मोरङ- मोरङमा युवतीमाथि बलात्कारको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो मोरङको कटहरी-२ स्थितमा २३ वर्षीया युवती अचेत अवस्थामा भेटिएकी थिइन्।
हात, खुट्टा बाँधिएको अवस्थामा उनी अचेत भेटिएपछि बलात्कार भएको हुन सक्ने आशंका गरिएको थियो। घटनामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा कटहरी-२ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनुकुमार साह र भारतको अररिया जिल्ला कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन्।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकामध्ये रमजानले ती युवतीमाथि बलात्कार गरेको र अन्य दुईजनाले भने हात, खुट्टा बाँध्न सघाएको खुलेको छ ।
‘घरदेखि केही पर गएको अवस्थामा अचानक मुख थुनेर सिटी सफारी (ईरिक्सा) मा राखेर बाँस घारीमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोत भन्छ, ‘घटनामा संलग्नमध्ये एक जनाले जबरजस्ती करणी गरेको र दुई जनाले हात, खुट्टा बाँध्न सघाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’
उनीहरूलाई मोरङका विभिन्न स्थानबाट प्रहरीले मंगलबार साँझतिर पक्राउ गरेको हो। पीडित युवतीको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।
पीडितको स्वास्थ्य परीक्षण लगायतको कार्य भइसकेको र रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीको भनाइ छ। प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ।