नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

हिमाल प्रेस ७ कार्तिक २०८१ १८:३५
14
SHARES
नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानमा हुने त्रिदेशीय मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने भएको छ। खेलमा नेपाल, ताजकिस्तान र अफगानिस्तान गरी तीन देश सहभागी हुनेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) बुधबार सामाजिक सञ्जालमार्फत खेल तालिका सार्वजनिक गरेको छ। जसअनुसार नेपालले नोभेम्बर १३ मा आयोजक ताजकिस्तानसँग खेल्नेछ र नोभेम्बर १६ मा अफगानिस्तानसँग खेल्नेछ। खेलहरू फिफा अन्तर्राष्ट्रिय विन्डोमा तय गरिएको छ। दुवै खेल दुशान्बे सेन्ट्रल स्टेडियममा हुनेछन्। प्रतियोगिता नोभेम्बर १३ देखि १९ तारिखसम्म सन्चालन हुनेछ।

फिफा वरीयतामा दुवै टोली नेपालभन्दा माथि रहेकाले यस प्रतियोगिताले नेपाललाई क्षेत्रीय प्रतिद्वन्द्वीहरू विरुद्ध आफ्नो शक्ति परीक्षण गर्ने अवसर प्रदान गर्नेछ। ताजकिस्तान हाल १०९औँ स्थानमा छ भने अफगानिस्तान १५७औँ स्थानमा छ। नेपाल १७६ औं स्थानमा छ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ। न्यौपानेले यसअघि नै ३६ खेलाडीलाई बन्द  प्रशिक्षणका लागि बोलाइसकेका छन्।

हेड टु हेड

नेपालले हालसम्म ताजकिस्तानसँग दुई पटक खेलेको छ। सन् २०१७ मा एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल १-२ ले पराजित भएको थियो, नेपालका लागि विमल घर्ती मगरले सान्त्वना गोल गरेका थिए। सन् २०१९ को दोस्रो खेलमा नेपालले ०-३ को हार बेहोरेको थियो।

त्यस्तै नेपालले अफगानिस्तानसँग ६ खेल खेलेको छ। जसमा तीनमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ। सन् २००३ मा भएको एएफसी एसियन कप छनोट खेलमा नेपालले अफगानिस्तानलाई ४-० ले हराएको थियो। २००८ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दुई टोलीले २-२ गोलको बराबरी खेलेका थिए भने सन् २००९ को साफ च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई ३-० ले हराएको थियो।

सन् २०११ मा एएफसी च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो। दुई टोलीले २०११ साफ च्याम्पियनसिपमा गोलरहित बराबरी खेलेका थिए भने नेपालले २०१३ साफ च्याम्पियनसिपमा ०-१ ले पराजित भएको थियो।

प्रकाशित: ७ कार्तिक २०८१ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =