लिपुलेक क्षेत्रबारे कूटनीतिक पहल गर्न सरकारलाई कांग्रेसको सुझाव

हिमाल प्रेस २१ वैशाख २०८३ २०:२६ | Monday, May 4, 2026
12
SHARES
लिपुलेक क्षेत्रबारे कूटनीतिक पहल गर्न सरकारलाई कांग्रेसको सुझाव फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले लिपुलेकबारे यस्तो निर्णय गरेको हो।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य भूमि रहेको कांग्रेसले प्रस्ट पारेको छ। सन् १८१६ को सुगौली सन्धि, ऐतिहासिक नक्सा र प्रमाणका आधारमा ती क्षेत्र नेपालको भएको उल्लेख गर्दै कांग्रेसले नेपालको सहमतिविना दुई छिमेकी मुलुकबीच भएको सहमति स्वीकार्य नहुने जनाएको छ।

बैठकले २०७७ मा संसदबाट पारित नक्सा कार्यान्वयनका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

त्यस्तै कांग्रेस बैठकले खोला किनारका सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले देखाएको व्यवहारलाई ‘क्रुर र अमानवीय’ कार्य भनेको छ। ‘रुल बाई ल’ नभई ‘रुल अफ ल’ पालना गर्दै कांग्रेसले विस्थापितहरूलाई राखिएको ‘होल्डिङ सेन्टर’ को अवस्था अध्ययन गर्न विशेष अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ।

साथै पीडितहरूलाई राहत उपलब्ध गराउन पार्टीका स्थानीय तह र भ्रातृ संस्थाहरूलाई कांग्रेसले निर्देशन दिएको छ।

त्यस्तै कांग्रेस बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई ‘बदनियतपूर्ण’ र ‘संविधान विरोधी’ ठहर गरेको छ। संविधानको मर्मविपरित राजनीतिक अनुकूलताका लागि कानुन नबनाउन सचेत गराउँदै कांग्रेसले संसदीय सर्वोच्चताका लागि दृढ रहने बताएको छ।

बैठकमा उपसभापतिद्वद्ध विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदी पौडेल र गुुरुराज घिमिरेलगायतका पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast