उद्धव थापालाई गरिएको कारबाहीप्रति कमल थापाको आपत्ति

हिमाल प्रेस ४ भदौ २०८३ १७:१४ | Thursday, August 20, 2026
12
SHARES
उद्धव थापालाई गरिएको कारबाहीप्रति कमल थापाको आपत्ति

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बागमती प्रदेशसभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन्।

बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले उद्धब थापालाई जबरजस्ती कारवाही गरेको भन्दै आफ्नो असहमति रहेको बताए।

संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीको निर्णय पार्टीको विधि, विधान र पद्धतिविपरीत हतारमा र जबर्जस्ती लादिएको उनले बताए।

उनले आफू लगायत केही नेताहरूले उक्त निर्णयको विपक्षमा लिखित रूपमै फरक मत दर्ता गराएको जानकारी दिए। नेता थापाले विगतका अभ्यास, पार्टी विधान र कमजोरीहरूको समग्र अध्ययन गर्न पहिले एक निष्पक्ष छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए।

उनले बागमती प्रदेश संसदीय दलले केन्द्रको निर्देशनका लागि अन्तिम समयसम्म प्रतीक्षा गरेको तर सरकार गठनबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएपछि बहुमत सदस्यहरूको निर्णयबाट कदम चालेको दाबी गरे।

उनले पार्टी पहिलेदेखि नै संकटमा रहेको अवस्थामा हैकमवादी शैलीमा नेता–कार्यकर्तामाथि कारबाही गर्दै जाँदा संगठन थप ध्वस्त हुने चेतावनी दिए।

राप्रपाले बागमती प्रदेशसभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको निर्णयविपरीत प्रदेश सरकार गठनमा समर्थन दिने काममा संलग्न भएको भन्दै पार्टीको साधारण सदस्य र प्रदेश सभा सदस्य दुवै पदबाट पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन्।

बागमती प्रदेशसभा संसदीय दलका नेता थापाले पार्टीको निर्णय र बारम्बार दिइएको निर्देशनविपरीत एमालेका मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार किरण थापा मगरलाई समर्थन पत्र बुझाएकाले कारवाही गरिएको उनले बताए।

केन्द्रीय कार्यसम्पादन समितिले सत्ता निर्माण वा विघटनको कुनै पनि खेलमा नलाग्ने र आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय यसअघि नै गरेको उनले बताए।

सोही अनुसार साउन २१ गते प्रदेश सभाका सबै सांसदहरूलाई लिखित तथा मौखिक रूपमा तटस्थ बस्न स्पष्ट निर्देशन दिइएको समेत अध्यक्ष लिङ्देनले बताए।

भदौ १ गते पुनः पत्राचार गरी सरकारको समर्थन वा विरोधमा नलागी ‘तटस्थ’ बस्न स्पष्ट निर्देशन जारी गरिएकोमा त्यसको उल्लंघन भएको उल्लेख उनले बताए। उनले एमालेले राप्रपासँग औपचारिक रूपमा कुनै छलफल, पत्राचार वा समर्थनको आग्रह नगरी सिधै प्रदेशसभा सदस्यहरूलाई प्रभावित पारी ‘चलखेल’ गरेको आरोप लगाए।

पार्टी अनुशासनको गम्भीर उल्लंघन भएकाले संसदीय दलका नेतालाई कारबाही गरिएको र अब गठन हुने सरकारमा सहभागी हुने अन्य सांसदहरूलाई समेत कारबाही गरिने उनले चेतावनी दिए।

प्रकाशित: ४ भदौ २०८३ १७:१४ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast