बदलिँदो चुनौती सामना गर्न आईजीपीको निर्देशन

हिमाल प्रेस ५ कार्तिक २०८१ २१:२२ | Monday, October 21, 2024
बदलिँदो चुनौती सामना गर्न आईजीपीको निर्देशन

काठमाडौँ- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बदलिँदो परिवेशमा प्रहरीमाथि चुनौती, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएकाले सोही अनुसार अघि बढ्न निर्देशन दिएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ‘पोष्ट ग्य्राजुएट डिप्लोमा ईन पोलिन साइन्स’, कार्यक्रममा समावेश प्रहरी निरीक्षक आधारभूत तालिम १८३औँ समूहको आज (सोमबार) उनले उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै उनले संगठित अपराधको वृद्धि एवम् प्रगतिशील विज्ञान र प्रविधिले उब्जाएका नवीनतम चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै पुलिसिङमा धेरै परिवर्तन भएको जानकारी गराए। सोही अनुरूप विगत र वर्तमान मात्र नभई भविष्यसमेतमा सक्षम र दक्ष ठहरिने गरी यस्ता प्रशिक्षण सञ्चालन आवश्यक रहेको उनको भनाइ छ।

नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवम् सुदृढीकरण सम्बोधन गर्न तथा सक्षम नेतृत्व तयार गर्न राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न उक्त कोर्स सहयोगसिद्ध हुने विश्वास उनले व्यक्त गरे।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबीसै घण्टा परिचालित  असाहय, पीडित र अन्यायमा परेका नागरिकको आड भरोसाको केन्द्र रहेको चर्चा गरे।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थरूपमा सेवा प्रदान गर्ने संगठन भएकाले आफ्नो कमी कमजोरीलाई सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताए।

तालिममा खुला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका ६५ प्रहरी निरीक्षक र तीन नवनियुक्त प्रहरी निरीक्षक गरी ६८ जनाको सहभागिता थियो।

प्रकाशित: ५ कार्तिक २०८१ २१:२२ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast