राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेका छन् : शेरबहादुर देउवा

हिमाल प्रेस ६ साउन २०८१ १५:२९ | Sunday, July 21, 2024
राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलेका छन् : शेरबहादुर देउवा शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताका निम्ति संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको बताएका छन्।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलका क्रममा उनले देश विकासका निम्ति स्थिर सरकार बनाउन आवश्यक भएको बताए। सरकारले आर्थिक शिथिलतालाई चिर्दै चलायमान बनाउने उनले उल्लेख गरे।

संविधान संशोधन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास भएकामा उनले जोड दिए। संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने उनको भनाइ थियो।

‘संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको छ। यसको सबल पक्ष, दुर्बल पक्ष, जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,’ उनले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ।’

साथै उनले असार १७ गते कांग्रेस–एमालेबीच भएको सहमतिमा कांग्रेस दृढ रहेको पनि बताए। एमाले पनि सहमतिमा दृढ रहने विश्वास आफूलाई रहेको उनको भनाइ छ।

‘प्रधानमन्त्ती अत्यन्तै अध्ययनशील, मिहिनेती र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिमण्डलका साथीहरू पनि योग्य सक्षम हुनुहुन्छ। उहाँहरूको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो सम्हाल्ने छ,’ उनले भने।

देउवाले वर्तमान सरकार विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि उचित कानुन र लगानीको उचित वातावरण तयार गर्दै रोजगारीका अवसर सिर्जना र चलायमान अर्थतन्त्रको ठोस निर्माण गर्ने विश्वास आफूमा रहेको बताए। अहिलेको सत्ता गठबन्धन राजनीति स्थिरताको बाटोमा अघि बढ्न सफल हुने उनको विश्वास छ।

प्रकाशित: ६ साउन २०८१ १५:२९ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast