बचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : देउवा

हिमाल प्रेस १९ माघ २०८१ १६:४५
8
SHARES
बचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

ललितपुर– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन्। साथै उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताएका छन्।

‘नेपाली कांग्रेस र सहकारी’ विषयमा पार्टीको सहकारी विभागले शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उनले बचतकर्ताको रकमको सुरक्षाका खातिर सहकारीमैत्री ऐन जारी भएको बताए।

बीपी कोइरालाले २०१६ मा अवलम्बन गरेको आर्थिक नीति र सहकारीको सान्दर्भिकता आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै सभापति देउवाले भने, ‘सहकारी मूल्य, मान्यता, मर्म र अवधारणा अनुसार सञ्चालन हुनुपर्छ, आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक छ, बचतकर्ताको रकम सुरक्षाको सुनिश्चितता हुनुपर्छ।’

पूर्वसचिव गोपीनाथ मैनालीले सहकारीका सदस्यले गरेको व्यवसायमा, सहकारीसहकारीबीचमा र राष्ट्र बैंकले जारी गर्ने डिबेञ्चर र नेपाल सरकारले जारी गर्ने ऋणपत्रमा मात्रै लगानी गर्न पाइनेमा ९० प्रतिशत गैरसदस्य कारोबार भएकाले समस्या सिर्जना गरेको बताए।

सहकारीमा पछिल्लो समय समस्या सिर्जना गरेर अरुलाई जिम्मेवार दिने प्रवृत्ति बढेकाले समस्या सिर्जना भएको उनले बताए। ‘सञ्चालक र सदस्यहरूबीचको साझा बन्धन टुटाएर समस्या आएको हो, पीडक पक्ष हाबी भएर पीडित पक्ष ओझेलमा परे, स्वनियमन घट्दै गयो, राजनीतिको छाताभित्र रहेर नीतिगत व्यवस्था प्रभावित पारियो, गलत गर्ने सहकारीले गलत स्वीकार्न सकेनन्,’ मैनालीले भने।

नेपाली कांग्रेस सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेलले सातै प्रदेशका सहकारीकर्मीसँग सहकारीको सुरक्षाका विषयमा छलफल भएको बताए।बचतकर्ताको बचत हिनामिना गर्दा सहकारीमा समस्या आएको उनको भनाइ थियो।
बचतकर्ताको रकम हिनामिना हुननदिनेतर्फ सबै सधैँ सचेत रहनुपर्नेमा उनको जोड थियो।

प्रकाशित: १९ माघ २०८१ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast