कांग्रेसले भन्यो- भारत र चीनलाई पठाइएको कूटनीतिक नोट सकारात्मक

हिमाल प्रेस २२ वैशाख २०८३ १०:३१ | Tuesday, May 5, 2026
6
SHARES
कांग्रेसले भन्यो- भारत र चीनलाई पठाइएको कूटनीतिक नोट सकारात्मक

काठमाडौँ- लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको साेमबारको बैठकले सो बारेमा निर्णय गर्दै वि.सं. २०७२ मा पार्टीका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले उक्त विषय तत्काल सच्याउन आग्रहसहित भारत र चीन दुवै सरकारलाई कूटनीतिक नोट पठाएको कूटनीतिक पहल सम्बन्धमा समेत स्मरण गराएको छ।

गगनकुमार थापा सभापतित्वको बैठकले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारत र चीन बीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको र यस सम्बन्धमा कांग्रेसले विगतदेखि संस्थागत धारणा स्पष्ट ढंगले राख्दै आएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सन् १८१६ को सुगौली सन्धि, नेपालको ऐतिहासिक नक्सा, अभिलेख, दस्तावेज र प्रमाणको आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपालको भूमि भएको आधिकारिक दृष्टिकोण कांग्रेसले राख्दै आएको छ।

‘कांग्रेस यो दृष्टिकोण र अडानमा स्पष्ट छ। भारत र चीन दुवै देशले नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुनेछन् भनी कांग्रेसले विश्वास लिएको छ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ वैशाख २०८३ १०:३१ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast