चिया बेचेरै मासिक ५० हजार आम्दानी, छोराछोरीलाई उच्च शिक्षा

हिमाल प्रेस ११ माघ २०८१ ६:०३
30
SHARES
चिया बेचेरै मासिक ५० हजार आम्दानी, छोराछोरीलाई उच्च शिक्षा

मोरङ- बेलबारी नगरपालिका-९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडिएका छन्। स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेको दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन्।

चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुंगो त हुँदैन तर औसतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ। हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ। सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार आम्दानी हुन्छ। पच्चीस वर्षअघि पसल सुरु गर्दा दुई रुपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ। त्यसबेला प्रतिलिटर १३ मा किनेको दूध हाल ८० पर्छ, महँगी धेरै बढ्यो।

स्वामकुमारीले भनिन्,‘त्यस समयमा जमिन सस्तो थियो त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ। त्यसबेला चिया दुई किसिमको बनाउनुपर्थ्याे, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो।’

त्यसबेला लोकल चिया प्रतिकप दुई र स्पेसल तीन थियो। छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो,अहिले उनीहरू जवान भए। यही पसलको कमाईले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउछन्।

कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने हो भने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताइन्। ‘त्यसबेला जंगल गएर दाउरा ल्याइन्थ्यो, दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो,अहिले ग्यास चुलोको प्रयोग गर्छौँ’, उनी बताउँछिन्।

स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउँछन्। समाजका हरेक सूचना पनि थाहा पाइन्छ। चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको। अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनी बताउँछिन्।

स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसके। उनी आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउँछन्। ‘वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बुढो भए पनि घरको चियाले धित मर्दैन’,राजवंशी भन्छन्। बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु। बुबाको जमानामा भारु पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ। बुबासँगै आएर चिया खाने बानी पर्‍याे राजवंशी बताउँछन्।

प्रकाशित: ११ माघ २०८१ ६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast