धवलशम्शेर र दुर्गा प्रसाईँले ‘जय नेपाल पार्टी’ दर्ता गर्दै

हिमाल प्रेस २० साउन २०८३ २०:४१ | Wednesday, August 5, 2026
6
SHARES
धवलशम्शेर र दुर्गा प्रसाईँले ‘जय नेपाल पार्टी’ दर्ता गर्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ पार्टी दर्ता गर्ने भएका छन्।

राप्रपा छोडेका राणा र प्रसाईँलगायतका नेताहरूले ‘जय नेपाल पार्टी (जनेपा)’ दर्ता गर्न लागेका हुन्।

राणाका निकट सहयोगी सगुनसुन्दर लावतीले आगामी साउन २८ गते निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गरिने जानकारी दिए।

‘पार्टी दर्ता गर्ने निर्णय भइसकेको छ,’ लावतीले हिमालप्रेससँग भने, ‘साउन २८ गते निर्वाचन आयोगमा आधिकारिक रूपमा जय नेपाल पार्टी दर्ता हुन्छ।’

सहिद शुक्रराज शास्त्रीले पहिलोपटक प्रयोग गरेको ‘जय नेपाल’ आकर्षक र देशभक्तिपूर्ण नारा हो। यो नारा नेपाल प्रहरी र नेपाली कांग्रेसले अभिवादनका लागि प्रयोग गर्दै आएका छन्।

लावतीका अनुसार पार्टीको चुनाव चिह्नका विषयमा छलफल चलिरहेको छ। दर्ता हुने पार्टीको अध्यक्षमा राणा र प्रसाईँ सर्वोच्च नेता रहने उनले जानकारी दिए।

गत जेठ २१ गते राणाको नेतृत्वमा मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, लावतीसहित राप्रपाका झन्डै दुई सय नेताहरूले पार्टी परित्याग गरेका थिए।

त्यस्तै स्वतन्त्र रूपले अभियान चलाइरहेका प्रसाईँ पनि राणासँगै सहकार्य गर्ने निर्णय गरेका थिए। ‘जनेपा’ दर्ता भएपछि राजनीतिक संगठनसँग उनको आवद्धता पहिलोपटक हुनेछ।

गत वर्ष चैत १५ गते काठमाडौँमा प्रसाईँ र पञ्चायतकालीन राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्थाको पक्षमा भएको आन्दोलनलाई तत्कालीन राप्रपाका नेताहरू राणा, रवीन्द्र मिश्रलगायतले समर्थन गरेका थिए।

प्रदर्शन हिंसक भएपछि दुई जनाको मृत्यु भएको थियो भने तीन दर्जनबढी घाइते भएका थिए।

प्रकाशित: २० साउन २०८३ २०:४१ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast