निम्न तथा मध्यम आय भएका देशहरूमा लाखौँ विद्यालयका विद्यार्थीहरू ब्याट्री पुनर्चक्रण (रिसाइक्लिङ) बाट हुने सिसा (लेड) प्रदूषणको जोखिममा परिरहेको पाइएकव छ। यसबाट उनीहरूको स्वास्थ्य र बौद्धिक विकासमा गम्भीर खतरा पुर्याइरहेको छ।
थिंक ट्यांक सेन्टर फर ग्लोबल डेभलपमेन्ट (सीजीडी) ले जियोकोडिङ प्रयोग गरी गरेको अध्ययनअनुसार एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका १७ देशमा चार करोड ३० लाखभन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गर्ने दुई लाख ५२ हजारभन्दा बढी विद्यालय विषाक्त प्रदूषण स्रोतबाट पाँच किलोमिटरको दूरीभित्र रहेका छन्। तीमध्ये ५२ लाख विद्यार्थी त प्रदूषण स्रोतको एक किलोमिटरभित्रै अध्ययन गरिरहेका छन्।
मानव स्वास्थ्य र विकासमा सिसा प्रदूषणको प्रभावबारे बढ्दो चिन्ताका बीच यस्तो प्रतिवेदन सार्वजनिक भएको हो। सिसाको असरलाई बालबालिकाको कमजोर शैक्षिक उपलब्धिको एक प्रमुख कारणका रूपमा हेर्न थालिएको छ। यसले देशहरूको आर्थिक सम्भावनामा करिब १.४ ट्रिलियन अमेरिकी डलर बराबरको क्षति पुर्याउने अनुमान गरिएको छ।
धनी राष्ट्रहरूले पेट्रोल, रङ र खाद्य सामग्रीमा सिसा प्रदूषण घटाउन लामो समयदेखि कदम चाल्दै आएका छन्। तर गरिब राष्ट्रहरूमा यस विषयमा निकै कम प्रगति भएको छ। एक अनुमानअनुसार निम्न तथा मध्यम आय भएका देशहरूमा हुने उच्च स्तरको सिसा सम्पर्कको करिब एकतिहाई हिस्सा ब्याट्री पुनर्चक्रणका कारण हुन्छ। यसमा विद्युतीय सवारीसाधन, रिक्सा तथा सौर्य प्यानलमा प्रयोग हुने ब्याट्रीहरू पनि समावेश छन्।
मेक्सिको र केन्यामा गरिएको अनुसन्धानले पुनर्चक्रण केन्द्रबाट फैलिएको सिसा प्रदूषणको प्रभावमा परेका बालबालिकाहरूको माध्यमिक तहको शैक्षिक प्रदर्शन उल्लेखनीय रूपमा कमजोर रहेको देखाएको छ।
न्युयोर्कस्थित पार्टनरसिप फर अ लिड–फ्री फ्युचर का निर्देशक अब्दुल्लाह फादिलले भने, ‘हामीलाई थाहा छ सिसा विषाक्तताले बालबालिकाको संज्ञानात्मक (कग्निटिभ) विकासमा असर पार्छ। कमजोर शैक्षिक उपलब्धिमा योगदान गर्नेमध्ये यो सम्भवतः सबैभन्दा उपेक्षित समस्या हो।’
सिसा प्रदूषण नियन्त्रणको प्रगति अनुगमन गर्न ३० भन्दा बढी देशले विश्वव्यापी रूपरेखामा हस्ताक्षर गरिसकेका छन्। फादिलका अनुसार गत वर्ष अमेरिकी सरकारी सहायता निकाय यूएसएड बन्द भएपछि तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरू नयाँ पहलमा संलग्न हुन अनिच्छुक देखिएपछि यस क्षेत्रमा प्रगति सुस्त बनेको छ।
यसै महिना सीजीडीले लन्डनमा विश्वव्यापी सिसा सम्पर्कसम्बन्धी अनुसन्धानमाथि केन्द्रित सम्मेलन आयोजना गरेको थियो। सम्मेलनले खाद्य सामग्री भान्साका भाँडाकुँडा, सौन्दर्य प्रसाधन, रङ तथा पाइपलाइन पनि सिसा प्रदूषणका महत्त्वपूर्ण स्रोत रहेको औँल्याएको थियो।
नयाँ अध्ययनले वातावरणमा रहेको सिसा र विद्यार्थीको शरीरमा अवशोषित हुने सिसाको स्तरबीचको प्रत्यक्ष सम्बन्ध मापन गरेको छैन। तर यसले पुराना ब्याट्री फुटाल्ने तथा त्यसबाट प्राप्त सिसा गलाउने प्रक्रियाबाट हावामार्फत फैलिने प्रदूषण पाँच किलोमिटरको क्षेत्रमा समेत खतरनाक हुन सक्ने देखाउने अघिल्ला अध्ययनहरूलाई आधार बनाएको छ।
अध्ययनका अनुसन्धानकर्ता ली क्रफर्डले मानव शरीरमा हुने वास्तविक सिसा सम्पर्कबारे अझै पर्याप्त जानकारी नभएको बताए। उनका अनुसार पुनर्चक्रण केन्द्र नजिकका विद्यालयका बालबालिकामाथि थप परीक्षण आवश्यक छ। उनले भने, ‘पुनर्चक्रण उद्योगलाई मानिसहरूको बसोबास क्षेत्रबाट टाढा सार्दै सहरबाहिर लैजानु राम्रो पहिलो कदम हुनेछ।’
अमेरिका तथा अन्य सम्पन्न राष्ट्रहरूमा सिसा प्रदूषणको असर मुख्यतः गरिब तथा वञ्चित समुदायमा बढी देखिएको छ। तर यस अध्ययनले निम्न आय भएका देशहरूमा भने शुल्क तिरेर पढाइ हुने निजी विद्यालय पनि प्रदूषण स्रोत नजिक असमान रूपमा केन्द्रित रहेको देखाएको छ। यसले तीव्र सहरीकरण र प्रभावकारी भूउपयोग (जोनिङ) नीतिको अभावलाई प्रतिबिम्बित गर्छ।




