
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले चैत २५ गते काठमाडौँमा कालो मास्क लगाएर मौन जुलुस निकाल्न सबै शिक्षक र कर्मचारीलाई अनुरोध गरेका छन्। उनले बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर जुलुसमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन्।
सुवेदीले भने, ‘कालो मास्कसहित ठिक ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबै शिक्षक–कर्मचारीलाई अनुरोध छ।’ उनले काठमाडौँ नआएको शिक्षक र कर्मचारीलाई पनि भने, ‘अब त स्कुल सबै बन्द भए, अब काठमाडौँ आउन कुनै बाधा छैन। हामी तपाईंलाई पर्खिरहेका छौं। तपाईंलाई काठमाडौँमा भेटेर सँगै जुलुसमा जान र नारा लगाउन मन छ। के हामीलाई त्यो अवसर प्राप्त होला?’
अध्यक्ष सुवेदीले यस आन्दोलनको बलियो बनाउन सबै शिक्षक र कर्मचारीलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै भने, ‘सबैले मनन गरौं- ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो सहभागिता, बलियो आन्दोलन, बलियो उपलब्धि।’