ओलीको बचाउ गर्दै देउवाले भने : अविश्वास गर्नुपर्ने कारण छैन

हिमाल प्रेस २२ माघ २०८१ १३:४९
10
SHARES
ओलीको बचाउ गर्दै देउवाले भने : अविश्वास गर्नुपर्ने कारण छैन

पोखरा- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिल्नुपरेको प्रस्ट पारेका छन्। कांग्रेसका ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभाग प्रमुखहरूको अभिमुखीकरण कार्यक्रमलाई पोखरामा मंगलबार सम्बोधन देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अविश्वास गर्नुपर्ने कारण नरहेको बताए।

उनले लामो समयसम्म कांग्रेस-एमालेबीच सत्ता गठबन्धन भएमा राजनीतिक स्थायित्व हुन सक्ने उनको दाबीसमेत थियो। नेपालको संविधान विश्वकै उत्कृष्ट भए तापनि संविधानको प्रयोगमा आएका केही कठिनाइ सम्बोधन गर्न संविधानको संशोधन आवश्यक रहेको उनले बताए। त्यसका निम्ति एमालेसँग सहमति भइसकेको र अन्य दललाई पनि मिलाएर अघि बढ्नुपर्ने उनले बताए।

सभापति देउवाले वर्तमान संविधानमा राखिएको संघीय लोकतान्त्रिक व्यवस्था उच्चतम् व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकार समेटेको बताए। उनले कांग्रेसले खुला अर्थनीति ल्याएको र कांग्रेसकै नेतृत्वमा पछिल्लो संविधान जारी भएको बताए। उनले जलवायु परिवर्तनका कारण धेरै समस्या निम्तिएको बताउँदै न्यूनीकरणका लागि सबैजना मिलेर काम गर्नुपर्ने उल्लेख गरे।

प्रशिक्षण विभाग प्रमुख एवम् पार्टी उपाध्यक्ष  पूर्णबहादुर खड्काले कांग्रेसले नै संघीयताको नीति ल्याएको दाबी गरे। उनले संघीयता अझै बलियो बनाएर लैजानुपर्नेमा समेत जोड दिए। उनले आन्तरिक रुपमा पार्टीका समस्याको समाधान गर्दै जानुपर्छ भन्दै आफूले टिकट पाउँदा ठिक छ र अरुले पाउँदा ठिक छैन भन्न नहुने सुझाव दिए। उनले कार्यकर्तालाई निराशा बाँड्न नहुने बताए।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा भएको अभिमुखीकरणमा पार्टीको ७७ वटै जिल्लाका सभापति, जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापति गरी करिब २ सय जनाले भाग लिएका छन्। सोमबार कांग्रेसका प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रम भएको थियो।

आइतबार कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलन उद्घाटन गर्न पोखरा आएका पार्टी सभापति देउवा ३ दिनदेखि पोखरामै छन्।

प्रकाशित: २२ माघ २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast