इन्धन सहजताले देखाएको छिमेकी भारतको मौन सन्देश

हिमाल प्रेस १२ असार २०८३ २१:३८ | Friday, June 26, 2026
38
SHARES
इन्धन सहजताले देखाएको छिमेकी भारतको मौन सन्देश

काठमाडौँ- विश्व राजनीतिमा कहिलेकाहीँ बन्दुक र बमले होइन, पेट्रोलियम ट्यांकरले नै सबैभन्दा प्रभावशाली भाषा बोल्छ। पछिल्ला महिनाहरूमा पश्चिम एसियाको तनाव, इरान-इजरायल द्वन्द्व र त्यसमा अमेरिकाको प्रत्यक्ष संलग्नताले अन्तर्राष्ट्रिय ऊर्जा बजारलाई अस्थिर बनाएको थियो।

युद्धविरामपछि सहज हुने संकेत देखिए पनि ढुवानी खर्च, बिमा प्रिमियम र जोखिम अझै कायम छ। तर ठ्याक्कै यही अशान्त परिवेशमा भारतले नेपालतर्फ इन्धन आपूर्ति निर्वाध रूपमा जारी राख्नु कुनै साधारण व्यापारिक निर्णय होइन, बरु शान्त कूटनीतिक सन्देश हो।

नेपालमा राजनीतिक परिवर्तनसँगै नयाँ राजनीतिक दलबाट युवा नेतृत्व आएको बेला इन्धन आपूर्तिमा कुनै अवरोध उत्पन्न भएको भए धेरैले त्यसलाई ‘दिल्लीको दबाब’ को रूपमा व्याख्या गर्ने थिए। तर भारतले त्यस्तो अवसर दिएन। यो सावधानीपूर्ण कदमले देखाउँछ कि नेपालसँगको सम्बन्धमा भारतले आपूर्ति शृंखलालाई राजनीतिक हतियार बनाउन चाहँदैन।

नेपालमा संविधान जारी भएपछि आन्दोलनमा उत्रिएका मधेश केन्द्रित दलहरूले राजधानी काठमाडौँलाई प्रभावित पार्न नाकाबन्दी गर्ने रणनीति लिए। यसै अनुरूप मधेश केन्द्रित दलहरूको आह्वानमा आन्दोलनकारीहरू नाका बन्द गरेर धर्नामा बसे। परिणामस्वरूप नाकाबाट हुने इन्धनलगायतका सामग्रीको ढुवानी ठप्प भयो। र, काठमाडौँ प्रभावित बन्यो। तत्कालीन सरकारले आन्दोलनकारीलाई सहयोग पुग्ने गरी भारतले नै अघोषित रूपमा नाकाबन्दी गरेको आरोप लगायो। यद्यपि सरकारको यो आरोपलाई न आन्दोलनकारीले स्वीकार्यो न भारतले नै। भारत सरकारले आन्दोलनकारीले नाका बन्द गरेर धर्नामा बसेकाले आपूर्तिमा समस्या भएको भारतले तर्क गरेको थियो।

हुनत यो विषय भारतको संसदमा समेत प्रवेश पाएको थियो। त्यहाँका विपक्षी दलले भारत सरकारकै इशारामा नेपालमा नाकाबन्दी गरिएको आरोप लगाएको थियो। तर भारत सरकारले यो आरोपलाई खन्डन गरेको थियो।

भारतबाट इन्धनको प्रयाप्त आपूर्ती नहुँदा त्यसबेला इन्धन अभावले आर्थिकभन्दा बढी मनोवैज्ञानिक घाउ लगाएको थियो। भारतले पनि त्यसबाट पाठ सिकेकोले यसमा निकै सजक देखिन्छ र भारतले नेपालसँग आपूर्ति अवरुद्ध गर्नु दीर्घकालीन रूपमा आफूलाई नै असर गर्ने र अपजस आउने हुनाले पनि त्यस्तो काम गरेको देखिँदैन।

अहिलेको निरन्तर आपूर्ति नेपाल र भारतबीचको विश्वास पुनर्निर्माणको हिस्सा हो, जसलाई ‘सप्लाई डिप्लोमेसी’ को सुन्दर उदाहरण मान्न सकिन्छ। नेपालको सम्पूर्ण पेट्रोलियम आवश्यकता पूर्ण रूपमा भारतबाटै आपूर्ति हुन्छ। त्यसमा अहिले उसले कत्तिपनि कमि हुन दिएको छैन। जुन उदाहरणीय छ। जबकि भारतले आफ्नै मुलुकमा कोटा प्रणालीमा इन्धन उपलब्ध गराएको छ।

खुला सीमा, मोतिहारी अमलेशगञ्ज पाइपलाइन, रेल तथा सडक सञ्जालले दुई देशलाई आर्थिक र भौतिक रूपमा जोडेको छ। यो निर्भरता केवल तथ्यांकमा सीमित छैन। सीमावर्ती क्षेत्रमा एउटै परिवारका सदस्य दुई देशमा बाँडिएका छन्, लाखौँ नेपाली भारतमा काम गर्छन्, भारतीय नागरिक नेपालमा व्यवसाय गर्छन्।

विवाह, संस्कृति, धर्म र दैनिक जीवनका हजारौँ आयामले दुवै समाजलाई एकअर्कासँग गाँसेका छन्। त्यसैले इन्धनको निरन्तर प्रवाहले सीमापारीको सामाजिक-आर्थिक जीवनलाई पनि सहज बनाइरहेको छ। ग्यासमा अभाव होला कसैले भण्डारण गर्लान् भनेर सरकारले ग्यास आधा सिलिन्डर उपलब्ध गराउन उद्यमीलाई निर्देश गर्‍यो। जसले गर्दा कतै केही अभावको अनुभव हुन पाएन।

नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध पनि रहेको छ। तर नेपालले यसबाट एउटा स्पष्ट सन्देश लिनुपर्छ, भारतले सहयोग गरिरहेको छ भन्दैमा परनिर्भरतालाई स्थायी नीति बनाउनु बुद्धिमानी हुँदैन। यसमा नेपालले विद्युतिय ऊर्जाको उपयोग बढाउने तर्फ लाग्नुपर्छ। घरघरमा विद्युतिय चुल्होको प्रयोगमा जोडदिँदै त्यसका लागि सरकारले विद्युत आपूर्तिको प्रशारण लाइनहरुको क्षमता बढाउने तर्फ लाग्नुपर्छ।

ऊर्जा सुरक्षाका लागि भण्डारण क्षमता विस्तार, वैकल्पिक स्रोतको खोजी, विद्युत्मा आधारित यातायातको विकास र आपूर्ति प्रणालीको विविधीकरण अत्यावश्यक छ। मित्रता र सौहार्दताले जोखिम घटाउन सक्छ, तर पूर्ण निर्भरता हटाउन सक्दैन। यसैगरी, नेपाल-भारत सम्बन्धलाई जिरो समको दृष्टिकोणबाट मात्र हेर्नु पनि उचित हुँदैन।

चीनसँग सम्बन्ध बढाउँदा भारत बिग्रिन्छ वा भारतसँग नजिकिँदा चीन टाढिन्छ भन्ने संकीर्ण सोचबाट सरकार र कर्मचारीतन्त्र माथि उठ्नुपर्छ। भारतको स्पष्ट सन्देश वा संकेत छ –  राजनीतिक परिवर्तन भए पनि आधारभूत द्विपक्षीय सम्बन्धको निरन्तरतामा कुनै प्रभाव पर्न नदिने। यसमा भारत संवेदनशिल पनि देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अझै दबाबमा छ, आपूर्ति जोखिम पूर्ण रूपमा टरेको छैन। तर नेपालतर्फ इन्धन सहज रूपमा प्रवाह भइरहनु आफैंमा सकारात्मक कुरा हो। यो सरकार-सरकारबीचको सम्बन्धभन्दा माथि नागरिक-नागरिकबीचको विश्वास, साझा इतिहास र खुला सीमाको जीवन्त प्रमाण हो।

नेपाल र भारतबीचको सबैभन्दा बलियो पुल कुनै सन्धि वा औपचारिक वक्तव्य होइन, सीमापारीको दैनिक विश्वास, साझा संस्कृति र रोटी-बेटीको सम्बन्ध नै हो। विश्व अशान्त हुँदा यिनै सम्बन्धहरूको साँचो परीक्षा हुन्छ।

अहिले इन्धन ट्यांकरले बोकेर ल्याएको सन्देश स्पष्ट छ- मतभेद हुन सक्छन्, प्राथमिकता फरक हुन सक्छन्, तर संकटका बेला सम्बन्ध टुट्न नदिने साझा समझदारी अझै जीवित छ। यसैलाई दीर्घकालीन रणनीतिक साझेदारीमा बदल्न सके दुवै देश लाभान्वित हुनेछन्। यो इन्धन मात्र होइन, विश्वासको ट्यांकर हो।

प्रकाशित: १२ असार २०८३ २१:३८ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast