के इरानको यो ‘खतरनाक’ योजनाले ट्रम्पलाई आक्रमण गर्नबाट रोकेको हो?

हिमाल प्रेस १७ साउन २०८३ १८:३६ | Sunday, August 2, 2026
20
SHARES
के इरानको यो ‘खतरनाक’ योजनाले ट्रम्पलाई आक्रमण गर्नबाट रोकेको हो? डोनाल्ड ट्रम्प। फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन्। वेबसाइट ‘एक्सियोस’ मा दाबी गरिएअनुसार यसअघि ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग टेलिफोनमा कुराकानी गरेका थिए।

अमेरिका र साउदी अरबले संयुक्त रुपमा इराकमा इरान समर्थित समूहहरुलाई लक्षित गर्दै सार्वजनिक रुपमा घोषित पहिलो आक्रमण गरेका थिए।

यसअपछि ट्रम्पले इरानविरुद्ध पुनः ठूलो आक्रमण गर्न सक्ने अनुमान गरिएको थियो। यद्यपि यो आशंका तत्कालका लागि टरेको बीबीसीले उल्लेख गरेको छ।

केही सञ्चारमाध्यमका अनुसार आक्रमणको स्थिति उत्पन्न भएमा सम्पूर्ण विश्वलाई पुनः तेलको गम्भीर संकटमा धकेल्ने योजना इरानले तयार पारेको छ।

यी खबरहरुका अनुसार आक्रमणको स्थितिमा इरानले खाडी मुलुकहरुका तेल कुवाहरुमा ठूलो आक्रमण गर्ने तयारी गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार टर्की, पाकिस्तान र साउदी अरबका वरिष्ठ अधिकारीहरुसँग छुट्टाछुट्टै फोनमा कुरा गर्दै अमेरिकाले आक्रमण गरे आफूहरूले निर्णायक आक्रमण गर्ने बताएका थिए।

अराघचीले पाकिस्तानका सेना प्रमुख असिम मुनिर र टर्कीका विदेशमन्त्री हाकान फिदानलाई इरानविरूद्ध कुनै आक्रमण भए त्यसको निर्णायक जवाफ दिने बताएका थिए।

पछि अराघचीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग पनि अमेरिका र इजरायलले आक्रमण गरे वा क्षेत्रको कुनै देश यस्तो कारबाहीमा संलग्न भए इरानले त्यहीअनुसार जवाफ दिने बताएका थिए।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बद्ध सञ्चार संस्थान ‘नूर न्युज’ ले अमेरिकाले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गरे इरानले साउदी अरब र संयुक्त अरब इमिरेट्सका तेल क्षेत्रहरुका साथै कतार र इजरायलका तेल र ग्यास क्षेत्रमाथि आक्रमण गर्ने जनाएको छ।

आईआरजीसीसँग सम्बद्ध समाचार एजेन्सी ‘तस्निम’ का अनुसार इरानले एउटा सूची तयार पारेको छ जसमा खाडीका कुन देशका कुन तेल र ग्यास स्थललाई निशाना बनाउने उल्लेख छ।

यद्यपि यो सम्पूर्ण सूचीबारे प्रस्ट जानकारी उपलब्ध छैन। तर, साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारका महत्वपूर्ण तेल तथा ग्यास भण्डारण स्थललाई निशाना बनाउन सकिने अनुमान गरिएको छ।

सूचीमा विश्वको सबैभन्दा ठूलो परम्परागत तेल क्षेत्र साउदी अरबको ‘घवार’, ‘अबकैक’ तेल प्रशोधन संयन्त्र र ‘खुरैस’ आयल फिल्ड समावेश छन्। यी तीनवटै साउदी अरबको तेल उत्पादनका प्रमुख केन्द्रहरु हुन्।

त्यस्तै संयुक्त अरब इमिरेट्समा इरानले ‘जाकुम’ आयल फिल्ड र ‘रुवैस’ रिफाइनरीलाई आक्रमणको सूचीमा राखेको बताइएको छ।

कतारको ‘नर्थ फिल्ड’ विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो। ‘रास लफ्फान’ औद्योगिक परिसर, विश्वमा एलएनजी निर्यातको ठूलो केन्द्र हो। यो पनि इरानको सूचीमा रहेको बताइएको छ।

मध्यपूर्व इन्स्टिच्युटका वरिष्ठ फेलो रोस ह्यासिनका अनुसार इरानसँगको युद्धमा अमेरिकाको कुनै स्पष्ट रणनीति अझै देखिएको छैन। राष्ट्रपति ट्रम्पले धेरैपटक ठूला सैन्य कदम चाल्ने संकेत गरे पनि पछि पछाडि हट्ने गरेको उनको भनाइ छ।

प्रकाशित: १७ साउन २०८३ १८:३६ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast