फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि महाधिवेशन गर्न नसकेका भ्रातृ संघका केन्द्रीय समितिहरूलाई विघटन गर्ने निर्णय गरेको हो।
कांग्रेस पार्टी कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले महाधिवेशन गर्न नसकेको भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय भएको जानकारी दिए।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ र नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिइसकेको र अन्यले समयमा अधिवेशन गर्न नसकेको भन्दै समितिहरू स्वतः विघटन भएको घोषणा गरिएको कार्यवाहक मुख्य सचिव दुलालले बताए।
उनका अनुसार ती भ्रातृ संस्थाहरूको महाधिवेशन गर्ने जिम्मा पार्टी सभापतिलाई दिइएको छ। यद्यपि नेपाल थारु संघको म्याद भने २०८३ जेठसम्म थप गरिएको छ।
बैठकले संसदी मामिला सहजीकरण संयन्त्रको संयोजकमा केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीलाई तोकेको छ। त्यस्तै मर्यादा निर्धारण समितिमा नानु वास्तोला र रामपल्टन साहलाई मनोनीत गरेको छ।
बैठकमा उपसभापतिद्वद्ध विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदी पौडेल र गुुरुराज घिमिरेलगायतका पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।



