ट्रम्पको विजेताविहीन युद्ध

हिमाल प्रेस २ असार २०८३ १६:१० | Tuesday, June 16, 2026
24
SHARES
ट्रम्पको विजेताविहीन युद्ध

शान्ति सम्झौता मनाउने उत्तम तरिका के हुन सक्छ- ह्वाइट हाउसको लनमा क्याज फाइट (कुस्ती/झगडा) गरेर? डोनाल्ड ट्रम्प सधैँ लामो समयसम्म चल्ने हिंसाभन्दा प्रदर्शनात्मक द्वन्द्वलाई बढी रुचाउने व्यक्तिका रूपमा परिचित छन्। अहिले भने उनले इरानसँगको युद्ध अन्त्य गर्ने लामो समयदेखि घोषणा गरिएको सम्झौता अन्ततः हासिल गरेका छन्।

तर यस्तो शान्ति निकै कमजोर हुने सम्भावना छ। ट्रम्पले जसरी प्रस्तुत गरे पनि शुक्रबार जेनेभामा हस्ताक्षर हुने तय भएको सम्झौता स्थायी समाधान होइन। यो वर्तमान युद्धविरामलाई ६० दिनका लागि विस्तार गर्ने मात्र हो- जसले होर्मुज जलमार्ग क्रमशः पुनः खोल्न र इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउन अनुमति दिनेछ। आणविक मुद्दा वार्तामार्फत समाधान गर्ने वाचा पनि गरिएको छ, जससँग इरानमाथिका प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाउने प्रतिबद्धता जोडिएको छ।

यी सबै सजिलै भत्किन सक्ने देखिन्छ। इजरायली सरकार असन्तुष्ट छ- विशेष गरी लेबनानमा हिज्बुल्लाहविरुद्धको अभियान अन्त्य गर्ने घोषणाप्रति। चुनाव नजिकिँदै गर्दा र शान्ति सम्झौताबारे इजरायलभित्र बहुदलीय आलोचना बढ्दै गर्दा बेन्जामिन नेतान्याहूले फेरि आक्रमण सुरु गर्ने दबाब महसुस गर्न सक्छन्,हिज्बुल्लाहले उत्तरी इजरायलमा आक्रमण गर्‍यो भने। त्यसपछि इरानले पनि इजरायलमाथि प्रत्याक्रमण गर्न सक्छ।

लेबनान सबैभन्दा स्पष्ट तनावको बिन्दु हो। होर्मुज जलमार्ग क्रमशः पुनः खोलिँदै गर्दा इरानको आणविक कार्यक्रमजस्तो जटिल मुद्दामा वार्ता सुरु भइरहँदा विवाद र गलत बुझाइका लागि प्रशस्त ठाउँ रहन्छ। यस्तो अवस्थामा कहिलेकाहीँ हिंसाका झडपसहित क्रमशः तनाव घट्दै जाने अवस्था पूर्ण युद्धविरामभन्दा बढी सम्भावित देखिन्छ।

युद्धमा कुनै स्पष्ट विजेता नभएकाले कुनै पनि शान्ति सम्झौता हुनुपर्थ्यो। सबैभन्दा सकारात्मक संकेत भनेको सबै पक्षका कठोर विचारधाराका मानिसहरू यसप्रति असन्तुष्ट हुनु हो।

अमेरिकाका कडा पक्षधरहरू तेहरानमा शासन परिवर्तन वा कम्तीमा इरानी आणविक कार्यक्रम पूर्ण रूपमा ध्वस्त पार्न चाहन्थे। तर अहिले शासन परिवर्तन युद्ध सुरु हुँदाभन्दा अझ टाढा देखिन्छ। इरानको भविष्यको आणविक सहकार्यको बाचा वासिङ्टनका धेरैले गहिरो अविश्वासका साथ हेर्नेछन्।

यी कडा पक्षधरहरू इरानका सम्पत्ति फुकुवा र प्रतिबन्ध हटाइएपछि इस्लामिक गणतन्त्रले आफ्नो सैन्य शक्ति र क्षेत्रीय सहयोगी समूहहरू पुनः निर्माण गर्ने डर पनि राख्छन्। गत साता रिपब्लिकन कडा पक्षधर सिनेटर लिन्डसे ग्राहमले ट्रम्पलाई खार्ग टापु (इरानको प्रमुख तेल निर्यात केन्द्र) कब्जा गर्ने धम्की कार्यान्वयन गर्दै युद्ध बढाउन दबाब दिइरहेका थिए। तर ट्रम्पका सैन्य सल्लाहकारहरूले अमेरिकी कब्जा फौज इरानी प्रत्याक्रमणको सजिलो लक्ष्य बन्ने चेतावनी दिएका हुन सक्छन्। अहिलेको सम्झौताले सैन्य विकल्प असफल भएको संकेत गर्छ।

इजरायली सरकार विशेष रूपमा असन्तुष्ट छ। नेतान्याहूसँग नजिक मानिने पत्रकार अमित सेगलले हेनरी किसिन्जरको उद्धरण पोस्ट गर्दै प्रतिक्रिया दिए- ‘अमेरिकाको शत्रु हुनु खतरनाक हुन सक्छ, तर उसको मित्र हुनु घातक हुन्छ।’ इजरायलले इरानले होर्मुज जलमार्गको पुनः खोलाइलाई लेबनान युद्धविरामसँग जोडेर इजरायलको हात बाँधिदिएको ठान्छ। अझ व्यापक रूपमा उसले आफ्नो सबैभन्दा खतरनाक प्रतिद्वन्द्वी इरान यस संघर्षबाट अझ बलियो भएर निस्किएको डर राख्छ।

तर इरानका अति कडा पक्षधरहरू पनि क्रोधित देखिन्छन्। सम्झौताको खबर आएपछि तेहरान र क्षेत्रीय सहरहरूमा प्रदर्शन भयो- जहाँ परराष्ट्रमन्त्री अब्बास अराघची र संसदका सभामुख मोहम्मद बाघेर घालिबाफविरुद्ध नारा लगाइयो। इरानका आलोचकहरूले यो सम्झौतालाई जलसन्धि खोल्ने साटो अमेरिकाले नदिन सक्ने प्रतिबन्ध राहतको बाचा साट्ने कदम भएको बताएका छन्।

खाडी मुलुकमा पनि मिश्रित भावना हुनेछ। साउदी अरेबिया, कतार र युएई जस्ता देशहरूलाई होर्मुज जलसन्धिबाट ऊर्जा निर्यात स्वतन्त्र रूपमा प्रवाह हुने र क्षेत्रीय स्थायित्व पुनः स्थापित हुने खालको सम्झौता अत्यावश्यक छ।

तर कहिलेकाहीँ ड्रोन वा मिसाइल आक्रमणले भंग हुने कमजोर शान्तिले पर्यटक र प्रवासी कामदारलाई आश्वस्त पार्न सक्दैन। कतारको रस लाफान एलएनजी सुविधा जस्ता प्रमुख पूर्वाधारमा भएको क्षति पूर्ण रूपमा मर्मत गर्न वर्षौद्द लाग्न सक्छ।

खाडी मुलुकहरूले आफ्नो भविष्यको भूराजनीतिक दिशाबारे पनि गम्भीर पुनर्विचार गर्नुपर्नेछ। धेरै नीति निर्माताहरू अमेरिका र इजरायलले उनीहरूको सल्लाहविपरीत इरानविरुद्ध युद्ध सुरु गरेकोमा क्रोधित छन्। तर उनीहरू यो पनि मान्छन् कि इरानले उनीहरूलाई प्रतिशोधको लक्ष्य बनाएको छ, यद्यपि उनीहरू प्रत्यक्ष रूपमा युद्धमा सहभागी थिएनन्।

आगामी वर्षहरूमा खाडी मुलुकहरू गम्भीर छनोटको सामना गर्नेछन्-अमेरिकासँगको सम्बन्ध अझ मजबुत बनाउने कि इरानसँग कुनै न कुनै समझदारी खोज्ने।

ट्रम्प स्वयं असफलतालाई सफलताका रूपमा पुनः प्याकेज गर्ने लामो इतिहास भएका व्यक्ति हुन्-चाहे त्यो दिवालिया क्यासिनो होस् वा हारिएको चुनाव। उनी सम्भवतः यस युद्धलाई पनि त्यस्तै रूपमा प्रस्तुत गर्नेछन्। तर त्यसका लागि पश्चिम एसिया  केही समय शान्त रहनु आवश्यक हुनेछ- जुन सम्भवतः अत्यधिक माग पनि हुन सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast