२०६२/६३ का आन्दोलनकारी दलहरूले समझदारी उल्लंघन गरे : कमल थापा

हिमाल प्रेस ११ वैशाख २०८२ ११:४२ | Thursday, April 24, 2025
२०६२/६३ का आन्दोलनकारी दलहरूले समझदारी उल्लंघन गरे : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०६२/६३ सालको आन्दोलनमा सहभागी दलहरूले समझदारी उल्लंघन गरेको आरोप लगाएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका छन्।

उनले उक्त आन्दोलनबाट संविधानसभाबाट राजसंस्थासहितको प्रजातन्त्र कायम गर्ने दलहरू र दरबारबीच समझदारी भएको दाबी गरेका छन्। तत्काल सात दल र माओवादीले गरेको १९ दिन लामो सडक संघर्षपछि २०६३ वैशाख ११ गते त्यतिबेलाका राजा ज्ञानेन्द्र प्रतिनिधिसभा स्थापना गर्न सहमत भएका थिए। त्यसपछि १० वर्षे माओवादी सशस्त्र विद्रोहको अन्त्य भएको थियो। दुईदुईपटक संविधानसभा निर्वाचन भएपछि देशले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान पाएको थियो।

थापाले भनेका छन्, ‘जनभावनाको सम्मान गर्दै राजा ज्ञानेन्द्रबाट सार्वभौमसत्ता जनतामा निहित रहने घोषणा भएको तथा संविधानसभाबाट राजसंस्था सहितको प्रजातन्त्र कायम गर्ने दलहरु र दरबारबीच समझदारी भएको ऐतिहासिक दिन हो- २०६३ साल वैशाख ११।’ त्यति बेलाको शाही घोषणा राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरणप्रतिको प्रतिबद्धता रहेको दाबी थापाको छ।

उनले भनेका छन्, ‘राष्ट्रिय मेलमिलापको ज्वलन्त उदाहरण हो। त्यही घोषणा र समझदारीको सम्झनामा वैशाख ११ लाई लोकतन्त्र दिवस मनाउन थालिएको हो।’

सात दल र माओवादी मिलेर शाही सरकारविरुद्ध आन्दोलन गर्दा कमल थापा उपप्रधान एवम् गृहमन्त्री थिए। थापाले भनेका छन्, ‘आन्दोलनकारी दलहरुले समझदारीको उल्लंघन गरेको कारण देश संकटमा पर्‍यो। विगतका कमीकमजोरी सच्याउँदै उक्त घोषणा र समझदारी कार्यान्वयन गरी देश बचाउन र बनाउन आजको दिनले प्रेरणा प्रदान गरोस्।’

प्रकाशित: ११ वैशाख २०८२ ११:४२ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast