्यु साउथ वेल्स, सिड्नी, अस्ट्रेलियाको सामाजिक विज्ञान संकायबाट ‘कृषि कार्यको नारीकरण र यसको ग्रामीण नेपालको खाद्य सुरक्षामा प्रभाव’ विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेकी छन्। यसअघि उनले सोही विश्वविद्यालयबाट आदिवासी अध्ययनमा स्नातकोत्तर गरेकी छन्। उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरिसकेकी थिइन्।

रास्वपाको सांसद हुनअघिसम्म मुख्यतः प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको भूमिकामा केन्द्रित रहेर अनुसन्धानमा व्यस्त थिइन। उनले कृषि क्षेत्रमा महिला सहभागिता, महिलाको आदिवासी तथा पारिस्थितिक ज्ञान, महिला र पारिस्थितिकी, एग्रोइकोलोजी प्रवर्द्धन, ग्रामीण जीविकोपार्जन तथा खाद्य सुरक्षासँग सम्बन्धित विषयमा केन्द्रित रहेर अध्ययन गरिरहेकी थिइन्। तामाङ फरेस्ट एक्सन नेपालमा कार्यक्रम संयोजकका रूपमा काम गर्दै यसमा अनुसन्धानमा पनि सक्रिय थिइन।

डा. सुजतालाई राजनीतिमा खासै चासो पनि थिएन। उनले सांसद ताक्ने त कुरै भएन। ‘त्यो बाटो म जस्ताको लागि होइन होला झै लाग्थ्यो,’ उनले भनिन,  ‘राजनीतिमा होमिएका र तलदेखि नै राजनीतिमा खारिदै आएकाको लागि मात्र हो भन्ने मेरो बुझाई थियो। अभ्यासहरु पनि यस्तै देखेका थियौं नि। किनकी अधिक सांसदहरु राजनैतिक पुष्ठभूमिबाट आउनुहुन्थ्यो।

उनको  दलीय राजनीतिमा संलग्नता पनि थिएन भन्दै भनिन, ‘म संसद्‌मा  पुग्छु वा जान्छु भन्ने कुनै अपेक्षा र सोच कहिँ कतै थिएन।’ उनी आफ्नै कर्ममा रमेकी थिइन। रास्वपाले कृषि अनुसन्धान विज्ञको रुपमा आदावासी जनजातितर्फ समानुपातिक सूचीमा राखिदियो। त्यहीँ सूची नै उनलाई राजनीतिमा धकेल्ने विन्दु बन्यो र संसद्को ढोका खोलिदियो।

डा. सुजाताले दलगत राजनीति नगरे पनि नीतिगत अनुसन्धान र अभ्यासमा रम्दै गर्दा  यसका लागि पनि राजनीति महत्वपूर्ण पाटो हो भन्नेमा उनी बेला बेलामा घोत्लिए पनि यो अवस्थामा राजनीतिमा जाने सोचमा थिइएनन्। जब राजनीतिमा जाने नै सोच नभएकी उनी संसद्मा पुग्छु भन्ने त परको कुरा थियो। तर मुलुकमा परिवर्तन भयो अनि युवाहरू र विज्ञता भएका व्यक्ति संसद्मा भूमिका निर्वाह गर्नपर्छ वा बाहिर रहेर पनि सहयोग गर्न पर्छ भन्ने आधारमा अडेर आएको रास्वपा प्रस्तावले उनी अहिले संसद्मा छिन्।

ग्रामीण माटोबाट बौद्धिक यात्रा

संखुवासभाको एउटा सानो गाउँमा सामान्य किसान परिवारमा जन्मिएकी सुझाता तामाङ सात दाजुभाइ दिदीबहिनीमध्ये छैटौँ सन्तान हुन्। उनको बाल्यकाल खेतमा धान रोप्दै, गोठमा गाई चराउँदै र परिवारको दैनिकीको संघर्षसँगै बित्यो।

कक्षा सातसम्मको शिक्षा गाउँमै पूरा गरेपछि आर्थिक अभाव भनौँ या उच्चशिक्षाको लोभले उनलाई धरान, हेटौंडा, चितवन हुँदै काठमाडौँसम्म पुर्‍यायो। दाजुभाइ र भाउजूको सहयोगमा उनले यो लामो यात्रा पार गरिन्। यो यात्रा उनको जीवनको मूल आधार बन्यो- ग्रामीण नेपालको माटो, महिलाको मेहनत र किसानको पीडालाई उनले कहिल्यै बिर्सिनन्।

शैक्षिक क्षेत्रमा उनको प्रगति लोभलाग्दो छ। त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर पूरा गरेपछि उनले अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सबाट सन् २०१२ मा आदिवासी अध्ययनमा दोस्रो स्नातकोत्तर हासिल गरिन्।

अस्ट्रेलिया सरकारको छात्रवृत्तिले उनलाई यो अवसर दियो। त्यसपछि सन् २०१५ मा अस्ट्रेलियन सेन्टर फर इन्टरनेसनल एग्रिकल्चरल रिसर्चको जोन अलराइट फेलोसिप प्राप्त गरी उनले सोही विश्वविद्यालयबाट पीएचडी पूरा गरिन्। उनको शोध शीर्षक छ- ग्रामीण नेपालमा कृषिको महिलाकरण र खाद्य सुरक्षामा यसको प्रभाव।

वैदेशिक रोजगारीले पुरुष श्रम बाहिरिएपछि कृषि क्षेत्रको जिम्मेवारी महिलामा आएको छछ। भूमिको स्वामित्व, ऋणको पहुँच, निर्णयको अधिकार र स्रोत व्यवस्थापनमा उनीहरू अझै पछाडि छन्। यो अन्तरविरोधले खाद्य सुरक्षालाई जोखिममा पारेको छ।

उनले महिला र प्राकृतिक स्रोत व्यवस्थापन, कृषि पर्यावरण, खाद्य न्याय, जलवायु अनुकूलन र स्थानीय ज्ञानको संरक्षण आदिमा अनुसन्धान गरेकी छन्। यी विषय आजको विश्वव्यापी बहसमा छन्।

दीर्घ अनुसन्धान र नीतिगत सक्रियता

सन् २००८ देखि उनी फरेस्ट एक्सन नेपालसँग जोडिएर काम गरिन्। फ्रन्ट डेस्कबाट सुरु भएको यात्रा कार्यक्रम अधिकृत, अनुसन्धानकर्ता, नीति विश्लेषक हुँदै सन् २०२६ देखि कार्यकारी समन्वयकर्ताको भूमिकासम्म पुग्यो।

यो संस्थाले खाद्यका लागि कृषि अभियानको सचिवालयको भूमिका निर्वाह गर्छ- किसान, नागरिक समाज र विभिन्न संगठनहरूको साझा मञ्च। यहाँ उनले अनुसन्धान कागजमा मात्र सीमित राखिनन्। उनले टोली नेतृत्व गर्दै प्रमाणमा आधारित नीतिगत सुझाव तयार पारिन्, किसानहरूको क्षमता अभिवृद्धि गनिन्, राष्ट्रिय स्तरमा वकालत गरिन् र ज्ञान उत्पादनलाई निरन्तरता दिइन्।

उनको विशेषता यो हो कि उनले कृषि समस्यालाई प्रविधि वा उत्पादन वृद्धिमा मात्र होइन- सामाजिक न्याय, समावेशिता, दिगोपन र स्थानीय स्रोतसँग जोडेर हेरिन्। उनको कामले देखाएको छ- नेपालको कृषि संकट बालीनालीको कमी होइन, यो श्रमको लैंगिक विभाजन, जमिन परित्याग, बजारको असमानता र नीतिगत उपेक्षाको परिणाम हो।

‘कृषि भनेको जीवन हो, यो माटोसँग जोडिएको संस्कृति हो, यो महिलाको मेहनत र आदिवासी ज्ञानको सम्मान हो’, उनले भन्छिन्, ‘साना किसान, महिला किसान र सीमान्तकृत समुदायको आवाजलाई नीति तहसम्म पुर्‍याउन निरन्तर प्रयास गरिरहेकी छु।’

प्रतिनिधिसभामा सांसद जिम्मेवारीमा रहँदा उनले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति रोजिन् र त्यसमा रहेर मुलुकको हितका लागि काम गर्ने बताइन्। मुलुक बलियो हुन र विकासमा फड्को मार्न कृषिमा आधुनिकीकरण र प्राकृतिक स्रोतको सदुपयोग हो। त्यसमा हामी सबै लाग्नुपर्ने र समयानुकूल नीति तर्जुमा गर्नु अहिलेको आवश्यकता रहेको उनले बताइन्।

संसद् यात्रा : ज्ञानको रूपान्तरण

लामो अनुसन्धान र नीतिगत अनुभवपछि सन् २०२६ को निर्वाचनमा रास्वपाबाट समानुपातिक (आदिवासी जनजाति महिला कोटामा) सांसद निर्वाचित भएकी डा. सुजाताको संसद् प्रवेश एउटा महत्वपूर्ण मोड हो। उनले पार्टी राजनीतिमा सक्रिय भूमिका नखेले पनि उनको विशेषज्ञता र प्रतिबद्धताले उनलाई यो अवसर दियो।

संसद्‌मा प्रवेश गर्दा उनले भनेकी छन्, ‘अघि म त्यहाँ थिएँ जहाँ नीतिगत खालीपन देखिरहेको थिएँ। अब म यहाँ आएको छु जहाँ ती खालीपन भर्न सक्छु।’ उहाँको प्राथमिकता स्पष्ट छन्, ‘साना किसानको संरक्षण, महिलामैत्री कृषि नीति, भूमि अधिकार, दिगो तथा स्थानीय स्रोतमा आधारित कृषि प्रणाली, जलवायु अनुकूलन र स्थानीय ज्ञानको सम्मान।’

उनको दृष्टिकोणमा कृषि आर्थिक क्रियाकलाप होइन- यो सामाजिक न्यायको लडाइँ हो, वातावरणीय सन्तुलनको रक्षा हो र राष्ट्रिय आत्मनिर्भरताको आधार हो। उनी प्रमाणमा आधारित अनुभव बोकेर आएकी सांसद हुन्। ‘गाउँको किसानसँगको प्रत्यक्ष सम्पर्क, अनुसन्धानको तथ्यांक र नीतिगत विश्लेषणले उनका आवाजलाई बलियो बनाएको छ। यसले नेपालको परम्परागत नीति निर्माणलाई नयाँ चुनौती दिन सक्छ।

उनी गाउँ बुझेकी उच्च शिक्षा लिएर काम गर्दै विदेशबाट विद्यावारिधिसम्म गरेकी र अहिले रोज्न लगाउँदा पनि कृषि रोजेको कारणबाट पनि उनको हुटहुटी थाहा पाउन सकिन्छ। उनी प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्यको रुपमा सक्रिय छन्।

डा. सुजाताको यात्रा तुम्लिङटारको हरियो खेतबाट अस्ट्रेलियाको विश्वविद्यालयको शैक्षिक मञ्च, वनकार्य नेपालको अनुसन्धान कक्षबाट संसद्को गम्भीर हलसम्म पुगेको छ। अनुसन्धान, स्थानीय ज्ञान, अन्तर्राष्ट्रिय दृष्टिकोण र दृढ प्रतिबद्धतालाई एकसाथ जोड्दा मात्र दीर्घकालीन परिवर्तन सम्भव हुन्छ भनेर उनले प्रमाणित गरेकी छन्।

नेपालको कृषि क्षेत्रलाई न्यायपूर्ण, समावेशी र दिगो बनाउन अब नारा र कागजी योजनाहरू पर्याप्त छैनन्। आवश्यक छ- प्रमाणमा आधारित नीति, महिलाको सम्मान, साना किसानको सशक्तीकरण र माटोसँग जोडिएको दिगो अभ्यास। डा. तामाङजस्ता नेतृत्वले यही बाटो देखाइरहेकी छन्।

यदि उनले आफ्नो गहिरो अनुसन्धान, ग्रामीण अनुभव र अटुट प्रतिबद्धतालाई संसदीय कार्यान्वयनसँग सार्थक रूपमा जोड्न सकिन् भने नेपालको हरिया फाँटहरूमा एउटा नयाँ बिहानी उदाउन सक्छ- जहाँ महिलाको मेहनतको सम्मान हुन्छ, किसानको पसिना फल्छ र राष्ट्रले आफ्नै माटोमा आत्मनिर्भरताको स्वाद चाख्छ।

 

प्रकाशित: १९ वैशाख २०८३ ७:३२ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast