८१ वर्षमा देउवा : शक्ति गुम्यो, हटेन तृष्णा

किरण पौडेल ८ असोज २०८३ १५:५७ | Thursday, September 24, 2026
12
SHARES
८१ वर्षमा देउवा : शक्ति गुम्यो, हटेन तृष्णा जन्मदिनका अवसरमा शनिबार आफ्नो निवासमा आयोजित कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर स्रोत : सचिवालय

काठमाडौँ- कुनै समय जन्मदिनको शुभकामना दिन निवासमा नेताकार्यकर्ताको लर्को लाग्थ्यो। सत्ताको केन्द्रमा रहेका बेला शेरबहादुर देउवाको जन्मदिन राजनीतिक भेटघाट र शुभेच्छुकको भीडले भरिन्थ्यो। तर यसपटक दृश्य फेरिएको छ।

पूर्वप्रधानमन्त्री देउवा बुधबार ८१ वर्ष पुगे। तिथिअनुसार उनले निवासमै सामान्य पूजा गरेर जन्मदिन मनाए। जन्मोत्सवमा न कुनै भव्य कार्यक्रम भयो, न शुभकामना दिन आउनेको भीड नै देखियो। ‘पूजा मात्र लगाएको हो। अरू केही होइन,’ देउवाका स्वकीय सचिव भानु देउवाले हिमालप्रेससँग भने, ‘शुभकामना दिनेहरू पनि खासै छैनन्।’

देउवाको जन्मदिनबाट राजनीतिक तामझाम हराएको यो पहिलो वर्ष भने होइन। गत वर्ष जेनजी आन्दोलनले मुलुकको सत्ता समीकरण उलटपुलट पार्दा देउवा आफैँ पनि असामान्य परिस्थितिमा थिए। उनको निवास जलेको थियो। लामो समयदेखि आफूसँग रहेको राजनीतिक शक्ति खस्किएको थियो।

कुनै बेला देउवाको जन्मदिनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार बोलाएर शुभकामना दिन्थे। २०७९ को जन्मदिनमा त्यस्तै थएको थियो। देउवा कांग्रेस सभापति थिए र भावी प्रधानमन्त्रीका रूपमा राजनीतिक वृत्तमा उनको स्थान सुरक्षितजस्तै थियो।

अहिले त्यो अवस्था छैन। कांग्रेस सभापति पद गुमेको छ। ओलीसँग भएको सत्ता साझेदारीको सहमतिअनुसार प्रधानमन्त्री बन्ने पालो पनि जेनजी आन्दोलनसँगै टर्‍यो। करिब पाँच महिना विदेश बसेर साउन २८ मा नेपाल फर्किएका देउवा अहिले सत्ताको शिखरमा होइन, पार्टीभित्र आफ्नो राजनीतिक ठाउँ जोगाउने संघर्षमा छन्।

देउवा अहिले कम बोल्छन्। भेटघाट पनि सीमित छ। सार्वजनिक सभामा लामो भाषण गर्ने उनको शैली पहिलेबाटै थिएन। तर सिंगापुरबाट फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा देखिएको दृश्य भने भिन्न थियो। कांग्रेस कार्यकर्ताको ठूलो भीडले उनलाई स्वागत गर्‍यो। समर्थकहरूको स्कटिङमा उनी आफ्नै पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगे। त्यसपछि देउवा समूहले गतिविधि बढायो।

उनको समूहले डा. शशांक कोइरालालाई संयोजक बनाएर गतिविधि अघि बढाएको छ। देउवाकै उपस्थितिमा राष्ट्रिय भेला पनि गरिसकेको छ। कांग्रेस अहिले विभाजनको संघारमा पुगेको छ।

गगन थापाले विशेष महाधिवेशनमार्फत सभापतिको जिम्मेवारी लिएपछि देउवा पार्टी संरचनामा कमजोर बनेका छन्। तर शक्ति राजनीतिबाट उनले आफूलाई भिन्न गरेका छैनन्। वयोवृद्ध अवस्थामा पुग्दा पनि कुनै पद पाउँछु कि भन्ने आस देउवको देखिन्छ। पार्टी विधानअनुसार दुई कार्यकाल सभापति भइसकेका देउवा पार्टीमा भने सक्रिय नहोलान्।

उनीनिकट नेताहरू देउवालाई फेरि राजनीतिक केन्द्रमा स्थापित गर्ने प्रयासमा छन्। ‘हामी भव्य रूपमा महाधिवेशन गर्नेछौँ। पुरानो झझल्को आउने गरी यसपटक महाधिवेशन हुन्छ,’ कांग्रेस नेता दीपक कुइँकेल भन्छन्।

सभापति खोसियो, प्रधानमन्त्रीको पालो पनि टर्‍यो

देउवा निकट नेताहरूका अनुसार उनी सहज ढंगले राजनीतिक अवतरण गर्ने तयारीमा थिए। तर परिस्थितिले उनलाई त्यस्तो अवसर दिएन। गगन थापाले विशेष महाधिवेशनमार्फत सभापतिको जिम्मेवारी लिए। देउवा सभापति पद पुनःस्थापनाको माग गर्दै निर्वाचन आयोगदेखि अदालतसम्म पुगे। तर अहिलेसम्म त्यसबाट उनलाई अपेक्षित परिणाम प्राप्त भएको छैन।

त्यसअघि नै प्रधानमन्त्री बन्ने उनको पालो पनि टरिसकेको थियो। २०८१ सालमा ओली प्रधानमन्त्री बन्दा ओली-देउवाबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो। त्यसअनुसार देउवा प्रधानमन्त्री बन्ने तयारीमा थिए। तर त्यसअघि नै जेनजी आन्दोलन भयो, सत्ता समीकरण भत्कियो र प्रतिनिधिसभा विघटन भयो।

यसरी देउवाको हातबाट एकैपटक पार्टी नेतृत्व र सत्ताको सम्भावित नेतृत्व दुवै फुत्कियो।

लामो राजनीतिक जीवनमा देउवाले सत्ता गुमाएका छन्, पार्टी फुटाएका छन्, फेरि पार्टीमा फर्किएका छन्, प्रधानमन्त्री बनेका छन्, पदबाट हटाइएका छन् र पुनः प्रधानमन्त्री बनेका छन्। तर अहिलेको अवस्था भिन्न छ।

उमेरले ८१ छोएको छ। पार्टी सभापतिको पद छैन। प्रधानमन्त्री बन्ने पूर्वसहमति कार्यान्वयन हुन पाएन। कांग्रेसभित्र नयाँ शक्ति संरचना निर्माण भइरहेको छ।

यहीबीच अदालतमा कांग्रेस विभाजनसम्बन्धी मुद्दामा प्रक्रिया अघि बढेपछि देउवा आफ्नो पक्षमा परिणाम आउने आशामा छन्। उनीनिकट नेताहरू पनि अदालतको निर्णयलाई पर्खेर बसेका छन्।

देउवा निकट एक नेता भन्छन्, ‘हामी देउवाकै निर्देशनमा निष्क्रिय भएका हौँ। अदालतले जसको पक्षमा निर्णय दिन्छ, त्यसैलाई मान्ने हाम्रो रणनीति हो। अदालतले गगन थापा नेतृत्वको कांग्रेसका पक्षमा निर्णय गरेमा उहाँले थापालाई मै माला लगाइदिउँला भन्नुभएको छ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने कांग्रेस विभाजनको सम्भावना बलियो रहेको र त्यसले देउवाको राजनीतिक पुनरागमनलाई प्रभावित पार्न सक्ने बताउँछन्।

‘कांग्रेस विभाजन पक्का छ। कसैले रोक्न सक्दैन। देउवा पनि अब शक्तिमा आउँदैनन्,’ आचार्य भन्छन्।

८१औँ जन्मदिनमा देउवाको निवासमा तामझाम नदेखिनु सायद एउटा सामान्य पारिवारिक निर्णय हो। तर नेपाली कांग्रेसको शक्ति राजनीतिमा भने यो दृश्यले एउटा ठूलो परिवर्तनको संकेत गरिरहेको छ- सत्ताको केन्द्रमा रहेका देउवा अहिले आफ्नै राजनीतिक अस्तित्व र प्रभावको ठाउँ खोजिरहेका छन्।

विद्यार्थी राजनीतिबाट सत्ताको केन्द्रसम्म

डडेलधुरामा २००३ सालमा जन्मिएका देउवाको राजनीतिक यात्रा विद्यार्थी जीवनबाट सुरु भएको हो।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका उनी पछि नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य र सभापति बने। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका देउवा क्रमशः पार्टीका प्रभावशाली युवा नेताका रूपमा स्थापित भए।

२०४८ सालको आमनिर्वाचनमा डडेलधुराबाट निर्वाचित भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बने। त्यसपछि उनको राजनीतिक उचाइ निरन्तर बढ्दै गयो।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी प्रमुख प्रतिपक्षी दलका नेता बने। त्यसको केही समयपछि २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री भए।

त्यसपछि देउवा नेपाली राजनीतिमा लामो समयसम्म सत्ताको प्रमुख खेलाडी बनेर रहे।

२०५६ सालमा तेस्रोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी २०५८ सालमा दोस्रोपटक प्रधानमन्त्री बने। राजा ज्ञानेन्द्रले उनलाई पदबाट हटाए। पछि प्रतिगमनविरोधी आन्दोलन चर्किएपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बनेका देउवालाई ज्ञानेन्द्रले माघ १९ मा फेरि पदच्युत गर्दै प्रत्यक्ष शासन सुरु गरे।

त्यसपछि देउवामाथि शाही आयोगले भ्रष्टाचारसम्बन्धी अभियोग लगायो। उनले आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरे। शाही सरकारले उनलाई पक्राउसमेत गर्‍यो। सर्वोच्च अदालतले आयोग नै खारेज गरेपछि उनी रिहा भए।

पार्टी फुटाए, फेरि जोडिए

कांग्रेसभित्रको अन्तरसंघर्षमा देउवा आफैँ पार्टी विभाजन गर्ने तहसम्म पुगे। पार्टीको निर्णयविपरीत तत्कालीन माओवादीविरुद्ध लगाइएको संकटकाल थप्ने निर्णयपछि २०५९ सालमा कांग्रेसको कारबाहीमा परेका देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे र त्यसको सभापति बने।

पहिलो संविधानसभा निर्वाचनअघि २०६४ सालमा कांग्रेस प्रजातान्त्रिक मूल कांग्रेसमा विलय भयो। पार्टी एकतापछि देउवा फेरि कांग्रेसको मूल शक्ति संरचनामा फर्किए।

२०६४ र २०७० सालका संविधानसभा निर्वाचनमा पनि उनी निर्वाचित भए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित देउवा २०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट संसद् पुग्दै आएका छन्।

उनको राजनीतिक जीवनमा करिब नौ वर्ष जेलमा बितेका छन्। राजा ज्ञानेन्द्रको शासनकालमा भ्रष्टाचार अभियोगमा पक्राउ पर्नेदेखि प्रधानमन्त्रीका रूपमा माओवादी सशस्त्र द्वन्द्व सुरु भएको समयको नेतृत्व गर्नेसम्मका घटनाले उनको राजनीतिक जीवनलाई नेपालको पछिल्लो लोकतान्त्रिक इतिहाससँग गाँसेको छ।

प्रकाशित: ८ असोज २०८३ १५:५७ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast