शिक्षामन्त्री भट्टराईलाई शिक्षक महासंघले भन्यो : आन्दोलनमा जाने भयौं

हिमाल प्रेस ८ माघ २०८१ १२:०२
5.1k
SHARES
शिक्षामन्त्री भट्टराईलाई शिक्षक महासंघले भन्यो : आन्दोलनमा जाने भयौं

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आफूहरू आन्दोलनमा जाने बताएको छ।

गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध र शिक्षक कर्मचारीका पेसागत माग सम्बोधन गराउन सरकार गम्भीर नभएको भन्दै महासंघले देशव्यापी आन्दोलन सुरु गर्न लागेको जानकारी शिक्षामन्त्री भट्टराईलाई गराएको हो। शिक्षामन्त्री भट्टराईलाई आन्दोलनबारे जानकारी दिन सोमबार महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा महासंघमा आबद्धसम्बद्ध संघसंगठनका प्रतिनिधि सिंहदरबार पुगेका थिए।

महासंघले शिक्षामन्त्री भट्टराईलाई बुझाएको पत्रमा भनिएको छ,‘२०७५, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनको बलमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच महत्त्वपूर्ण सहमतिहरू भएका छन्। ती सबै सहमति सम्बोधन हुने गरी शीघ्रातीशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा अनेक बहानामा विलम्ब गरी ऐन जारी हुन नदिने षड्यन्त्र हुन थालेको देखिन्छ। विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला ऐनले सम्बोधन गर्नुपर्ने निवृत्तिभरणसम्बन्धी विषयमा आमशिक्षकको भावना विपरीत अध्याधेश जारी हुनुले पनि यो कुराको पुष्टि गर्दछ।’

बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको उचित तलब, शिक्षकको ग्रेडमिलान, शिक्षकको मर्यादाक्रम जस्ता सरकारको निर्णयबाटै हुने सामान्य काम समेत नगरिनुबाट पनि सरकारको शिक्षा, शिक्षक कर्मचारी विरोधी सोच प्रष्ट भएको महासंघले बताएको छ।

महासंघले विज्ञप्तिमा थप भनेको छ, ‘विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी, विद्यालय, विद्यार्थी, शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउन हामी आन्दोलन जाने निश्चयमा पुगेका छौं। यो आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म रोकिने छैन। आन्दोलनबाट पर्न जाने असरबारे सरकार आफैँ जिम्मेवार हुने कुरा जानकारी गराउँछौं।’

प्रकाशित: ८ माघ २०८१ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast