बुटवल- सरकारले देशैभर सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई हटाउने तयारी गरेपछि बुटवलमा आन्दोलनको घोषणा गरिएको छ।
नेपाल भूमिहीन सुकुम्वासी अव्यवस्थित संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो। घोषित कार्यक्रम अनुसार पहिलो चरणमा वैशाख २४ गते बुटवलमा बृहत् विरोध प्रदर्शन गर्ने संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए।
उनका अनुसार रुपन्देही जिल्लाभरका अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्वासीहरुको सहभागितामा सरकारको कदमविरुद्ध प्रदर्शन हुनेछ। वर्तमान बालेन नेतृत्वको सरकारले काठमाडौँसहित देशैभर डोजर आतंक सिर्जना गरेको भन्दै आफ्नै देशभित्र बस्न नपाउने अवस्थाका विरुद्ध सडकमा उत्रन बाध्य भएको उनले बताए।
‘२० औँ हजारको सहभागितामा विरोध प्रदर्शन हुन्छ, यसपछि पनि सरकारले नसुने कडा संघर्षमा उत्रनेछौँ,’ पौडेलले भने। उनले प्रजातान्त्रिक आन्दोलनदेखि बुटवले इतिहास बनाएको हुँदा सरकारको कदमको प्रतिकारका रूपमा जनप्रदर्शन गरिने बताए। आइतबार मात्रै बुटवल माेतिपुर रानीगञ्ज क्षेत्रका सुकुम्वासीहरूले प्रदर्शन गरेका थिए।
लुम्बिनी प्रदेशमा ३ लाख भन्दा बढी सुकुम्वासीहरू रहेकाले अब आफूहरूमाथि भएको अन्यायका विरुद्ध उभिने संयोजक पौडेलको दाबी छ। बुटवलमा २० हजार र रुपन्देहीमा ७० हजार बढी अव्यवस्थित बसोबासी, भूमिहीन र अव्यवस्थित बसोबासी रहेको अनुमान छ।



