फर्किए ट्रम्पका विशेष दूत : पुरानो कूटनीतिक परम्परा भंग

हिमाल प्रेस १९ वैशाख २०८३ २०:४१ | Saturday, May 2, 2026
48
SHARES
फर्किए ट्रम्पका विशेष दूत : पुरानो कूटनीतिक परम्परा भंग

काठमाडौँ- दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेट्न नपाए पनि भ्रमण सफल भएको भन्दै फर्किएका छन्। भारतका लागि अमेरिकी राजदूत र यो क्षेत्रका विशेष दूत भए पनि उनले प्रधानमन्त्री बालेनसँग भेट पाएनन्।

प्रधानमन्त्रीको यो शैलीले पुरानो कूटनीतिक चलन र प्रोटोकल बेवास्तालाई चुनौती दिएको छ। विगतमा यस्ता उच्चस्तरीय अमेरिकी भ्रमणहरूमा प्रधानमन्त्रीस्तरको औपचारिक भेट प्रायः अनिवार्यजस्तै रहँदै आएको थियो। कैयौँ त्यस्ता भेटको आलोचनासमेत हुने गरेको थियो।

भ्रमणका क्रममा विशेष दूत गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए।

उनले नेपाली व्यवसायीहरूसँगको अन्तरसंवादमा नेपालमा अमेरिकी लगानी र व्यापारिक अवसर विस्तारमा  जोड दिएका थिए।

भ्रमणको केन्द्रविन्दु नेपाल-अमेरिका साझेदारीलाई थप सुदृढ बनाउने, विशेष गरी प्रविधि क्षेत्रमा सहकार्य बढाउनु थियो। सगरमाथा आधार शिविर भ्रमणका क्रममा गोरले अमेरिकी ड्रोन प्रविधिबारे जानकारी लिई त्यहाँ सञ्चालित सरसफाइ अभियानको अवलोकन गरेका थिए।

आधुनिक ड्रोन प्रविधिले सगरमाथा क्षेत्रमा सामग्री ढुवानीलाई केही मिनेटमा सम्भव बनाउने अपेक्षा गरिएको छ, जुन विगतमा लामो समय लाग्ने काम थियो। ‘अमेरिका नवप्रवर्तनमा अग्रणी छ र हामी नेपालका स्थानीय कम्पनीहरूसँग सहकार्य गर्न पाउँदा खुसी छौँ। हामी आशावादी छौँ कि नेपालको वर्तमान सरकारले दुई देशबीचको फलदायी साझेदारीलाई अझ बलियो बनाउनेछ,’ गोरलाई उद्धृत गर्दै अमेरिकी दूतावासका एक अधिकारीले भने।

यसका साथै गोरले काठमाडौँको न्हूः छें बहामा अमेरिकाबाट फिर्ता गरिएको अक्षोभ्य बुद्धको मूर्ति हस्तान्तरण समारोहमा सहभागिता जनाए। नेपालको सांस्कृतिक सम्पदा गैरकानुनी रूपमा बाहिरिएको अवस्थामा फिर्ता गर्ने अमेरिकाको प्रतिबद्धतालाई उनले दोहोर्‍याएका छन्। गोरले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्दै नेपालको समृद्ध इतिहास, संस्कृति र धरोहरको प्रशंसा गरे।

यो भ्रमणलाई अमेरिकी ट्रम्प प्रशासनको दक्षिण एसिया नीतिको हिस्साका रूपमा हेर्न सकिन्छ। गोर ट्रम्पका विश्वासपात्र र भारतका राजदूत भएकाले उनी नेपाललाई क्षेत्रीय सन्तुलनको परिप्रेक्ष्यमा हेर्ने दृष्टिकोण बोकेर आएका थिए।

यसअघि अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुरको भ्रमणलगत्तै गोरको आगमनले वाशिङटनले नेपालमा चासो बढाएको संकेत गर्छ। तर प्रधानमन्त्रीसँग भेट नहुनुले यो प्रयासलाई केही अपूर्ण बनाएको छ।

विगतका विभिन्न अमेरिकी उच्च अधिकारीहरूको भ्रमणमा प्रधानमन्त्रीसँगको भेट सामान्य कुरा थियो। यस पटक प्रधानमन्त्रीले अमेरिकी पदाधिकारीलाई भेट नगरेपछि काठमाडौँको कूटनीतिक वृत्तमा चर्चा निम्त्याएको छ। नयाँ सरकारले विदेश नीतिमा स्वतन्त्रता देखाउन खोजेको हो वा चीनसँगको सन्तुलन कायम राख्न यस्तो दूरी राखिएको हो भन्ने प्रश्न उठेको छ।

गोरको भ्रमणले प्रविधि, लगानी, एमसीसी कार्यान्वयन र सांस्कृतिक सहकार्यका सकारात्मक सन्देश दिएको छ। तर अमेरिकी अधिकारीहरूले भने प्रधानमन्त्रीसँग भेट नभएकाले भ्रमण पूर्ण सफल मान्न गाह्रो भएको बताएका छन्।

नेपालजस्तो देशले ठूला शक्तिसँगको सम्बन्ध सन्तुलित र फलदायी बनाउन कूटनीतिक शिष्टाचार र अवसर दुवैलाई सही ढंगले सदुपयोग गर्नुपर्ने हुन्छ। अब आगामी दिनमा दुवै पक्षले यो खाली ठाउँलाई कसरी भर्ने भन्नेले नै दुई देशबीचको सम्बन्धको भावी दिशा निर्धारण गर्नेछ।

गोरले भेट नपाएपछि भारतबाट आउने तयारीमा रहेका परराष्ट्र सचिव विक्रम मिसरी पनि प्रधानमन्त्रीसँग भेट नहुने भए नआउन सक्ने भन्ने समाचार आउन थालेको छ। तर यो थितिमा बालेन अडे भने कूटनीतिक चलखेल र राजदूतहरूले यहाँ जे गर्न पनि सक्ने भन्ने भाष्य कमजोर भएर जानेछ।

प्रकाशित: १९ वैशाख २०८३ २०:४१ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast