शिक्षा ऐन जारी गर्ने महासचिव पोखरेलको प्रतिबद्धता, शिक्षक महासंघको आन्दोलन कायमै

हिमाल प्रेस २९ फागुन २०८१ १०:१९
1.2k
SHARES
शिक्षा ऐन जारी गर्ने महासचिव पोखरेलको प्रतिबद्धता, शिक्षक महासंघको आन्दोलन कायमै

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्ने गरी सरकारले काम अगाडि बढाएको बताएका छन्।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा नेपाल शिक्षक महासंघले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले शिक्षासँगै अड्किएका कानुन चाँडै ल्याउनका लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताए। ‘राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासात गर्दै शिक्षा ऐन जारी गर्छ। यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाए हुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ’, उनले भने।

महासचिव पोखरेलले शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन शिक्षक महासंघको सहयोग आवश्यक रहेको बताए। साथै, शिक्षकहरूको नेतृत्वमा रहेका नेताहरूले आफ्ना विद्यालयहरू राम्रो बनाउन लाग्नुपर्ने सुझाव दिए। उनले नेपालमा शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरालाई बिर्सन नहुने बताए।

पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। ‘नेपालको शिक्षाले अब सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्छ। शिक्षाले नागरिक कर्तव्यसहितको जनशक्ति उत्पादन गर्नुपर्छ’, उनले भने।

महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत फागुन २७ देखि चैत ५ गतेसम्म शिक्षा ऐन जारी गर्न प्रमुख राजनीतिक दलका कार्यालयहरूमा प्रतिनिधिमूलक धर्ना दिइरहेको छ।

महासचिव पोखरेलले संघीयता र संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू वर्तमान सरकारले निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षकहरूको माग सम्बोधन गर्न नेपाल शिक्षक महासंघको धर्नालाई समर्थन गर्दै सरकार यस विषयलाई तदारुकताका साथ अघि बढाउने स्पष्ट पारे।

‘राज्यले शिक्षकहरूको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मसाथ गर्दै शिक्षा ऐन जारी गर्छ। यो विषयलाई यही सदनमा टुंग्याउन पाए हुन्थ्यो भनेर हामी आफैं लागिरहेका छौँ’, उनले दोहोर्‍याए। ऐनमा समेटिने विषयहरूमा एकमत बनाउन सबैको प्रयास आवश्यक रहेको उनले बताए।

पोखरेलले शिक्षकहरूको नेतृत्वमा रहेका नेताहरूले आफ्ना विद्यालयहरू राम्रो बनाउनुपर्नेमा जोड दिए। ‘नेताहरूले जिम्मा लिएका विद्यालय राम्रा बनाउनुपर्छ, यसबाट अरूले पनि पाठ सिक्छन्’, उनले भने।

उनले नेपालमा राजनीतिक दलहरूले शिक्षामा समस्या ल्याएको भन्ने धारणा गलत रहेको बताए। ‘अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सन हुँदैन’, उनले थपे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast