फाइल तस्बिर
काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिसरी दुईदिने औपचारिक भ्रमणका क्रममा काठमाडौँ आउने भएका छन्। भारतीय पक्षले मे ११ अर्थात वैशाख २८ को मिति प्रस्ताव गरेको भए पनि नेपाल सरकारले सोमबार टुंगो लगाएर जानकारी गराउने परराष्ट्र उच्च अधिकारीले बताए।
उनी नेपालका विदेश सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आउन लागेका हुन्। यो भ्रमणमा नेपाल–भारतबीच विद्यमान द्विपक्षीय संयन्त्रहरूको प्रगति समीक्षा, अवरुद्ध परियोजनालाई अघि बढाउने तथा ऊर्जा, भौतिक पूर्वाधार, डिजिटल कनेक्टिभिटीलगायत सहकार्यका विविध आयाम केन्द्रित छलफल हुने भएको छ।
पछिल्लो समय दुई देशबीच भएका सहकार्यका प्रयासहरूलाई कार्यान्वयनमुखी बनाउनेतर्फ भ्रमणको विशेष जोड रहने परराष्ट्रका अधिकारीको भनाइ छ। भ्रमणका क्रममा विदेश सचिव मिसरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा पनि समकक्षी राईलाई बुझाउने छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शिष्टाचार भेट दिएको खण्डमा भने उनले भारतीय समकक्षीको धारणा राख्दै निम्ताको स्मरण गराउने छन्।
यो भ्रमण बालेनको भारत भ्रमणको तयारी अनुरुपको पहिलो खुड्किला हो। मिसरी स्वदेश फर्केपछि अघि नबढेका संयन्त्रहरुको बैठक बस्ने र नेपालका अन्य प्राथमिकतामा काम हुनेछ। त्यस्ता दुइपक्षीय काम सकिएपछि भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमण हुनेछ।
उक्त उच्चस्तरीय भ्रमणले काठमाडौँ-दिल्लीबीच राजनीतिक स्तरमा विश्वास निर्माण गर्दै प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणको मार्गसमेत प्रशस्त गर्ने अपेक्षा गरिएको छ। यसपटकका भ्रमणहरू प्रक्रियागत र संस्थागत ढंगबाट अघि बढाइनेछन्, जसमा भारतले पनि चासो देखाएको परराष्ट्र स्रोतले बताएको छ।
पछिल्लो समय ‘औपचारिकतामा सीमित भ्रमण’ वा ‘प्रत्यक्ष उपलब्धिविना हुने दौडधूप’ ले गर्दा भ्रमणका अनेकन आलोचना भएका थिए। यही कारणले होला प्रधानमन्त्री बालेनले उपलब्धिविहीन भ्रमण नगर्ने र मुलुकभित्रै काम गर्ने बताउँदै आएका छन्। उनले भेटघाटमा पनि परराष्ट्रमन्त्रीभन्दा तललाई भेट नदिने बताइसकेका छन्।
सायद यही भएर होला दुवै पक्षले ठोस उपलब्धिमुखी सहकार्यमा जोड दिने संकेत देखिएका छन्। भ्रमण भएको अवस्थामा ऊर्जा व्यापार, सीमा पूर्वाधार, जलस्रोत व्यवस्थापन र व्यापार सहजीकरणका क्षेत्रमा नयाँ गति दिन सकिने सम्भावना रहेको छ ।
मिसरीले यसअघि १७-१८ अगस्त २०२५ मा नेपाल भ्रमण गरेका थिए । त्यसक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका थिए। त्यो भ्रमणमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा समेत हस्तान्तरण गरेका थिए।
त्यतिबेला दुई देशका विदेश सचिवबीच भौतिक तथा ऊर्जा कनेक्टिभिटी, डिजिटल सहकार्य र विकास साझेदारीका विषयमा विस्तृत छलफल भएको थियो, जसको उद्देश्य नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिमुखी बनाउनु थियो। त्यसबेला भएका कैयन कामहरु अघि नै नबढेकाले काम नै नभइकन किन भ्रमणमा जाने भन्ने बुझाइ प्रधानमन्त्री बालेनको छ।
मिसरीले सन् २०२४ जुलाईमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका हुन्। त्यसयता उनी नेपाल-भारत सम्बन्धलाई संस्थागत र परिणाममुखी बनाउने प्रयासमा नर्थ डेक्ससँग सहकार्य गर्दै आएका छन्। आगामी भ्रमण श्रृंखलाले विगतमा देखिएका समन्वय अभाव, ढिलासुस्ती र कार्यान्वयन कमजोरीजस्ता समस्यालाई सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धलाई थप व्यावहारिक र उपलब्धिमुखी बनाउने अपेक्षा गरिएको छ।
परराष्ट्रका उच्च अधिकारीका अनुसार दुवै देशले राष्ट्रिय हित र व्यावहारिक सहकार्यलाई प्राथमिकता दिँदै अघि बढ्ने तयारी गरिरहेका छन्। ‘एक दुई दिन मिति तलमाथि हुनसक्ला अन्यथा २८ गते नै भारतीय विदेश सचिव मिसरी नेपाल आउने सम्भावना बढी छ,’ परराष्ट्र स्रोतले भनयो। त्यसअघि नै भारतमा रहेका अमेरिकी राजदूत सर्जियो गोर जसलाई दक्षिण र मध्य एसिया हेर्ने विशेष जिम्मेवारी पनि ट्रम्प प्रशासनले दिएको छ नेपाल भ्रमणमा आउने तयारी ५।
३८ बर्षिय गाेर भारतका लागि २७ औँ अमेरिकी राजदूत हुन। भारतमात्र नभएर दक्षिण एसिया क्षेत्र नै हेर्ने जिम्मेवारी पाएकाले पनि उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। उनले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री बालेनको भेट पाएमा मिसरिले पनि पाउने बताइएकाे छ। मिस्री काठमाडौँ आउँदा गोर दिल्ली फर्किसकेका हुनेछन्।




