
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सामुदायिक विद्यालयका शिक्षकप्रति रुष्ट बनेका छन्। काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा शिक्षामा लगानीअनुसारको नतिजा नदेखिएको भन्दै शिक्षकप्रति रुष्ट र निर्मम बनेका हुन्।
तलब, सेवासुविधा वृद्धि, गुणस्तरीय शिक्षालगायतको माग गर्दै देशभर शिक्षक कर्मचारीले आन्दोलन गरिरहेका बेला प्रधानमन्त्री ओलीले एसईईमा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण गराउने शिक्षकको तलब बढाउन आवश्यक नभएको बताए।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यतिबिघ्न शिक्षक छन्। अस्थायीलाई स्थायी गरिदेऊ भनेको छ। करारलाई स्थायी गरिदेऊ भनेका छन्। तनखा बढाउ पुगेन भनेको छ। किन बढाउने तनखा ४८ प्रतिशत पास गर्न? ५२ प्रतिशत फेल गर्न?’
प्रधानमन्त्री ओलीले ५२ प्रतिशत फेल गर्ने प्रणाली नै रद्द गर्नुपर्ने बताउँदै ५२ प्रतिशत अभिभावक र युवा वर्गको सपना १० कक्षामै समाप्त भएको जिकिर गरे। ‘५२ प्रतिशत युवा वर्गको सपना एसईईमै समाप्त। यस्तो गर्नुहुँदैन। म दावाका साथ भन्छु, हाम्रो युवा वर्ग लद्दु छैन, बुद्दु छैन। ट्यालेन्ट छ, जिनियस छ। पढाउन सुविधा दिँदैनौं, राम्रोसँग पढाउन सक्दैनौं, राम्रोसँग ज्ञान सम्प्रेषण गर्दैनौं, त्यो कमजोरी उसलाई बोकाउने?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे। गतवर्ष एसईईमा ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए।
प्रधानमन्त्री ओलीको उक्त भनाइप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षा समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक संसद्को जारी हिउँदे अधिवेशनबाट जारी गर्न प्रधानमन्त्री तयार छ्न् त? भन्दै प्रश्न गरेका छन्।
अध्यक्ष अधिकारीले भने,‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र प्रधानमन्त्रीको सोच्ने तरिका फरक भएपछि विद्यालय शिक्षा विधेयक ल्याउन सम्भावना छ?’ उनले शिक्षक आन्दोलन कमजोर हुँदा इतिहासले नै गिज्ज्याइ रहने बताए।
शिक्षक महासंघ टोलीसँग देउवाले भने : शिक्षा विधेयक पारित गर्न प्रधानमन्त्रीसँग कुरा गर्छु